माओवादी केन्द्र संग एकताको चर्चा चलिरहेको बेला एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

258 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ न्यूज
३२ साउन २०८१ । काठमाडौं । एकीकृत समाजवादी र माओवादी केन्द्रबीच पार्टी एकता हुने चर्चा तिब्र भईरहेको बेला नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

आगामी भाद्र ९, १० र ११ गते विहान ११ बजे काठमाडौँमा बैठक डाकिएको महासचिव घनश्याम भुसालले जानकारी दिएका छन् ।

बैठकमा केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण, केन्द्रीय संरचनाहरूको निर्माणलगायतको एजेण्डा रहेको भुसालले जानकारी दिएपनि पार्टी एकताको चर्चाका बीच  केन्द्रीय कमिटी बैठक बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

गत असारमा महाधिवेशन गरेको एकीकृत समाजवादीले केन्द्रीय कमिटी चयन गरे पनि पदाधिकारी चयन गर्न भने अझै बाँकी रहेको छ । आगामी बैठकसम्म पदाधिकारी चयन हुने नेताहरुले बताएका छन् ।

यस बीच माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पटक पटक भेटवार्ता समेत भएको छ । दुवै नेताबीच पार्टी एकता गर्न मोटामोटी सहमति भएको समेत दाबी गरिएको छ ।

पछिल्लो पटक केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि सबैभन्दा बढी चिन्तित देखिएका छन् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल। एमालेबाट विभाजन भएपछि पहिलोपटक प्रतिपक्षमा पुगेका नेपाल संसदीय अंकगणितमा कमजोर छन्। स्थापनादेखि सरकारमा रहेको समाजवादी अहिले प्रतिपक्षमा छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ। प्रचण्ड निवास खुमलटारमा दुई पार्टीबीच एकता गरेर जाने विषयमा छलफल भएको हो ।एकतापछि पार्टीको नाम समाजवादी कम्युनिष्ट पार्टी वा नेकपा समाजवादी राख्नदेखि चुनाव चिन्ह कलम नै राख्न पनि प्रचण्ड तयार भएको स्रोतले दाबी गर्‍यो । भोलि पार्टीलाई प्रधानमन्त्रीको अवसर आउँदा माधव नेपाललाई बनाउने गरी संसदीय दलको नेता पनि स्वीकार्न प्रचण्ड तयार भएका छन् ।

प्रचण्ड र नेपालबीचको यो साता दोस्रो भेट हो । यसअघि सोमबार प्रचण्ड नेपाल निवासमै पुगेर भेट गरेका थिए। स्रोतका अनुसार प्रचण्डसँग आजको भेटपछि अध्यक्ष नेपाल माओवादीसँग एकताको लागि सकारात्मक भएको माधव नेपाल निकट स्रोतले बतायो ।

तर, नेकपा एसमा माओवादीसँग एकता गर्ने विषयमा ठूलो मतान्तर छ ।केही दिनअघि नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन पनि नेकपा एसको कार्यालयमा पुगेर महासचिव घनश्याम भुसालसँग पार्टी एकताको बिषयमा छलफल गरेका थिए। दुई नेताहरु अहिले पार्टी एकताको गृहकार्य गरिरहेका छन् ।


One thought on “माओवादी केन्द्र संग एकताको चर्चा चलिरहेको बेला एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

Comments are closed.