मधुमेह : जोगिन नजाने मात्रै खतरा

982 पटक पढिएको

सम्पादक: Dhadingnews.com


मेदनीप्रसाद खरेल

मधुमेह रोग दीर्घकालीन रोग भएकाले पूर्ण निको नभए पनि नियन्त्रण गर्नु पर्ने आवश्यक हुन्छ । यसलाई नियन्त्रणमा राख्न सकियो भने अरु सरह सहज जीवन विताउन सकिन्छ जसमा रोकथाम र यो रोग लाग्नवाट वच्ने उपायहरु धेरै छन् । विश्व स्वास्थ्य संस्थाको १९९७ मा प्रकाशित प्रतिवेदन अनुसार १९९५ सम्मको आँकडामा विश्वमा १२.४७ करोड मानिसमा भएको र सन् २०२५ सम्ममा ३० करोडको हाराहारीमा यो रोग पुग्ने अनुमान गरेको थियो ।

911538_613586962019240_1431938333_nविश्वलाई नियाल्दा विकसित देशहरुमा यसको ४५ प्रतिशत वृद्धि भइरहेको छ भने अविकसित देशहरुमा २०० प्रतिशतले वृद्धि भएको पाइएको छ । हालको अवस्था हेर्दा ३० देखि ४० वर्ष उमेर समूहका युवामा यो ग्रसित हुने काम तीव्र भएको छ । यो रोग लागेको धेरै समयपछि मात्र यसका लक्षणहरु देखा पर्ने हुँदा व्यक्तिलाई रोगले पूरा चापिसकेपछि मात्र थाहा हुने गर्दछ । तर पनि रोग देखा पर्ना साथैवाट रोकथामका उपायको थालनी भएमा रोग नियन्त्रण भई अरु सरहको जीवन चल्न सक्दछ । सँधै शारीरिक व्यायाम तथा विहानीको शुद्ध हावामा हिंडडुल गर्ने र वढी परिश्रम गर्ने साथै सन्तुलित भोजन गर्नु भनेको शरीरलाई स्वास्थ्य राख्न चाहनु हो । यो रोगको रोकथामको विषयमा यो लेखकले पहिलो र दोश्रो लेखमा प्रस्तुत गरिसकेकाले अव यसका उद्धेश्यहरु के हुन् त भन्ने पट्टि चर्चा गर्न आवश्यक ठान्दछु ।
आफ्नो शरीरको उचाइ अनुसारको तौल र पेटको मोटाइ कति राख्न पर्ने हो त्यसको सूत्र अनुसार राख्नु पर्ने र रगतको ग्लुकोजमा नियन्त्रण साथै यसको असरवाट आँखा, कान, मुटु, मृगौला, रक्तचाप, नशा, फोक्सो आदिमा पर्न सक्ने हुँदा यी चीजहरुलाई जोगाई राख्ने उपायको अवलम्वन गर्नु जरुरी छ । गर्भवती, सुत्केरी महिलाहरुको उमेर अवस्थालाई विवेक पु¥याइ दैनिकी खानपानमा आवश्यक परिवर्तन गर्नुपर्ने हुन्छ । दैनिक परिश्रम गर्र्नु पर्ने भएमा शक्तिवद्र्धक खाना खानु पर्दछ । यी रोगीहरुका निम्ति दिनको १८०० क्यालोरी खानु पर्ने हुन्छ । खानाको मात्रा क्यालोरीको हिसाव जोडेर खानाले फलफूल, स्याउ, सुन्तला, केरा, आँप, माछा, मासु, हरियो सागसव्जी, गेडागुडी, दूधदही जुनसुकै पदार्थ खाए पनि हुने तर यो सवै मापदण्डको हिसावले कम कम मिलाएर खाने गर्नु पर्दछ । रोटी खाएमा मधुमेह वढ्दैन, उसिना चामलको खाना खाए पनि वढ्दैन भन्ने चाँहि होइन । वढी खाए वढी नै रिजल्ट देखाउँछ, कम खाए कम नै देखाउने हो ।
भोक लागेमा थप खान सक्ने कुराहरुमा कफी, पिका चिया, पानी, हर्बल चिया, कागती पानी, सोडा पानी, काचो सलाद, क्राक्रो, गोलभेडा, सादा भेजिटेबल सुप, पातलो मोही आदि छन् । खाना पकाउँदा सब्जीमा तेल तथा चिल्लो कम गर्ने, मासुमा  देखिने बोसो निकालिदिने, तेलमा तारेका कुरा जस्तै पुरी , पकौडा, समोसा, आलु चप, मिठाई, रस दाना, चिनीजन्य कुराहरु ग्लुकोज, मह, सखर, आइसक्रिम, कोकाकोला, फ्यान्टा, हर्लिक्स आदि नखानु बेश हुन्छ ।
नियमित ब्यायामले शरीरमा उत्पादन भएको इन्सुलिनको काम गर्ने क्षमता बढाउँछ । रगतमा ग्लुकोजको मात्रा घटाउन वा नियन्त्रणमा राख्न मदत गर्छ । यसले तौल कम गर्न मदत गर्छ । रगतको कोलेस्टोरेललाई घटाउँछ, मुटुलाई स्वस्थ राख्न सहायता पुर्याउँछ । मानसिक चिन्तालाई कम गरी स्वस्थ महसुस गर्नुका साथै आत्मबिश्वास बढाउँछ । शरीरको तल्लो भाग खुट्टामा रक्तसंचार ठिक राख्छ ।
यी बिमारीले ३० देखि ६० मिनेटसम्म छिटोछिटो हिड्नु फलदायक हुन्छ । यसरी हिड्डुल गर्दा बिहान बेलुका दुबैं समय सकिन्छ । यो रोग लागेका ब्यक्तिले रोगको बारेमा आफै सचेत हुन जरुरी छ । मधुमेहको नियन्त्रण आफ्नै प्रयासमा भरपर्ने हुनाले रोगसंग सम्बन्धित बिबिध पक्षहरुमा आवश्यक जानकारी राख्नु अत्यन्त महत्वपूर्ण हुन्छ ।
मधुमेह पीडितले जुत्ता लगाउँदा कडा नभई नरम खालको र खुट्टाको नापको अर्डर दिएर लिनु वेश हुन्छ । जुत्ताले खुट्टाको औंलाहरु वढी च्याप्यो भने खुट्टामा घाउ हुने वढी सम्भावना हुन्छ । घाउ भएमा चाँडो निको नहुने हुन्छ । चिल्लो पदार्थ ओलिम, वदाम आदिको तेलमा कोलिस्टोरलको मात्रा घटाउनुको साथै मुटुको रोगलाई पनि फाइदा पुग्दछ । जम्ने खालको जस्तै नरिवल तेल, पाम वोसो, सन फ्लावर तेल मुटु रोगीको लागि हानिकारक सिद्ध भएको छ । रक्तचाप वढी भइरहेमा रक्त धमनीहरु मृगौलामा नराम्ररी असर पार्न सक्ने हुँदा उच्च रक्तचापवाट वचाएर राख्न नुनको मात्रा प्रतिदिन सातदेखि दश ग्राम भन्दा नवढाई खानु वेश हुन्छ । कोलेस्टोरेल वढेमा मुटुमा साथै रक्त नलीहरु साँघुरिदै जाने सम्भावना हुन्छ । यसैले दैनिक भोजनमा ३०० मिलिग्राम भन्दा नवढाई खाने, कोलेस्टोरल कम भएका खानेकुरा प्रयोग गर्नु जरुरी हुन्छ । औषधि उपचार इन्सुलिन लिइरहेका वखत पनि इन्सुलिन र औषधिको मात्रा अपुग भएमा ग्लुकोज घटीवढी हुने सम्भावना रहन्छन् । अचानक ग्लुकोज कम भएमा शरीरमा पसिना आउने, दुर्वलता देखा पर्ने, हातखुट्टा लुलिने, थर्थर हुने जस्ता लक्षणहरु देखा पर्न सक्छन् । यस्तो स्थितिमा तुरुन्तै चिनी, मिठाई, गुलियो विस्कुट मध्ये जे प्राप्त गर्न सकिन्छ सो लिनु आवश्यक हुन्छ । त्यसले क्रमशः केही क्षणमा नै ग्लुकोज वढाई हिंडडुल गर्न सक्ने अवस्था हुन्छ । त्यसैले यी रोगीहरुले त्यस्तो चीज कहीं कतै जानु परेमा आफूसँग सुरक्षित राख्नु पर्दछ । त्यस्तो अवस्था अभिन्तर ठाउँमा भएमा र यी सामाग्रीहरु उपलव्ध नभएमा विरामीको ज्यान समेत जाने सम्भावना रहन्छ । मधुमेहका रोगीहरुले व्रत लिने तथा उपवास नवस्नु वेश हुन्छ । किनकि त्यो अवस्थामा ग्लुकोज कम भएर वेहोश हुने समेत हुनसक्छ । यी रोगीहरुले चिकित्सकसँग परामर्श गरी राखेर निरन्तर औषधी सेवन गरिरहनु पर्ने हुन्छ । यो रोगसँग सम्वन्धित पक्षधरहरुको जीवन शैलीमा परिवर्तन तथा घरदेखि वाहिर जाने अवसरहरुमा आफूलाई अलग्याउनु पनि हुँदैन, सामाजिक क्रियाकलापमा वरावर सरिक हुने गर्नुपर्दछ तर खानपिनको विषयमा भने केही सचेत हुन आवश्यक छ । तर अनावश्यक तनाव लिनु भने हुँदैन ।
नेपाल मधुमेह प्रतिष्ठान, काँकरभिट्टाले यी सम्वन्धित पक्षको मेचीनगरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिसकेको छ । अव झापाको दक्षिणी भाग पृथ्वीनगरको ४÷५ गाविसका जनताले प्रत्यक्ष लाभ लिन सक्ने गरी निःशुल्क स्वास्थ्य शिविर राख्ने कार्यक्रम तय भएको साथै सो कार्यक्रम स्थानान्तर गरी विभिन्न ठाउँहरुमा पनि लैजाने योजना रहेको छ । काँकरभिट्टाको मेची होटलको सभाहलमा हरेक शनिवार वेलुकी ६ वजेदेखि ७ः३० वजेसम्म यी विषयमा निःशुल्क स्वास्थ्य शिक्षामूलक प्रशिक्षण कार्यक्रम भइरहेको र आगामी दिनमा पनि सञ्चालन हुने कुराको सम्पूर्ण मधुमेह पीडितलाई जानकारी गराउँदै यो लेखमा छुटेका कुरा अर्को अंकमा राख्ने गरी विदा चाहन्छु ।
(लेखक नेपाल मधुमेह प्रतिष्ठान काँकरभिट्टाका सह–सचिव हुन् ।)