विश्वकप क्रिकेट: दक्षिण अफ्रिकाद्धारा श्रीलंका पराजित

166 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १ सय २ रनले हराएको छ ।

भारतको दिल्लीस्थित अरुण जेट्ली रंगशालामा टस हारेर ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर ४ सय २८ रनको कीर्तिमानी योगफल खडा गरेको थियो ।

तिन खेलाडीले सतक बनाएको दक्षिण अफ्रिकाको लागि रुसे भान डेर डुसेनले १ सय ८ रन बनाउँदा आइदेन मार्करमले १ सय ६ रन तथा क्विन्टन डी ककले १ सय रन जोडे । एकदिवसीय विश्वकपको इतिहासमा कुनै पनि टिमले बनाएको यो नै अहिलेसम्मको उच्च योगफल हो ।

यसअघि, दक्षिण अफ्रिकाले नै सन् २०१५ मा ४ सय ८ रनको उच्च योगफल बनाएको थियो । ४ सय २९ रनको विशाल लक्ष्यसहित मैदानमा उत्रिएको श्रीलंकाले ४४ ओभर ५ बलमा सबै विकेट गुमाएर ३ सय २६ रन मात्र बनाउन सक्यो ।