धादिङमा महिला स्वास्थ्य स्वयं सेविका उम्मेदवार

667 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,/ दोश्रो संविधानसभा निर्वाचनका लागि धादिङमा एक जना महिला स्वास्थ्य स्वयं सेविकाको उम्मेदवारी परेको छ ।

नेपाली कांग्रेसले धादिङ क्षेत्र नंबर ३ बाट महिला स्वास्थ्य स्वयं सेविका बुद्धलक्ष्मी लामालाई उम्मेदवार बनाएको हो ।

नौविसे गाविस वडा नंबर १ घर भएकी लामा कांग्रेसको तर्फबाट धादिङ जिल्लामा नै पहिलो महिला उम्मेदवार हुनुहुन्छ । कांग्रेसको महासमिति सदस्य समेत रहेकी लामा नौविसे वडा नम्बर १ को महिला स्वास्थ्य स्वयं सेविका हुनुहुन्छ ।

नेपाली कांग्रेसका जिल्ला तहका थुप्रै आकांक्षीलाई पछि पार्दै टिकट पाउन सफल लामा टिकट पाएको पहिलो खबर सुन्दा विश्वासै नलागेको बताउनुहुन्छ ।

‘विरामी भएर वीर अस्पतालमा भर्ना भएकी बहिनी भेट्न पुगेको थिएँ त्यहीबेला एक जना नेताले फोन गरेर टिकट पाउनुभयो भनेर खबर दिनुभयो’ उहाँले भन्नुभयो ‘शुरुमा बिश्वासै लागेन, कुरो के हो भनेर बझ्न पार्टी कार्यालय जाँदा टिकटै हात पर्‍यो ।’

जीवनका महत्वपूर्ण समय निस्वार्थ भावनाले पार्टीमा लगाएको र सामाजिक सेवा गरेकै कारण आफुले टिकट पाएको लामाको भनाई छ । २०१४ सालमा जन्मिएकी लामा अविवाहित हुनुहुन्छ । राजनितिमा लाग्दा लाग्दै विहे गर्न भुलेको लामाले बताउनुभयो ।

२०३६ सालदेखि राजनीतिमा सक्रिय लामा अहिले कांग्रेसको महिला संगठन नेपाल महिला संघकी जिल्ला अध्यक्ष हुनुहुन्छ । २०४५ सालदेखि नौविसे स्वास्थ्य चौकीवाट महिला स्वास्थ्य स्वयं सेविकाको जिम्मेवारी सम्हाल्दै आफुले ग्रामीण भेगका महिलालाई अकाल मृत्युबाट बचाउन सहयोग गरेको उहाँले बताउनुभयो ।SAM_0492

उहाँले यसपटकको चुनाबमा नेकपा एमालेका पोलिट्व्युरो सदस्य एवं पूर्वमन्त्री राजेन्द्रप्रसाद पाण्डे, एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य शालिकराम जमकट्टेलसँग चुनाब लड्दै हुनुहुन्छ ।

यसै क्षेत्रबाट नेपाल मजदुर किसान पार्टीकी देव त्वनाबसुले पनि उम्मेदवारी दिनुभएको छ । २०६४ सालको संविधानसभा निर्वाचनमा यो क्षेत्रबाट एकीकृत माओवादीका जमकट्टेल विजयी हुनुभएको थियो ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने यो निर्वाचन क्षेत्रमा तामाङ समुदायको वाहुल्यता छ । तर यस क्षेत्रवाट संसदमा तामाङ समुदायको प्रतिनिधित्व हुन नसकिरहेको बेला नेपाली कांग्रेसले तामाङ महिलालाई उम्मेदवारको रुपमा खडा गरेको हो ।

धादिङ जिल्लाबाट यो बर्ष पाँच जना महिला संविधान सभाको निर्वाचनमा प्रत्यक्ष तर्फको चुनावी मैदानमा उत्रिएका छन् । एकीकृत नेकपा माओवादीकी कल्पना धमला यसपटक पनि धादिङ क्षेत्र नंबर २ बाट नै उठ्नुभएको छ । २०६४ सालको संविधान सभाको चुनावमा यसै क्षेत्रबाट विजयी हुनुभएको थियो ।

उहाँसँगै नेपाल कम्युनिष्ट पार्टीले गोमादेवी लामिछानेलाई र राप्रपा नेपालले अप्सरा पन्तलाई उम्मेदवार वनाएको छ । यसैगरी अम्बिका अधिकारीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।