म शून्यता खाेजिरहेछु आजकल

197 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

कसैले चाहे भने मलाई थपेर
आफ्नो मूल्य ठूलो पार्ने गर्छन्
मन परेन भने निकालिदिएर
मलाई फेरि शून्यमै झार्ने गर्छन् ।
उपयोग गरेर फालिदिने संस्कार देखेर
कहिले आफैं शून्यतामा हराउँछु
आफ्नो मूल्य आफैं चिन्न नसकेर
एकाग्रता भंग गर्दै बिनामेसै कराउँछु ।
सबैलाई उपयोगी म मेराे उपयोग गरेर
कैयौंले फाइदा लिए कति नचिनि गए
अंकगणितमा जस्तै मनगणितमा पनि
मेराे मूल्य शून्यसँग दाँझेर गए ।
बाँचुन्जेल जति रिसराग राखेपनि
आखिर सबै पुग्ने त उही शून्यमै हाे
तर याे यथार्थ यहाँ कसले बुझ्नु र?
एकदिन सबकाे मूल्य समान हुने नै हाे ।
यही शून्यकै बीच मैले शून्यता खाेजिरहेछु
जहाँ लाेभ, लालच, पीडा सब बिर्सियाेस
न यसकाे न उसको भएर विवादित बन्नु भन्दा
“म” बनेर तटस्थ जीवन जीउन सकियाेस।