जापानमा मृत भेटिएका थांक्रेका दिनेश थापाको शव नेपाल पठाउन सहयोगको अपिल

281 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

१३ असोज,२०८०

धादिङ- जापानमा मृत भेटिएका धादिङ थाँक्रेका एक नेपाली विद्यार्थीको शव नेपाल पठाउन सहयोगको लागि सार्वजनिक अपिल गरिएको छ । अध्ययनको सिलसिलामा जापान पुगेका धादिङ थाक्रे ८ घर भएका २३ वर्षीय दिनेश थापा गत बुधबार (सेप्टेम्बर २७) अर्थात असोज १० गते मा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

जापानको हिगासी निहोन कोकुसाई दाई गाकोउ फुकुशिमा केश इवाकी सिटी निहोन गाकोउमा अध्ययनरत थापालाई बुधबार बिहान ५ बजे उनको कोठा अगाडिको रुखमा पासो लगाएर झुण्डिएको अवस्थामा फेला पारिएको धादिङ सम्पर्क समिति जापानले जानकारी दिएको छ ।

आत्महत्याको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको समितिले जनाएको छ । यद्यपि प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनले आत्महत्या गरेको हुनसक्ने देखिएको छ ।

धादिङ समाज जापानका अध्यक्ष श्यामहरी तिमिल्सिनाले थापाको बुवा अस्वस्थ रहेको र छोराको अन्तिम दाहसंकर नेपालमै गर्ने इच्छा गरेकाले उनको शव नेपाल पठाउन आवश्यक आर्थिक सहयोगका लागि विज्ञप्ति जाी गरेर आग्रह गरेका छन् ।

सहयोगका लागि धादिङ समाज सम्पर्क समितिले एनआरएनए जापानलाई पनि अनुरोध गरेको छ । सहयोग गर्न इच्छुक व्यक्तिले जापानमै रहेका मृतक थापाको काकाको बैंक खातामा रकम जम्मा गरिदिन समितिले आग्रह गरेको छ ।