जरुङ-सिमटारमा पानीको समस्या

496 पटक पढिएको

सम्पादक: Dhadingnews.com

केशव अधिकारी

सिमटार (धादिङ): धादिङको महादेवस्थान गाविसस्थित जरुङ र सिमटार महादुर्गम गाउँका रूपमा परिचित छ। विकटताका कारण यी दुई गाउँका बासिन्दा विभिन्न सेवासुविधाबाट वञ्‍चित छन्।

खानेपानी ओसार्दै धादिङ महादेवस्थान गाविसको सिमटारका बालबालिका।

खानेपानी ओसार्दै धादिङ महादेवस्थान गाविसको सिमटारका बालबालिका।

गाउँमा खानेपानी तथा सिँचाइको अभाव छ। शौचालय निर्माण भएका छन् तर पानीको अभावमा प्रयोग भएको छैन। गाउँलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ तर स्थानीयवासी शौचालयमा दिसा गर्दैनन्। 

तामाङ समुदायको बसोबास रहेको यस गाउँमा सडक, बिजुली र आधुनिक सञ्‍चार सुविधा छैन। पृथ्वी राजमार्गको गजुरीबाट दिनभर उकालो बाटो हिँडेपछि सिमटार पुगिन्छ। सरकारी निकायको बेवास्ताका कारण सिमटारवासी अवसर र सेवासुविधाबाट वञ्‍चित भएको खाद्य अधिकारकर्मी राजेन्द्र बस्नेतले बताए।

अवसर पहुँचवालाकोमा मात्रै सीमित हुने गरेकाले ग्रामीणबस्तीका अधिकांश बासिन्दामा अभाव र समस्या झन्झन् बढ्दै गएको छ। यहाँका बासिन्दा खोलाबाट बोकेर ल्याएको पानीले दैनिक जीवन निर्वाह गर्न बाध्य छन्।

जरुङपट्टि खानेपानी योजना सञ्‍चालनमा आएपछि केही राहत भए पनि सिमटार गाउँमा भने समस्या उस्तै रहेको स्थानीय ज्येष्ठ नागरिक सिंहबहादुर तामाङ बताउँछन्। सिँचाइका लागि धेरै खर्च लाग्‍ने भएकाले सहयोगका लागि गाविसदेखि जिविससम्म धाउँदा पनि बोलिदिने मान्छे कोही नहुँदा सहयोग पाउन नसकेको तामाङको भनाइ छ।

मिलेको टारबारी भएकाले सिमटारमा सिँचाइ हुने हो भने धानखेतीबाट राम्रो फाइदा लिन सकिने भए पनि सिँचाइ नहुँदा सुक्‍खाबालीको भर पर्नुपर्ने समस्या छ। सिमटारमा सिँचाइमात्रै होइन खानेपानीको पनि उत्तिकै समस्या छ।

सिँचाइ नहुँदा खेतीयोग्य जमिन त्यतिकै खेर गइरहेको छ भने गाउँमा खानेपानीको दु:ख भएकाले बालबालिका विद्यालय नगई पानी बोक्‍न घरमै बस्‍नुपर्ने बाध्यता छ। जसका कारण बालबालिकाको अध्ययनमा बाधा पुगिरहेको जरुङ सिमटार प्राविका सहायक प्रधानाध्यापक अजय तामाङ बताउँछन्।

जरुङमा ५६ र सिमटारमा एक सय ३५ परिवारको बसोबास छ। आर्थिक रूपले विपन्न भएकाले यहाँका युवा विदेश जानसमेत सकेका छैनन्। अहिलेसम्म यहाँबाट जम्मा दुईजना युवामात्र मलेसिया पुगेका छन्। गाउँमा सिँचाइ र खानेपानीको सबभन्दा बढी समस्या रहेको गाउँवासीको भनाइ छ।

गाउँबासीले खानेपानी र सिँचाइका लागि सुविधा नपाए पनि २०२१ सालमै गाउँमा विद्यालय भने स्थापना गरेका थिए। २१ सालमा स्थापना भएको विद्यालय अहिले पनि प्राविवाट माथि जान नसकेको अजय बताउँछन्।

स्वास्थ्य सेवाका लागि सामुदायिक प्रयासमा जरुङ सामुदायिक क्लिनिक स्थापना भए पनि दुर्गम बस्ती भएकाले स्वास्थ्यकर्मी नियमित बस्दैनन्। स्वास्थकर्मी प्राय: नहुने भएकाले सेवा प्रभावकारी हुन सकेको छैन।

जरुङ सिमटारगाउँमा काम गर्न केही गैरसरकारी संस्था पुगे पनि ती संस्थाले खानेपानी र सिँचाइलाई भन्दा घरमा अनिवार्य शौचालय हुनुपर्ने कुरालाई प्राथमिकतामा राखे। गाउँका सबै घरमा शौचालय पनि बने तर खानेपानीको अभावमा शौचालय प्रयोगमा समस्या भएको स्थानीयवासी बताउँछन्।