एक पटकको नेपाली सधैंको नेपाली -रामेश्वर शाह
779 पटक पढिएको
रामेश्वर शाह गैरआवासीय नेपाली संघका वर्तमान उपाध्यक्ष हुनुहन्छ । गैरआवासीय नेपाली अभियानमा स्थापनाकालदेखिनै पु¥याउदै आएको एनआरएनप्रतिको लगाव र निरन्तरताले उहाँलाई भावी अध्यक्षको रुपमा समेत देखाएको छ ।
अध्यक्ष पदको लागी उमेद्वारी घोषणा गरेको दिन समाचार तयार पार्दै गर्दा साथीले तयार गरेको समाचारको ईमेल आयो । समाचार पढें, अन्य उमेद्वारले अध्यक्ष बन्नको लागी गरेको बाचा रुपी नाराभन्दा फरक र अन्तरनिहित अर्थसहितको भिन्नता पाएँ । अनि लाग्यो, फरक बिचार बोकेका यी उमेद्वारसँग आफैं एउटा सँवाद किन नगरुँ ?
अन्र्तवार्ताको लागी समय माग गरें । सहजै उत्तर पाएं त्यो पनि फोनमा । कुरा भयो, अन्र्तवार्ताको समय मिलाइयो । सोचे भन्दा अलि सहज ढंगले घटना अघि बढ्यो । एनआरएनए जस्तो संस्थाको उपाध्यक्ष जो अध्यक्ष पदको लागी उमेद्वार छ, सजिलैसँग समय दिएकोमा खुशीपनि लाग्यो । मनमा केही सन्तोषको भाव सँगै अन्र्तवार्ताको लागी केही तयारी पनि गरें ।
पूर्व अध्यक्षका बाचा, एनआरएनका मुद्दा, उदय र अवस्था अनि जन्मदाता डा. उपेन्द्र महतो र उनका काम, विभिन्न देशमा भएका एनआरएन विवाद, यहाँ भित्र हुने अदृश्य राजनीति सबै केही हरफ ईन्टरनेटमा उपलब्ध भएसम्म पढें ।
अध्यक्ष पदका अन्य दावेदारका बारेपनि केही हरफ केलाएँ । अन्तत आफूले समय मागेर नपाएको भन्दा पनि आफ्नै समय नमिल्दा कुराकानीको समय दुई दिन पछि धकेलिन पुग्यो । अन्तत भेट भयो पानीपोखरीमा रहेको शाहकै कार्यालय केटीएम ग्रुप अफ कम्पनीको कार्यकक्षमा । उमेद्वारी घोषणा भएको दिनकै जस्तो पहिरनमा भेटिएका शाह मैले सोचे भन्दा केही फरक ढंगमा देखिए मेरा सामुन्ने । तयारी अन्र्तवार्ताको थियो । लिखित प्रश्न तयार नपारेपनि सोधिने प्रश्नका सिलसिला मानसपटलमा कोरेको थिएं । तर, अन्र्तवार्ताकार रामेश्वर शाह औपचारिक भन्दा अनौपचारिक रुपमा सहज बनिदिंदा शाहसँग गरिएको कुराकानीको मुल भाव शाहकै शब्दमा यसरी कोरें ।
जन्म र बिदेश यात्रा
मेरो बसाई अहिले काठमाडौंमा छ । मेरो जन्मथलो भने सिरहा जिल्लाको लाहान हो । म सामान्य परिवारमा जन्मेको हुँ । जन्म चाहिँ २०२२ साल असार मा भएको हो । अध्ययन (उच्च शिक्षा) नेपाल हुँदै भारतसम्म गएर गरेको छु । विभिन्न तहमा बसी झण्डैं २५ बर्षको कार्य अनुभव बटुली सकेको छु । विदेशिएकोपनि १५ बर्ष पुगेको छ । रोजगारी, व्यवसायका अतिरिक्त सामाजिक कार्यमा समेत समय खर्चेको छु ।
काम
रोजगारी तथा व्यवसायको शिलशिलामा डेढ दशक भन्दा बढी प्रवासको बसाईमध्ये एक दशक मध्यपूर्वमा कार्यरत् रहें । बहुराष्ट्रिय कम्पनीमा क्षेत्रीय निर्देशकको रुपमारही युएईको अबुधावी कर्मथलो बनाएकोमा देश विदेशमा आर्जन गरेको सीप र परिश्रमबाट आफैं केही गर्ने तयारीमा केटीएम ग्रुप अफ कम्पनी खालेको छु । जसमा प्रमुख कार्यकारीको रुपमा भर्खरै मात्र यसलाई मुर्त रुप दिएको छु ।
एनआरएन र आवद्धता
दुई थरिका ब्यक्तिहरु एनआरएनमा आवद्ध छन् । पहिलो नेपालको नागरिकता त्यागेर अन्य देशको नागरिकता लिएका नेपाली अर्थात नेपाली मुलका बिदेशी, दोस्रो कर्मथलो बिदेश बनाएर नेपाली राष्ट्रियता बोकेका नेपाली । म चाहिं दोस्रो अर्थात नेपाली नागरिकता नै बोकेर बनेको एनआरएन परेँ ।
एनआरएन र नागरिकताको नारा
नेपालको नागरिकता भएर बिदेशमा रहेका म जस्ता नेपाली भन्दा अन्य देशमा रहँदा त्यहाँको विभिन्न सुविधा प्रयोग गर्न बाध्यात्मक अवस्थामा नेपाली नागरिकता त्यागेका नेपाली अहिले आफ्नो खोसिएको नेपाली नागरिकता मागिरहेका छन् । अहिलेको माग र मुद्दा भनेको दोहोरो नागरिकताको माग भन्ने होइन, हामीले एक पटक नेपालीको हैसियतामा पाएको हाम्रो देशको परिचय नखोसियोस् भन्ने मात्र हो ।
बाध्यात्मक अवस्थामा रोजगारी वा अध्ययनको लागी बिदेशमा रहँदा त्यहाँको परिचयपत्र वा नागरिकता लिनुपर्ने बाध्यात्मक अवस्था आइपर्छ, हामी चाहन्छौं र हामी माग गरिरहेका छौैं, यस्तो अवस्थामा कुनैपनि देशको परिचयपत्र लिंदा हाम्रो नेपाली परिचय नखोसियोस् । हामीलाई हाम्रो देश नेपालको पहिचानबाट बञ्चित नपारियोस् । हामी सबै एनआरएनहरु विश्वमा जहाँ रहेपनि सँधै नेपाली भएर रहन चाहन्छौं । त्यसैले एक पटकको नेपाली सधैंको नेपाली भन्ने हाम्रो नारालाई सार्थक सार्थक बनाइयोस् भन्ने मेरो भनाई हो । कुनै विदेशीलाई ल्याएर नेपाली नगरिकता दिलाउन लागेको त होइनौं नि हामीले । त्यो नेपाली नागरिकताको निरन्तरता मात्रै होस् भन्न खोजेका हौं । यसले पहिलो पीँढीका गैरआवासीय नेपालीहरुलाई जन्मभूमिप्रतिको जिम्मेवारी बोध गराई रहन्छ भने दोश्रो पुस्ताका गैर आवासीय नेपालीहरुलाई मातृभूमिप्रतिको सम्बन्ध र संपर्क कायम राख्न मद्धत गर्नेछ ।
सरकारले एनआरएनहरुका लागि परिचयपत्र दिने व्यवस्था गर्यो । केही सय भन्दा बढीले आवेदन दिएनन् । यसैलाई आधार बनाएर एनआरएनहरुले एनआरएन परिचयपत्र नचाहेको भन्दै गलत ब्याख्या गरियो । तर, यो परिचय पत्रको प्रयोग र यसको दायरा बारे बुझेनन् । जस्तो कि यो परिचयपत्र लिएर काठमाडौंमा २ रोपनी जग्गा भन्दा किन्न नपाईने, तराई र पहाडमा पनि दायरा तोकियो । सम्पत्ती कति राख्ने? के गर्ने भनेर नेपालमा आउने बिदेशीको लागी भन्दा बढी नियमहरुले बाँधियो । जसको कारण एनआरएन कार्ड लिन अपेक्षित रुपमा कम चासो पाइयो । सरकाले बुझ्नुपर्ने कुरा हो, भौतिक संरचना, उद्योग, कलकारखानामा हुने बैदेशिक लगानी देशको लागी सबैभन्दा सुरक्षित र राम्रो लगानी हो । किनभने अन्य क्षेत्रमा हुने लगानी बिदेशीले चाहे अनुसार नभए लिएर फर्कन सक्छन् । तर जग्गा भवन, सडक लगायतका भौतिक संरचना आदिमा गरेको लगानी उठाएर वा बोकेर फर्कने संभावना हुन्न । आफ्नै नागरिक रहेका एनआरएन सदस्यको लागी परिचयपत्र दिंदा सरकारले त्यस्तो घेरा बनाएर दियो जसले गर्दा एनआरएनको भावनालाई उचित संबोधन नभएको पाइयो । परिणामतः त्यस्तो परिचयपत्र लिन एनआरएनहरुले बृहत् चासो नदिएकै हुन् ।
उमेद्वारी र मुद्दा
व्यवस्थित वैदेशिक रोजगार र सुरक्षित आप्रवासन, एक पटकको नेपाली सधैंको नेपाली, वैदेशिक तथा सामूहिक लगानी, संघ दर्ता तथा स्थायित्व, संघको संस्थागत विकास, नेपालको बिकास र समृद्धिमा हातेमालो आदि मेरा प्राथमिकताका मुद्दा र कामको लक्ष्य रहेको छ । म खाडी क्षेत्रमा रहेको युएईमा काम गर्दै आएको कारण पनि स्वभाविक रुपमा मेरा प्राथमिकताहरुमा वैदेशिक रोजगारलाई व्यवस्थित र सुरक्षित बनाउनुको साथै यस क्षेत्रले देशको अर्थतन्त्रमा प्रभावकारी भूमिका निर्वाह गरोस् भन्ने रहेको छ साथै गैर आवासीयहरुका अन्य मुद्धाहरु समग्रतामा रहेका छन् । मैंले अरु साथीहरुले भन्दा बढी मध्यपूर्वका राष्ट्रहरु युएइ, साउदी, कतार, बहराईन, यमन, ओमान, ईजिप्ट सहित, मलेसिया, कोरिया, मकाउ लगायतका मुलुकहरुमा रहेका नेपालीको अवस्था र समस्या बुझेको छु । ईराक, अफगानिस्तान देखी ईरान, लिबिया सम्म पुगेका नेपालीका साझा समस्या र यसलाई संबोधन गर्न सकिने उपायबारे जानकार छु । यी क्षेत्रहरुमा नेपालीहरुले भोगेका समस्या, उनीहरुलाई पुर्याउँदै आएको सहयोग आदिबारेको मेरो अनुभव र उपाध्यक्षको रुपमा मैले एनआरएनए मार्फत निभाउँदै आएको भूमिकाबाट समेत मैले युरोप, अमेरिकासँगै खाडी राष्ट्रमा रहेका एनआरएन साथीहरुका समस्यालाई मेरो कार्यकालमा धेरै हदसम्म संवोधन गर्न सक्छु भन्ने मेरो स्पष्ट कार्य योजना छ ।
कोरिया, जापान देखी जर्मनी, ईटलि, फ्रान्स, नर्वे, क्यानडा, स्पेन, अस्ट्रेलिया, रसिया आदि देशमा रहेका हाम्रा एनआरएन साथीहरु र अप्रवासी नेपाली साथीहरुका समस्या समस्या र संबोधनका खाकाहरु के के रहेका छन् भनेर मैले कोषाध्यक्ष हुँदा देखीनै यसमा पहल र प्रयास गर्दै आएको छु । यसलाई अहिले उपाध्यक्षको रुपमा रहँदा केही हदसम्म सम्बोधन गराउन सकें अब अध्यक्षको रुपमा यसलाई सार्थकता दिनु मेरो लक्ष्य रहेको छ ।
दक्षता, योग्यता अनि उमेद्वारी
एनआरएनएको अध्यक्ष बन्छु भनेको सामुहिक सेवा गर्न सबैलाई साथमा लिएर जान तयार छु भन्नु हो । एनआरएनमा कुनै पद पाउँदैमा आम्दानी वा लाभ लिन सकिन्छ भन्ने होइन । यसको अध्यक्ष लगायतका कुनैपनि पद पाउँदा न तलब पाईन्छ, न त कुनै मान सम्मान र भोलिकोलागि केही लाभ नै ! यसमा को ब्यक्ति त्यसको नेतृत्वमा पुग्दा उसले विगतमा गरेको कामको आधारमा के कति योगदान पुर्याउन सक्छ भन्ने मात्र हो । म अरु साथीहरुको टिका टिप्पणी गर्न चाहन्न । किनकी सबै सक्षम र एक सय एक हुनुहुन्छ आ–आफ्नो स्थानमा । म यत्तिमात्र थप्न जरुरी सम्झन्छु कि मेरा अनुभवहरु एनआरएन अभियानलाई सार्थक बनाउन सहयोगी हुनेछन्् र एनआरएनएलाई संस्थागत गर्न उपयोगी हुनेछ ।
मेरो बारे मैले भन्नु पर्दा
स्थापना कालदेखि एनआरएनएका विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाउँदै, राष्ट्रिय समन्वय परिषदको उपाध्यक्ष र सल्लाहकारदेखि अन्तर्राष्ट्रिय समन्वय परिषदको कोषाध्यक्ष, लगायत गत पाँचौ महाधिवेशनले संघको उपाध्यक्ष जस्तो गरिमामय पदको जिम्मेवारी र एनआरएन ईन्भेष्टमेण्ट कम्पनीको संस्थापक रही प्रमुख कार्यकारीको कार्यभार लगायत मेरो काँधमा संघ तथा गैर आवासीय नेपाली साथीहरुले सुम्पेका विभिन्न कार्यहरु निष्ठापूर्वक निभाएको छु । मैले एनआरएनएमा आवद्ध भएको कुरालाई भन्ने हो भने म केही दिन्छु भनेर आएको हो, लिन होइन । एनआरएन हुनु भनेको पनि देशको लागी मैंले सक्दो दिन तयार छु भनेर प्रतिवद्धता जाहेर गर्नु नै हो ।
मेरो प्रतिवद्धता र कामको मुल्यांकन गरेर नै साथीहरुको पूर्ण सहयोग र विश्वासबाट म कोषाध्यक्ष भएको थिएं, अनि उपाध्यक्ष पनि मेरो कार्यशैली र क्षमताको विश्वासमा भएको छु । बिगतको मेरो काम र एनआरएनएप्रतिको प्रतिवद्धताका आधारमा पनि अब मेरो अर्को पाईला भनेको अध्यक्ष हुनु हो ।
१० बर्षसम्म मैंले एनआरएनएमा विभिन्न पदमा रहेर काम गरेको मेरो प्रतिवद्धता, मेरो लक्ष्य, जे जति एनआरएनका साथिहरुले अध्ययन गर्नुहुन्छ, सबैमा मैंले खोट नलाग्नेगरी संस्थाकोलागि सक्दो योगदान गरेको छु । मेरो त्यहि योगदानको कदर गर्दै एनआरएनए स्थापना भएका अधिकाशं देशका साथिहरुले अब तपाईले एनआरएनको नेतृत्व लिनुपर्छ । अध्यक्षको लागी आफ्नो नाम सार्वजनिक गर्नुपर्छ भन्नुभयो । उहाँहरुको आग्रह र मेरो आफ्नै एनआरएनए प्रतिको प्रतिबद्धता र अझै मैंले एनआरएनलाई केही गर्नुपर्छ भन्ने जिम्मेवारीबोधका कारण मैंले साथीहरुको साथ र विश्वासमा उमेद्वारीमा आफ्नो नाम सार्वजनिक गरेको हुँ । मेरो कार्यअनुभव आदिका आधारमा समेत म एनआरएनएलाई नेतृत्व गरेर अगाडी बढ्न सक्षम भएको छु । किनकी मैंले उपाध्यक्षको रुपमा नजिकमा रहेर अध्यक्षको काम र जिम्मेवारीलाई बुझेको छु ।
पद एक दावी अनेक
जो कोहिले पनि विगतको एनआरएनए नेतृत्वलाई हेर्ने हो भने नेतृत्वको टुंगो लाग्नुअघि सबैले म नै अध्यक्ष भनेर भनेको, सुनेको वा देखेको छौं । तर, अन्तिमको नतिजा हेर्ने हो भने एकमात्र ब्यक्ति नेतृत्व गर्ने भूमिकामा पुगेको देखिन्छ । त्यो पनि सहमतीको आधारमा नै हाम्रो संस्थाको संस्थापक अध्यक्षको रुपमा रहनु भएका डा.उपेन्द्र महतोदेखि जिवा लामिछानेसम्म आइपुग्दा अध्यक्ष बाहेकका केही पदमा प्रजातान्त्रिक प्रक्रियाका आधारमा जिम्मेवारीको छिनोफानो लागेपनि नेतृत्व भने सहमतीमै टुंगो लागेको छ ।
तपाईहरु विश्वास गर्नुस्, यस पटकपनि नेतृत्व सर्वसम्मतिमानै चयन हुनेछ । मेरो गोरुको बाह्रै टक्का भनेर बस्यो भने त नहोला भन्ने केही ंआशंका गर्ने ठाउँ छ, तर पनि सहमतीमानै मेरो नाममा सबैले सहमती जनाउनु हुनेछ भन्ने विश्वास रहेको छ । सहमतीमा नभई निर्वाचनमा गएका त्यसले न संस्थालाई हित गर्छ, न ब्यक्ति र नेपाललाईनै । तर पनि अन्तिम समयसम्ममा सहमतीमा नै नेतृत्व चयन हुनेकुरा म तपाईलाई विश्वास दिलाउन चाहन्छु ।
उमेद्वारी दिएका हामी पाँच जना मध्येपनि हालसम्म संस्थाको लागी कसले कति योगदान दियो भन्ने मुल्याङ्कन्का आधारमा नेतृत्व चयन गरिन्छ । यसले पनि नेतृत्व निर्धारणमा महत्वपुर्ण निर्णायक भुमिका खेल्नेछ । म मेरै कारण संस्थाको छवि र निरन्तरतामा आँच आउन दिन्न, तर नेतृत्व चयन निष्पक्ष ढंगले निर्वाचन गराएर छिनोफानो लगाउने हो भनेपनि यसमा उत्रन म तयार र सक्षम छु । हामी सबै सक्षम छौं, तर को कति के कुरामा सक्षम भनेर तौलने हो भनेपनि म अध्यक्षको लागि निर्विरोध हुन्छु ।
मेरो नजरमा डा. उपेन्द्र महतो
उपेन्द्रजि को एनआरएनएमा धेरै ठुलो योगदान रहेको छ । कुनैपनि शर्तमा उहाँले संस्थालाई आँच आउने काम गर्न दिनु हुन्न । उहाँले गरेका हरेक निर्णयमा सुजबुझपुर्ण निर्णय हुन्छ । सबैलाई मान्य हुनेगरि उपेन्द्र जीले निष्पक्ष र निर्वाध आफ्ना कुराहरु राखेका कारण एनआरएनएका हरेक निर्णयमा अझैपनि उहाँको महत्वपुर्ण भुमिका रहँदै आएको छ । यसकारण उहाँ हामी सबैको आदरणीय ब्यक्तिको रुपमा एनआरएनएमा रहनु भएको छ । अभियानकै फादर फिगरको रुपमा रहनुभएका डा. महतो हामी सबै गैर आवासीय नेपालीहरुको प्रेरणाको श्रोत पनि हुनुहुन्छ ।
एनआरएन भित्र जातीय र राजनैतिक गन्ध ः
एनआरएन भित्र जातीय र राजनैतिक गन्धको कुरा विल्कुल काल्पनिक हो । यस्तो अहिले सम्म भएको छैन र अब पनि हुँदैन भन्नेमा म पूर्ण विश्वस्त छु । हामी नेपाली हौं, हाम्रो जात नेपाली हो भन्ने भावना हामी सम्पूर्ण गैर आवासीय नेपालीमा देखेकोछु । म फलानों मुलका हौं, भन्दैमा त्यो समुदायका साथीहरु बढी पक्षमा हुने, अर्को अर्को जातजाती वा थरको हुँदैमा त्यो जातजातीको पक्षमा हुने भन्ने कुरा सर्वथा भ्रामक हुन् । मेरो पक्षमा सबै साथीहरु उत्तिकै हुनुहुन्छ । सबै साथीहरुको साथ र विश्वासले नैै मैले उमेद्वारी दिने निश्चित गरेको छु र सो पदमा म निर्वाचितपनि हुनेछु भन्नेमा विश्वस्त छु ।
अनौपचारीक कुराकानीमा भने शाहले हुन गइरहेको एनआरएनएको निर्वाचनमा समेत राजनैतिक वा जातीय कुराले ठाउँ पाउने हो कि भन्ने चिन्ता प्रकट गर्नुभएको थियो जुन गैर आवासीय अभियानको मुल्य र मान्यता भन्दा विपरीतपनि हो ।
एनआरएन र एकीकृत लगानी
एनआरएन भनेका कुनै विदेशी हैनन् । हामीहरु त बाध्यताबश उच्च शिक्षा, ब्यवसायिक सम्भावना र रोजगारीको खोजिमा प्रवासिन पुगेका र विदेशी भुमिलाई कर्मथलो बनाएका नेपालीहरु हौं । नेपालीहरुलाई आफू बसोबास गरेको देशको नागरिकता लिएकै कारण आफ्नै जन्मभूमिको पहिचान त्याग्नु पर्ने बाध्यात्मक अवस्थाले बदलिँदो बिश्वका सम्भावनाहरुबाट बन्चित गराउनुका साथै बाह्य विश्वसँगको सम्बन्धलाई समेत सीमित गर्ने व्यवस्था संकुचित प्रावधान हो भन्ने मेरो ठहर रहेको छ ।
दुखजीलोले गरी कमाएको केही पैसा सबैले एकैठाउँमा जम्मा पारेर देश विकास र सम्मुन्नतिमा खर्चौं भन्ने हाम्रो प्रयास हो । यी प्रयास स्वरुप हामीले सामुहिक लगानी कोष खडा गरेका छौं । जहाँ हामीले एक अर्ब रुपैया जम्मा गर्न सफल भएका छौं ।
यही प्रयासबाट हामीले एउटा विद्युत गृह निर्माण थालिसकेका छौं भने अन्य ठाउँको अध्ययनमा रहेका छौं । लगानी भन्दा पनि लगानी गर्ने क्षेत्रको अध्ययनमा हामी लाग्दा केही ढिलो हुन गएको हो । छिट्टै हामीले अर्को प्रोजेक्टमा पनि लगानी गर्दै छौं ।
बैदेसिक रोजगारीबाट बर्षेनी आउने गरेको झण्डैं ५ खर्बको रेमिट्यान्समध्ये जम्मा जम्मी ८ प्रतिशत मात्र उत्पादनमुलक क्षेत्रमा लगानी भइरहेको अहिलेको अवस्था रहेको छ । यसबारेमा मैले धेरै बर्षदेखी अध्ययन र सोध गरेको छु । मेरो विश्वास छ, म मेरो कार्यकालमा यसलाई उच्च प्रतिशतमा पुर्याउन सार्थक प्रयास गर्नेछु ।
जनमानसमा एनआरएनए
एनआरएनएको मूख्य लक्ष्य भनेकै जनस्तरमा पुगेर सामाजिक सेवाका क्षेत्रमा काम गर्नु हो । यसको गतिलो उदाहरण डा. उपेन्द्रजिले सामाजिक सेवाका क्षेत्रमा गर्दै आउनु भएको सहयोगलाई लिन सक्नुहुन्छ । त्यसो त ब्यक्तिले मात्र हैन, संस्थागत रुपमा समेत एनआरएनले देशका विभिन्न ठाउँमा विद्यालय, बृद्धाश्रम, छात्रबृत्ति, दैबि प्रकोप, विदेशमा अलपत्र परेकाको उद्दार, असहाय, अपाङ्गहरुलाई सहयोग, विमानस्थलमा भौतिक सामग्री सहयोग जस्ता धेरै क्षेत्रमा हामीले करोडौं मूल्य बराबरको सहयोग गरेका छौं ।
यसमा आम सञ्चारका माध्यमहरुको नजर नपुग्दाखेरी यस्ता कुराबारे समाचार बनेर त्यत्ति बाहिर आउँदैनन र हामी जहाँतहिँ भएरपनि कतै नभएको जस्तो देखिएका छौं ।
अर्को कुरा भनेको हामीले हाम्रा कामको प्रचारमा त्यति ध्यान नदिंदा पनि यस्तो देखिन गएको हो । कारण आफुले आफ्नाहरुको लागी सहयोग गर्दा त्यसको के प्रचार गर्नु । आफैंले आफैंलाई सहयोग गरेको कुराको प्रचार भन्दा मिडियाले खोजेर यस्ता विषय दिँदा हाम्रा कामले सार्थकता पाएको ठान्छौं । जुन क्रम पछिल्लो क्रममा केही बढेको छ । यसमा हामी सबै सञ्चार माध्यमप्रती आभारी पनि छौं ।
प्रचार प्रसारमा हामी नदेखिएपनि हाम्रा सामाजिक काम र सेवा भावका कारण भने हामी जति ठाउँमा जहाँ जहाँ पुगेका छौं, त्यहाँ जनमानमा बस्न सकेका छौं । यसको एउटै मात्र कारण भनेको एनआरएनको निश्वार्थ सेवा भाव र सहयोग नै हो । हामी सामाजिक सेवाको क्षेत्रमा काम गर्दा सँधै दायाँ हातले दिंदा बायाँ हातलाई थाहा नहोस् भन्ने ध्येयका साथ निस्वार्थ भावले काम गर्छौ । किनकी सामाजिक सेवाको काम प्रचार गर्ने काम पनि होइन ।
नेपालमा लगानी गर्ने ठाउँ सबै खुल्ला, तिन क्षेत्र प्राथमिकतामा
बिदेशको लगानी भएका क्षेत्र र नेपाललाई तुलना गर्दा नेपालमा कुनैपनि क्षेत्रमा लगानी गर्न कठिन भन्ने नै छैन । सबै क्षेत्र लगानीको लागी अवसरको लागी खुल्ला छ । तै पनि यसलाई सुचिकृत गरेर हेर्ने हो भने तिन क्षेत्र लगानीको लागी हब बनाउन सक्छौं ।
हाइड्रोपावर
एकपटक लगानी पछि दशकौं सम्म लाभ लिन सकिने हाइड्रो नेपालमा लगानी गर्न खोज्नेका लागी स्वर्ग सरह छ । उत्पादन गरेपछि ३० बर्ष सरकारलेनै खरिद गरिदिन्छ । मागको उच्च बजार निर्यातको प्रचुर सम्भावना, कामदार, वातावरण, प्राकृतिक स्रोत सबैकुराले गर्दा उर्जामा लगानी गर्न नेपाल ढुक्कको क्षेत्र रहेको छ ।
शिक्षा
नेपाललाई एजुकेशनको हब बनाउन सकिन्छ । विदेशी शैक्षिक संस्थासँगको सम्वद्धन, वा अध्ययनमा बिदेश जाने नेपाली विद्यार्थीबाट देशले बर्षेनि अर्बौं रुपैयाँ गुमाइरहेको छ । यदि शिक्षामा लगानी गर्न सकिने हो भने यो सुरक्षित र देशको लागी दिर्घकालीन लाभको क्षेत्र समेत हुन्छ । दुई ठुला छिमेकी देशबाट समेत बर्षेनि उच्च शिक्षाको लागी पश्चिमा देशमा अध्ययन गर्न लाखौं विद्यार्थी जान्छन् । यदी शैक्षिक क्षेत्र बनाउने लक्ष्य सहित लाग्ने हो भने हामीले केही बर्षभित्रैमा नेपाललाई शैक्षिक अध्ययनको थलो बनाउन सक्छौं ।
स्वास्थ्य÷उपचार
नेपालको जस्तो प्राकृतिक हावापानी विश्वका कमै मुलकमा पाइन्छ । यहाँको जस्तो दुर्लभ अमूल्य जडिबुटि विश्वमा कहिँ पनि पाइन्न । मध्यम हावापानी, बनजंगल, सबै कुराले स्वर्ग जस्तो अवस्थामा हाम्रो देश छ । मात्र बाँकी भनेको यसको ब्यवस्थापनको पाटो हो । यदी सुविधा सम्पन्न ठूला अस्पताल, प्राकृतिक चिकित्सा पद्धति, प्राकृतिक जडिबुटिको उपचार आदीलाई सम्मिश्रीत रुपमा प्रयोग गरेर हामीले अस्पतालहरु खोल्न सकेमा बर्षेनि औषधोपचारकोलागि विदेशिने अरबौं धनराशी बिदेशीनबाट जोगाउन सक्छौं । देशबाट पलायन हुने पुँजी मात्र हैन विदेशबाट समेत उपचारको लागी यहाँ आउँछन् । यसको उदाहरण हामी नेपालको नमुना अस्पतालको रुपमा रहेका केही अस्पतालमा उपचारको लागी आउने भारतीय, चिनियाँहरुको ताँतीलाई देखाएर समेत भन्न सक्छौं । यदी सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने हो भने अन्र्तराष्ट्रिय रुपमा हामी अघि बढ्ने हो भने यही उपायबाट हामीले धेरै प्रगती छोटो समयमा गर्न सक्छौं ।
भविश्य र भरोसा
म एक कार्यकाल भन्दा एनआरएनको अध्यक्षमा रहन्न । एउटै पदमा धेरै बसिरहँदा ब्यक्तिको क्रियाशिलतामा ह्रास आउँछ । अर्को कुरा अध्यक्षमा रहेर काम गरेर नयाँ भिजन दिने हो । त्यसलाई नयाँ साथिहरुले निरन्तरता र परिमार्जित गर्दै लैजानुहुन्छ । आफुले दिएको भिजनलाई भविश्यमा त्यहाँबाट बाहिर आएपछि पनि निरन्तरता दिने सोचमा छु । मैले अध्यक्ष पदलाई एउटा गरिमामय सम्मानमात्र होइन जटिल जिम्मेदारी समेत ठानेको छु र सम्मानको आशा भन्दा जिम्मेदारीको बोधले गर्दा यो निर्णय गरेको हुँ । पारस्परिक एकता, समझदारी र सहकार्य हाम्रो संघको विशेषता, पहिचान र सौन्दर्य हो । यी विशेषताहरुलाई अझ परिष्कृत र प्रभावकारी रुपमा उपयोग गर्ने मेरो निरन्तर प्रयत्न रहनेछ । साथिहरुको सहयोग र अहिलेसम्मको विश्वासले भविष्यमा यसले पूर्णता पाउनेमा म विश्वस्त छु । किन भने नेपाललाई मायाँ गर्ने र नेपाललाई समृद्ध चाहने सबै आवासीय तथा गैर आवासीय नेपालीहरुले मेरो साथ दिइरहेका छन् ।
गोकर्ण अधिकारीसँग गरिएको कुराकानीमा आधारित