बालकुमारी हिजो मृत्यु भएका राउत र शाहका परिवारलाई सरकारले १०-१० लाख दिने

108 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौ – सरकारले बालकुमारी घटनामा मारिएका २ जनाको परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकका परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । यस्तै घटनामा घाइते भएकाहरुको उपचारमा लागेको सबै खर्च सरकारले बेहोर्ने निर्णय पनि भएको उहाँले बताउनुभयो ।

यस्तै सरकारले बालकुमारी घटनामा संयमता कायम नगरेको भन्दै प्रहरी वृत्त सातदोबाटोका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेश जोशी र मन्त्री प्रकाश ज्वालाका पिएसओ प्रहरी नायब निरीक्षक (सई) बोधराज दनुवारलाई निलम्बन गरेको छ ।

यस्तै, ललितपुरका एसएसपी शिद्धिविक्रम शाहलाई प्रहरी हेडक्वार्टर र ललितपुरका प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डितलाई जिम्मेवारीबाट हटाएर गृह मन्त्रालय तानिएको छ ।

त्यस्तै, ईपीएस शाखाका निर्देशक गुरूदत्त सुवेदीलाई सरूवा गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिनुभयो । हिजो ईपीएस भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित भएकाहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री चढ्ने सरकारी गाडीमा आगजनी गरेका थिए । त्यसपछि तनावग्रस्त बनेको बालकुमारी क्षेत्रमा प्रहरीले लाठी चार्ज, अश्रुग्यास र गोलीसमेत चलाएको थियो । घटनामा २३ वर्षका सुजन रावत र २२ वर्षका वीरेन्द्र शाहको ज्यान गएको थियो ।


One thought on “बालकुमारी हिजो मृत्यु भएका राउत र शाहका परिवारलाई सरकारले १०-१० लाख दिने

  1. [email protected] ठिक छ सरकार तिमले मृतकको 10 लाख टोक्यो । म तिम्रो 15 टोक्छु तिमी राजि छौ ?

Comments are closed.