पोखरा गोल्डकप फुटबलको उपाधिका लागि त्रिभुवन आर्मी र थ्रीस्टार क्लब भिड्दै
164 पटक पढिएको
काठमाडौं । आहा-रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज शनिबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुँदै छ। खेल दिउँसो पोखरा रंगशालामा दिउँसो १ बजे शुरु हुनेछ।
आर्मी क्लब ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २–१ ले हराउँदै फाइनलमा पुगेको हो। थ्रीस्टारले जावलाखेल युथ क्लबलाई १–० ले पाखा लगाउँदै उपाधि भिडन्त पक्का गरेको हो।
थ्रीस्टार आहा राराको पाँचपटकको विजेता हो भने पाँचौँपटक फाइनल पुगेको आर्मीले अहिलेसम्म आहा रारा गोल्डकपको उपाधि जित्न सकेको छैन। आर्मी पहिलो पटक उपाधि जित्ने दाउमा छ भने थ्रीस्टार उपाधि संख्या ६ पुर्याउने लक्ष्यमा छ।
प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्। सहारा क्लब पोखराको आयोजनामा जारी आहा–रारा पोखरा गोल्डकपको यो २३औँ संस्करण हो।