असारको अन्तिममा आएर सम्पन्न भयो सिद्धलेकको गाउँ सभा

176 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ ३१ असार २०८१ । धादिङको सिद्धलेक गाउपालिकाले आगामी आर्थिक वर्षको बार्षिक नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित गरेको छ । संविधानमा असार १० गते स्थानीय सरकारले नीति तथा कार्यक्रम र बार्षिक बजेट पेश गर्नुपर्ने उल्लेख गरिएको छ । सिद्धलेकमा भने असार ३१ गते गाउँसभाको पन्ध्रौं अधिवेशन सम्पन्न गरी बजेट र नीति कार्यक्रम सर्वसम्मत पारीत भएको हो ।

गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रमुख प्राथामिकता कृषि तथा पशु विकासलाई प्राथमिकता दिंदै ‘उत्पादनमा बृद्धि सिद्धलेकको विकास र सम्बृद्धि’ भन्ने नारा तय गरेको छ । गाउँपालिका भित्र व्यवसायिक र आधुनिक कृषि प्रणाली र पशुपालनलाई व्यवसायिक बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

गाउँपालिका भित्र संचालित पुर्वाधारको क्षेत्रमा आवधिक तथा मध्यकालिन योजनाहरुको पहिचान प्राथमिकिकरण छनौट गरि दिगो र भरपर्दो बनाईने अध्यक्ष खतिवडाले पेश गरेको नीति तथा कार्यक्रममा रहेको छ ।
त्यस्तै, स्वास्थ्य तर्फ घरमै हुने सुत्केरीलाई शुन्यमा ल्याउन दक्ष स्वास्थ्यकर्मीबाट गर्भवती तथा प्रसुती सेवा प्रदान गर्ने, गरिब विपन्न, दिर्घरोगी तथा जेष्ठ नागरिकलाई घरदैलौमा स्वास्थ्य सेवा दिन अध्यक्ष संग जेष्ठ नागरिक कार्यक्रम मार्फत निःशुल्क स्वास्थ्य घुम्ति शिविर संचालन गरिने भएको छ ।

नागरिकलाई कानूनी ज्ञान प्रवाह, न्याय सम्पादनको प्रकृया लगायतका बिषयमा जानकारी दिन गाउँ गाउँमा कानूनी साक्षरता कार्यक्रम सञ्चालन गर्न ‘उपाध्यक्ष संग कानूनी सचेतना कार्यक्रम’ र ‘जनता संग अदालत कार्यक्रम’ संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष सविता अर्यालले गाउँ सभामा वित्तीय समानीकरण अनुदान (संघ) १२ करोड ८६ लाख, राजश्व बांडफांड (संघ) ९ करोड १० लाख, वित्तीय समानीकरण अनुदान (प्रदेश) १ करोड ३२ लाख ३५ हजार, समपुरक अनुदान (प्रदेश) २ करोड, समपुरक अनुदान (संघ)१ करोड ५० लाखको बजेट प्रस्तुत गर्नुभएको छ ।

त्यस्तै सशर्त अनुदान संघ (चालु( २१ करोड ४४ लाख, सशर्त अनुदान संघ (पुँजीगत) ७ करोड १८ लाख, सशर्त अनुदान प्रदेश (चालु) ९० लाख ४१ हजार, सशर्त अनुदान प्रदेश (पुँजीगत) १ करोड ५० लाख, विशेष अनुदान संघ ९५ लाख, विशेष अनुदान (प्रदेश) ७० लाख, आन्तरिक मौज्दात १ करोड २१ लाख रहेको छ ।

यसैगरी सवारी साधन कर (प्रदेश)२ करोड ३३ लाख, स्थानीय राजश्व (गिट्टी वालुवा विक्री तथा निकासी कर) १ करोड, मालपोत रजिष्ट्रेशन शुल्क ४० लाख, नक्सा पास दस्तुर १ लाख, सम्पत्ति कर १५ लाख, भुमिकर र मालपोत दस्तुर १० लाख, घर जग्गा बहाल कर १० लाख र अन्य राजश्व ६४ लाख गरी कुल बजेट ६५ करोड ३९ लाख ७६ हजार अनुमान गरिएको छ ।

चालु आर्थिक बर्ष २०८०÷०८१ को बिनियोजित कुल बजेट ६७ करोड ९३ लाख १० हजार १७९ मा ५१ करोड ८३ लाख ४१ हजार ९० खर्च गरिएको र ५ करोड ८१ लख ५१ हजार ४५७ आम्दानी गर्न सफल भएको उपाध्यक्ष अर्यालले वजेटमा उल्लेख गर्नुभएको छ ।

सिद्धलेक गाउँपालिकाले निर्धारीत समय असार १० मा नै नीति कार्यक्रम र बजेट ल्याउने तयारी गरेको भएपनि सिद्धलेक गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष बिच बढ्दै गएको वेमेल र आन्तरिक कलहका कारण लामो समय देखि कार्यपालिका बैठक समेत बस्न सकिरहेको थिएन । पटक पटकको छलफल, सम्वाद पछि गाउँपालिकाको बार्षिक नीति तथा कार्यक्रम र बजेट ल्याउने सहमती जुटाएर पेश गर्न जनप्रतिनिधिहरु सहमत भएपछि आइतबार गाउँ सभाको आयोजना गरी नीति तथा कार्यक्रम बजेट पारीत भएको सिद्धलेक गाउँपालिकाका एक कार्यपालिका सदस्यले जानकारी दिए ।

गाउँ सभाको तयारी गर्न गाउँपालिकाले गत जेठ २५ गते देखि असार ३० गते सम्म ९ पटक कार्यपालिका बैठक डाकेपनि आठौं पटक सम्म बैठकमा गणपूरक संख्या पुग्न नसकेर स्थगित हुंदै आईरहेको थियो । गाउँपालिकाको नीति तथा कार्यक्रम र बार्षिक बजेट तर्जुमा लागि छलफल गर्न गएको जेठ २५, २८,३१,असार ६,७,२२,२३,२४ र ३० गते कार्यपालिकाको बैठक राखेको थियो । यसै गरी २०८१ असार ८ र १० गते गाउँ सभाको आव्हान गरेको भएपनि सम्पन्न हुन सकेको थिएन ।


One thought on “असारको अन्तिममा आएर सम्पन्न भयो सिद्धलेकको गाउँ सभा

Comments are closed.