ईङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टरले न्युक्यासललाई हरायो

223 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । ईङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाईटेडलाई हराएको छ । जेम्स पार्कमा भएको खेलको इन्जुरी समयमा गोल गर्दै सिटीले न्युक्यासललाई ३–२ गोल अन्तरले हराएको हो ।

ओस्कार बोबले इन्जुरी समयमा सिटीका लागि विजयी गोल गरेका थिए । बोबले प्रिमियर लिगमा पहिलो गोल गरेका हुन् । उनलाई केभिड डि ब्रुइनले पास उपलब्ध गराएका थिए ।

उनै ब्रुईनको गोलमा सिटीले खेल २–२ को बराबरीमा ल्याएको थियो । खेलमा अग्रता सिटीले २६ औं मिनेटमा बेर्नार्डो सिल्भाको गोलमा लिएको थियो ।

घरेलु टोलीका अलेक्जेन्डर इसाकले ३५ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए भने त्यसको दुई मिनेटपछि एन्थोनी गार्डनले घरेलु टोलीलाई खेलमा अग्रता दिलाएका थिए ।

जित सहित सिटी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । सिटीको शीर्ष स्थानको लिभरपुलसँगको दुरी २ अंकमा झरेको छ ।

दोस्रो स्थानको सिटीको ४३ अंक छ । न्युक्यासल २९ अंक सहित तालिकाको १० औं स्थानमा छ ।