महिलाको अधिकार र वर्तमान कानुन विषयक तालिम शुक्रवार देखि धादिङमा शुरु

879 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ /न्यायिक क्षेत्र सुधार परियोजना अन्र्तगत महिलाको न्यायमा पहुँच कार्यक्रमको गाविस स्तरिय सञ्जालका सदस्यहरुका लागि महिलाको अधिकार र वर्तमान कानुन विषयक तालिम शुक्रवार देखि धादिङ  शुरु भएको छ । लैङ्गिक विभेदमा आधारित हिंसा विरुद्ध अवधारणागत स्पष्टता गराउने, हिंसा प्रभावितहरुसंग काम गर्दा लैङ्गिक संवेदनशीलता बनाउने र महिलाको पक्षमा बनेका कानुनहरुको बारेमा विस्तृत जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।  तालिममा जिल्लाका जोगिमारा, मैदी र थाक्रे गाविसका २८ जना महिलाहरुको सहभागीता रहेको छ । तालिमको शुक्रवार राष्ट्रिय महिला आयोगका कानुन अधिकृत कल्पना खतिवडाले उद्घाटन गर्नुभयो ।कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपेन्द्र पञ्जियार र महिला सेवा समिति धादिङका अध्यक्ष गंगादेवी श्रेष्ठले आफ्नो धारणा राख्दै तालिम सम्पन्नको शुभकामना दिनुभएको थियो ।

तीन दिन सम्म चल्ने तालिममा मानवअधिकार र मौलिक अधिकार, मानवअधिकारको र दस्तावेजहरु, लैङ्गिक विभेदमा आधारित हिंसा, लैिङ्गकता र हाम्रो सामाजिकीकरण, महिलाको सम्पतिमाथीको अधिकार र यस सम्बन्धि कानुन, यौन तथा प्रजनन स्वास्थ्यको अधिकार, पहिचानको अधिकार, मानववेचविखन तथा ओसारपसार सम्बन्धि कानुन, घरेलु हिंसा, यौनजन्य हिंसा, बलत्कार र  यौनजन्य र्दुव्यवहारको कानुनी पक्षहरुका बारेमा सहभागीहरुलाई जानकारी गराइने छ । तालिमको पहिलो दिन आज मानवअधिकार र मौलिक अधिकारको बारेमा इन्सेक प्रतिनीधि सिताराम अधिकारी र मानववेचविख तथा ओसार पसारको बारेमा अधिवक्ता रामकृष्ण अधिकारीले सहजीकरण गर्नुभएको छ । आइ सि जे नेपालको सहयोगमा भएको कार्यक्रम महिला मानवअधिकार रक्षकहरुको जिल्ला सञ्जाल, फोकस नेपाल र नारी जागरण केन्द्रको संयुक्त आयोजनामा भएको हो ।