प्रधानमन्त्री कप क्रिकेटमा कर्णाली पराजित, मधेशलाई तेस्रो सफलता
153 पटक पढिएको
काठमाडौं । मधेश प्रदेशले आज शनिबार कर्णालीमाथि जितसहित जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा तेस्रो सफलता आत्मसात गरेको छ । हरिशंकर साहको अलराउन्ड प्रदर्शनमा मधेशले पाँचौं खेलमा तेस्रो सफलता प्राप्त गरेको हो ।
मधेशको जितमा हरिशंकरले ५० रनको अर्धशतकसँगै एक विकेट लिँदै अलराउण्ड प्रदर्शन गरे । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शिर्ष तीनका ब्याटर चलेपछि मधेसले निर्धारित ओभर खेल्दै ९ विकेटको क्षतिमा दुई सय ३२ रनको लक्ष्य प्रस्तुत गर्यो । जवाफी ब्याटिङ गरेको कर्णाली ४१.१ ओभरमा एक सय ७० रनमै अलआउट भयो । कर्णालीले खराब शुरुवाती गर्यो । कर्णाली चौथो ओभरमै १२÷२ को अवस्थामा पुग्यो ।
यस क्रममा कप्तान तथा ओपनर रविन्द्र शाही १ रन र हिमान्सु शाही २ रनमा आउट भए । दुवैलाई राजेश यादवले आउट गरेका हुन् । अर्का ओपनर विपिन शाहीले तेस्रो विकेटका लागि अर्जुन घर्तीसँग ४६ रनको साझेदारी गर्दै इनिङ उकास्ने प्रयास गरे । तर विपिन ३१ रनमा बनाएर पवेलियन फर्किए । त्यसपछि विकेटकिपर अर्जुनले राम्रो साथ पाएनन् । लगातार विकेट पतन हुँदा कर्णाली २८.२ ओभरमा १०४÷७ को अवस्थामा पुग्यो । यद्यपि नवौं नम्बरमा ब्याटिङ गर्न आएका दिनेश अधिकारीले उनलाई साथ दिए ।