जनताको रगतले सिँचिएको सत्ता कहिल्यै टिक्दैन
329 पटक पढिएको
काठमाडौंको सडकमा हिजो इतिहासकै क्रूरतम दृश्य अंकित भयो-निहत्था, कलिला विद्यार्थीहरूको छातीमै बन्दुक ताकियो, गोली हानियो र उनीहरूलाई चीत्कार गर्ने समयसमेत नदिई सडकमा लडाइयो ।यो भविष्यको हत्या थियो । किताब पढ्नुपर्ने, कलम समाउनुपर्ने हातलाई रगतले रंगाईएको छ ।
विद्यार्थी, जसले भविष्यको सपना बोकेका थिए, जसको हातमा किताब र कलम हुनुपर्थ्यो, उनीहरूको हात रगतले भिज्यो । विद्यालय-क्याम्पसबाट घर फर्कनुपर्ने उमेरमा उनीहरू अस्पतालको शवगृहमा पुर्याइए । यो केवल मृत्यु होइन-यो एउटा पुस्ताको भविष्यमाथि गरिएको योजनाबद्ध वध हो ।
राज्यको जिम्मेवारी आफ्ना नागरिकलाई संरक्षण गर्ने हो । अझ कलिला, निहत्था युवालाई सुरक्षा दिनु त सरकारको पवित्र दायित्व हो । तर यहाँ उल्टै, उनीहरूकै छातीलाई निशाना बनाएर ट्रिगर थिचियो । यसको औचित्य दिन सक्ने कुनै शब्द, कुनै तर्क छैन ।
यी विद्यार्थीहरूको आक्रोश केवल आफ्ना अधिकारका लागि थिएन । न नागरिकलाई आतंकित पार्ने, न मुलुकलाई अस्थिर बनाउने । उनीहरूको आवाज शान्तिपूर्ण थियो, माग न्यायपूर्ण थियो । तर सरकारले त्यो आवाजलाई बन्दुकको नालसँग ठोक्क्याउने दुस्साहस गर्यो ।
अब प्रश्न उठ्छ,यस्तो मुलुकमा लोकतन्त्र के भनेर चिनिने? जहाँ प्रश्न सोध्ने अधिकारको जवाफ गोलीले दिइन्छ, जहाँ युवाको सपना च्यातिन्छ, जहाँ आमाको काख खाली पारिन्छ ।
यस घटनाले हामी सबैलाई भित्रभित्रै रुवाएको छ । त्यो रगत केवल सडकमा बगेको छैन, त्यो प्रत्येक नेपालीको मनमा गढेको छ । आज आमा–बुबाले आफ्ना छोराछोरीको निर्जीव शरीर काखमा बोकेर रोइरहेका छन् । त्यो पीडा कुनै पनि सत्ताले बुझ्न सक्दैन ।
सरकारले सम्झनुपर्छ,जनताको रगतले सिँचिएको सत्ता कहिल्यै टिक्दैन । र, यो रगतले अझ ठूलो बगाल बनाएर प्रश्न उठाउनेछ, प्रतिरोध गर्नेछ, न्याय माग्नेछ ।
हामीलाई अहिले आवश्यक छ,घाइतेहरूको उपचार, मृतकको परिवारलाई न्याय र सरकारसँग कठोर जवाफदेही । तर त्योभन्दा ठूलो कुरा, भविष्यका कुनै पनि विद्यार्थी, कुनै पनि निहत्था नागरिकमाथि बन्दुक नताक्ने प्रतिबद्धता सरकारले गर्न सक्नु पर्दछ ।
यी कलिला छातीमा लागेको गोलीले केवल शरीर मात्रै ढलेको छैन आम नेपाली नागरिकको अन्तरआत्मामा गहिरो घाउ बनाएको छ । र त्यो घाउ सजिलै निको हुँदैन ।
यी विद्यार्थीहरू घर फर्केर परीक्षा दिने तयारीमा हुनु पर्थ्यो, आफ्ना सपना बुन्दै बुबाको आँखामा आशा जगाइराखेका थिए । तर त्यो सपना अब चकनाचुर भएको छ ।
आमाले जसलाई काखमा लिएर हुर्काइन्, आँसु र पसिनाले सिंचाइन्, त्यही काख आज रित्तिएको छ । जिन्दगीभरको माया ओतप्रोत छातीमा अब केवल निष्ठुर चिसोपन बाँकी छ ।
यी छातीमा लागेको गोलीले केवल जीवन लिएको छैन—आमाको काख खोसेको छ, बुबाको सपना फुटाएको छ, दिदी–बहिनीको माया हराएको छ । यो केवल एक घरको शोक होइन, सम्पूर्ण देशको घाउ हो ।
दिदी–बहिनीको संसारमा जसले हाँसो ल्याउनुपर्ने थियो, जसले घरलाई उज्यालो बनाउनुपर्ने थियो, त्यही हात सधैंका लागि चिसो भएको छ । बहिनीको अनुहारमा मुस्कान ल्याउने दाजु अब तस्वीरमा मात्र अड्किएको छ ।
राज्यले आफ्ना नागरिकलाई सुरक्षा दिनु, आफ्ना युवालाई सपनासहित अघि बढाउने वातावरण बनाउन सक्नु पर्नेमा निहत्था कलिला बालवालिकालाई मारेर सत्तामा रमाउनु नालायिक पन हो ।
अब यो मुलुकलाई आवश्यक छ,न्यायको आवाज, दमनको अन्त्य र युवाको भविष्य सुरक्षित गर्ने प्रतिवद्धता ।







