एनआरएनएको युवा संयोजक पदमा धादिङका रविन अधिकारीको उम्मेदवारी घोषणा

264 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज
पोर्चुगल । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए)को युवा संयोजक पदमा रविन अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् ।

धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ धादिङबेसी स्थायी घर भइ हाल पोर्चुगलमा बस्दै आएका अधिकारीले एनआरएनएको आसन्न ११ औं महाधिबेशनमा आइसीसी युवा संयोजक पदमा उम्मेदवारी घोषणा गरेका हुन्। संयोजकमा निर्वाचित भएमा उनले सन् २०२३ देखि २५ सम्मको कार्यकालका लागि काम गर्न पाउनेछन् ।

अधिकारीले ‘सबल एनआरएनए आजको आवश्यकता, युवा र नयाँ पुस्ताको बृहत सहभागिता’लाई नारा बनाएका छन् । अधिकारी १४ वर्षदेखि एनआरएनएमा सक्रिय छन् । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमको सदस्य, पोर्चुगलको युवा संयोजक, आइसीसी सदस्यको जिम्मेवारी सम्हालिसकेका अधिकारीले यस पटकको निर्वाचन पनि जित्ने विश्वास गरिएको छ ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद पोर्चुगलको अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका अधिकारीले निर्वाचन जितेमा एनआरएनएमा युवाहरूका लागि विशेष योजनाका साथ अगाडि बढ्ने बताएका छन् ।

प्रवासमा रहेका युवाहरूलाई फुटबल, भलिबल, क्रिकेट लगायतका खेलकुदहरूको माध्यमबाट जोड्न एनआरएनए युवा खेलकुद कोष स्थापना गर्ने योजना अधिकारीको छ । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली खेलाडीहरूलाई प्रोत्साहित गर्दै सहयोग पुर्‍याउने प्रतिवद्धता जनाएका छन् ।