नारायणी नदीमा आठ जनाको शव भेटियो, पाँच जनाको सनाखत

207 पटक पढिएको

सम्पादक: Dhading News

चितवन । तीन दिन अघि चितवनको सिमलताल सडकमा खसेको पहिरोमा पुरिएर त्रिशूली नदीमा खसेर हराईरहेको दुई वटा वस अझै भेटिएका छैनन । बसको खोजी कार्य तिव्र पारिएको छ । बस नभेटिएपनि २ दिनमा आठ जनाको शव नारायणी नदीमा भेटिएको छ । आईतबार नारायणी नदीमा थप एक जना पुरूषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार आइतबार साँझ पौने ५ बजेतिर सुस्ता गाउँपालिका वडा नं-४ को १५ नम्बर ठोकरमा अन्दाजी ४५ वर्षको पुरूष व्यक्तिको शव भेटिएको हो ।

स्थानीयले देखेर प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलतर्फ पुगेको थियो । छिर्केमिर्के सर्ट, खुट्टामा मोजा र कम्मरमा कालो कन्दानी बाँधेको अवस्थामा शव फेला परेको हो । उक्त शव सिमलताल घटनाको भएको आशंका गरिएको छ ।

त्यसैगरी नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं-७ त्रिवेणी व्यारेज पुलस्थित गण्डक नहरमा दुई जनाको शव फेला परेको छ । नहरमा एक जना घोप्टो परेको अवस्थामा र एक जना उत्तानो परेको अवस्थामा पुरूषजस्तो देखिने दुई वटा शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार शव निकाल्ने प्रयास भइरहेको छ । उक्त शव सिमलतालमा भएको बस दुर्घटनाका यात्रु भएको हुनसक्ने अनुमान गरिएको छ । यसअघि शनिबार भेटिएका तीनवटा शव र आइतबार भेटिएका दुई वटा शवको सनाखत भएको छ । राप्ती र नारायणी नदीको दोभान गोलाघाट र गैँडाकोटको थुम्सी र गैरीमा तीनवटा शव भेटिएको थियो ।

नवलपुर र पश्चिम नवलपरासीमा दुर्घटनामा परेका यात्रुहरू भेटिन सक्ने भएकोले प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ ।

नवलपुरको गैंडाकोट र चितवनको गोलाघाटमा भेटिएका मृतक दुवै भारतीय नागरिक भएको पुष्टि भएको छ । दुवै सिमलताल दुर्घटनामा परेका यात्रुहरु रहेको समेत पुष्टि भएको छ ।

नवलपुरको गैँडाकोट ९ थुम्सी स्थित नारायणी नदीमा आज भेटिएको शवको सनाखत भएको नवलपुर प्रहरीले जनाएको छ ।

उक्त शव सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा दुर्घटनामा परेको बसका यात्रुको भएको प्रहरीले जनाएको छ । भारत बिहार बेतिया जिल्ला पश्चिम सम्पारण २२ बस्ने बर्ष ४० को सजाद अन्सारीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए । उनका दाजु मेराज हुसेनले शवको सनाखत गरेका हुन् ।

काठमान्डौ कलङ्कीमा व्यवसाय गरी बस्ने अन्सारी बा.प्र.३००६ ख १५१६ नं को बसमा बिरगन्जबाट काठमान्डौ जाँदै थिए । उक्त बस दुर्घटनामा परेका यात्रुमध्ये तीन जनाको शव नवलपुरमा भेटिएको छ ।

यसअघि शनिबार दुई जनाको शव गैँडाकोट नगरपालिका ७ गैरीस्थित नारायणी नदीको बिच भागको टापुमा फेला परेको थियो । चितवनको गोलाघाटमा पनि हिजो १ जना र आज १ जना गरी दुई जनाको शव भेटिएको छ ।

नदीले शवहरु बगाएर नवलपुरसम्म पुर्याएपछि प्रहरीले खोजीलाई निरन्तरता दिएको छ ।

त्यसैगरी चितवनको भरतपुर–२८ गोलाघाटमा भेटिएका दुवै पुरुषको शवको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार मृतक व्यक्ति ३० वर्षीय भारतीय नागरिक जयप्रकाश ठाकुर हुन् ।

भारत बिहार पश्चिम चम्पारण बेतियाथाना बस्ने ठाकुरको शव उनका दाइ ओमप्रकाश ठाकुरले सनाखत गरेको प्रहरीले जनाएको छ ।

ठाकुर काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ३–००१ख २४९५ नम्बरको गणपति डिलक्स बसका यात्रु हुन् ।


One thought on “नारायणी नदीमा आठ जनाको शव भेटियो, पाँच जनाको सनाखत

Comments are closed.