बलात्कारको आरोप लागेका क्रिकेटर दनुष्काले पाए अदालतबाट सफाइ

261 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डाै – बलात्कारको आरोप लागेका श्रीलङ्काका क्रिकेटर दनुष्का गुनाथिलाकालाई अदालतले सफाइ दिएको छ ।

गएको वर्षको नोभेम्बरमा अस्ट्रेलियामा भएको टी–२० विश्वकपका क्रममा एक जना महिलालाई बलात्कार गरेको आरोप लागेपछि उनी पक्राउ परेका थिए । एक महिलालाई उनकै घरमा पुगेर बलात्कार गरेको भन्दै उजुरी परेपछि उनी विश्वकप चलिरहेकै बेला पक्राउ परेका थिए ।

३२ वर्षीय दनुष्कामाथि शुरुमा बलात्कारको आरोप लागेको थियो, पछि भने पीडित भनिएकी महिलाले यौनसम्पर्ककै बखत कण्डम निकालेर सम्बन्धलाई असुरक्षित बनाएको आरोप लगाएकी थिइन् । अस्ट्रेलियाको न्यु

साउथ वेल्स जिल्ला अदालतमा चार दिने सुनुवाइका क्रममा उजुरी गर्ने महिलाले आफूले क्रिकेटरसँग सुरक्षित सम्बन्ध राख्न सहमति दिए पनि पछि असुरक्षित बनाएको बताएकी बीबीसीले जनाएको छ । यस्तै दनुष्काले जबरजस्ती चुम्बन गर्दा आफू निसासिएको र ज्यान जोखिममा परेको पनि महिलाको आरोप थियो । आरोपी महिलाले पटक–पटक बयान फेरेको तर दनुष्काले भने घटनाका विषयमा साँचो बयान दिएको अदालतले जनाएको छ ।

श्रीलङ्काका लागि ८ टेस्टसहित १०० खेल खेलेका दनुष्काले फेरि क्रिकेटमा फर्किने बताएका छन् । अदालतबाहिर उनले भने, ‘यो फैसलाले सबै कुरा बताउँछ । मेरो जीवन फेरि सामान्य हुनेमा म खुशी छु । अब म फेरि क्रिकेट खेल्ने प्रतीक्षा गरिरहेको छु ।