चौतारी

148 पटक पढिएको

सम्पादक: Dhading News

चौतारी

– मोहराज शर्मा

 

थकाई मार्ने बिसौनी मात्र होइन
अघिल्लो कदम चाल्न
उर्जाको सञ्चार गराउने
यात्राको सञ्जिवनी हो
चौतारी ।
स्कूलको छानो नपर्दासम्म
केटाकेटीहरुले
कखरा सिक्दै गर्ने
खुला पाठशाला हो
चौतारी ।
कसैमाथि अन्याय हुँदा
थिचोमिचो हुँदा
हेलाहोचो हुँदा
कचहरी बसेर छिनोफानो गर्ने
न्यायालय हो
चौतारी ।
दुल्हन फर्काउन हिँडेका
नवजोडीले साँझ पर्खेर
चुम्बन साट्ने मात्र होइन
पिपलमा प्लस लेखेर
तन्नेरीहरुले प्रेमको संकेत
गर्ने प्रेमालय हो ।
चौतारी ।
पिपलको फेदमा
काँचो धागो बेरेर
आमाले सूर्यलाई अर्घ चढाउने
आस्थाको खुला मन्दिर हो
चौतारी ।
अफशोच
डोजर पसेपछि
खल्कियो गाउँ ।
भत्कियो चौतारी
ढल्यो पुर्खौंदेखि
प्राणवायु दिइरहेको
वर पिपल ।।