प्रमुख दललाई मतदाता सुरक्षित गर्ने चुनौती
649 पटक पढिएको
कुलचन्द्र न्यौपाने,/ घनश्याम खड्का
धादिङ, कार्तिक २९ – चुनाव नजिकिँदै गर्दा मुख्य प्रतिस्पर्धा राजनीतिक दलहरू भने एकअर्काप्रति संशकित हुन थालेका छन् । घरदैलोमार्फत एकसरो प्रचारप्रसार सक्दा एकाधबाहेक कुनै घटना नभए पनि अन्तिमतिर प्रतिस्पर्धी दलका मतदाता भड्काउने खालका विभिन्न ‘तिकडम’ हुनसक्ने आशंका उनीहरूमा छ । त्यस्तो अवस्था चुनाव बहिष्कार गरेको नेकपा-माओवादीभन्दा पनि प्रतिस्पर्धी दलभित्रैबाट हुनसक्ने त्रास जिल्लाभर व्याप्त छ ।
एमाओवादी, कांग्रेस, एमाले र राप्रपासमेतले आ-आफ्नो प्रभाव क्षेत्रमा विपक्षी प्रतिस्पर्धी दलका मतदाता भड्काउन सक्ने शंका राखेका छन् । अघिल्लो संविधानसभा निर्वाचनमा जस्तो प्रचारप्रसारमै अवरोधका घटना अहिलेसम्म देखिएका छैनन् । एमाले जिल्ला कमिटी अध्यक्ष खेम लोहनी घरदैलो र चुनाव प्रचारप्रसारमा त्यस्तो अवस्था नदेखिए पनि एमाओवादी र कांग्रेसको प्रभाव क्षेत्रमा आफ्ना मतदातालाई सुरक्षित राख्न चुनौती महसुस गरिरहेको बताउँछन् । उनले प्रायः तीनै क्षेत्रमा यस्तो समस्या देखिएको बताए । यता कांग्रेसले तीनै वटा निर्वाचन क्षेत्रमा एमाओवादी र एमालेबाट चुनौती खडा भएको बताउँछ ।
कांग्रेस सभापति एवं क्षेत्र नं. २ का उम्मेदवार रामनाथ अधिकारी आफ्नो प्रचार अभियानमा घुसपैठ गराएर एमाओवादी र एमालेबाट मतदाता भड्काउने काम भइरहेको बताउँछन् । ‘अन्तिम अवस्थामा एमाओवादी र एमालेको गतिविधि डरलाग्दो देखिँदै गएको छ,’ अधिकारीले भने, ‘मतदातालाई सुरक्षित पार्न सकियो भने हामी तीनै क्षेत्र जित्ने अवस्थामा छौं ।’
अघिल्लो संविधानसभाको चुनावमा माओवादीले तीनै क्षेत्रमा गाउँगाउँमा वाईसीएलको क्याम्प राख्ने, मतदाता तर्साउने र विपक्षीलाई मतदान केन्द्रसम्म जानै नदिने गरेकाले आफ्नो पराजय भएको कांग्रेस/एमालेका नेताको ठहर छ । यसपाला पनि त्यस्तै होला भन्ने डर उनीहरूमा हटेको छैन । ‘अहिले पनि एमाओवादीले गाउँगाउँमा क्याम्प खडा गरेको छ । अन्तिम चार दिनमा हाम्रा मतदातालाई एमाओवादी र कांग्रेसले भड्काउने खतरा छ,’ लोहनीले भने, ‘तैपनि पहिलाजस्तो भय र त्रासको अवस्था भने छैन । एमाओवादीको मनोबल खस्कँदो र हाम्रो बढ्दै गएकाले त्यस्तो भए प्रतिवाद गर्छौं ।’
यस क्षेत्रका एमाओवादी नेता तथा क्षेत्र नं. ३ का उम्मेदवार शालिकराम जमकट्टेल भने विपक्षीहरूको आशंकालाई पूरै नकार्छन् । ‘अघिल्लो चुनावमा माओवादीलाई स्थापित हुन केही बल प्रयोग गर्नु जरुरी थियो र गरेको पनि हो,’ उनले भने, ‘तर यसपटक त्यस्तो गर्नुपर्ने कुनै आवश्यकता छैन, चुनाव एकदमै शान्तिपूर्ण हुन्छ ।’ एमाओवादीले बल प्रयोग गर्छ भन्ने कुरा विपक्षीको हौवामात्र भएको उनले बताए ।
अघिल्लो चुनावभन्दा यसपटक तीनै दलको सक्रियता बढेको, मतदाताका घरघर पुगेर उम्मेदवारले भोट माग्ने गरेको र सुरक्षा व्यवस्थासमेत मजबुत रहेकाले चुनाव शान्तिपूर्ण नै हुने आशा मतदाताले गरेका छन् । ‘पहिला अलिकति डर थियो, माओवादी जंगलबाट भर्खर आएकाले के हो के हो भन्ने थियो,’ नौबिसेका मतदाता रमेश तामाङ भन्छन्, ‘यसपाला त्यस्तो छैन, हामी सबैको कुरा सुनिरहेका छौं तर भोट कसैले भन्दैमा हाल्ने होइन, जसलाई मनले खान्छ उसैलाई दिने हो ।’
चुनावको अन्तिम अवस्थामा विकट ठाउँका सोझा मतदातालाई पैसाको प्रलोभन पार्ने चलन पनि धादिङमा अघिल्ला निर्वाचनदेखि नै थियो । ‘यसपाला पनि सक्नेले त्यही गर्न खोज्ला,’ गजुरीका ६४ वर्षे प्रबोध शर्माले भने, ‘तर ठूलो मतसंख्या पैसा र डरत्रासबाट मुक्त छ, परिणाम तिनकै कारण निणर्ायक हुन्छ ।’
क्षेत्र नं. १ मा पञ्चायतकालदेखि नै प्रतिननिधित्व गर्दै आएका बुद्धिमान तामाङ अहिले पनि एमाओवादी, कांग्रेस, एमालेका लागि मुख्य चुनौतीका छन् । पार्टीको भन्दा पनि व्यक्तिको प्रभावले तामाङ बलिया उम्मेदवारका रूपमा देखिन्छ ।
अघिल्लो संविधानसभा निर्वाचनमा माओवादी नयाँ शक्तिमा उदाएका कारण तामाङले उम्मेदवार नै दिएका थिएनन् । त्यसबाहेक उनी निरन्तर यस क्षेत्रबाट चुनाव लड्दै आएका छन् । ०४८ मा कांग्रेसबाट उनी पराजित भएका थिए । त्यसपछिको ०५१ र ०५६ का निर्वाचन उनले जिते । तामाङ बस्ती ठूलो संख्या रहेको उत्तरी क्षेत्रका ५ गाविस पूरै उनको होल्डमा देखिन्छ । पहिला यिनै ५ गाविसको मत झन्डै १७ हजारको हाराहारीमा थियो । तर अहिले फोटोसहितको परिचयपत्रका कारण सात हजारमा झरेकाले तामाङलाई त्यो मतमात्रै निर्णायक हुने देखिँदैन ।
यहाँ यसअघि माओवादीका पुष्पविक्रम मल्लले कांग्रेसका दिलमान पाखि्रनलाई २१ हजार मतान्तरले हराएका थिए । यसपालि ठूलो मतान्तर नपरे पनि जिल्लाका तीनै निर्वाचन क्षेत्रमा एमाओवादीले जित्ने दाबी जमकट्टेलको छ । यस्तै दाबी कांग्रेस र एमालेको पनि छ । कांग्रेस र एमालेले यस क्षेत्रमा नयाँ अनुहार दिएका छन । कांग्रेसले तिलक रुवाली र एमालेले धनबहादुर घलेलाई उतारेको छ ।
क्षेत्र नं. २ मा अघिल्लो निर्वाचनमा प्रमुख तीनै दलका उम्मेदवारको मतान्तर धेरै ठूलो नभएकाले यसपटक सबैले जित्ने दाबी गर्दै आएका छन् । ०६४ को चुनावमा माओवादीकी कल्पना धमलाले २० हजार, एमालेका गंगालाल तुलाधरले १९ हजार र कांग्रेसका रामनाथ अधिकारीले १८ हजार मत ल्याएका थिए । लोहनीले कांग्रेसले बुथ कब्जा नगरेमा आफ्नो विजयी सुनिश्चित रहेको दाबी गरे । एमालेले यसपटक पार्टीका पूर्वजिल्ला अध्यक्ष गुरुप्रसाद बुर्लाकोटीलाई उठाएको छ भने कांग्रेस र माओवादीले भने पुरानै अनुहारलाई उतारेको छ ।
क्षेत्र नं. ३ मा भने एमालेका राजेन्द्रप्रसाद पाण्डे बलिया देखिएका छन् । ०४८ देखि निरन्तर चुनाव जित्दै आएका पाण्डे अघिल्लो संविधानसभा चुनावमा भने एमाओवादी जमकट्टेलबाट पराजित भएका थिए । जमकट्टेल उतिबेला २५ हजार मत ल्याएका थिए भने पाण्डेले करिब १५ हजार ल्याएका थिए । अघिल्लो चुनावमा माओवादीको बन्देजका कारण पराजय भोगे पनि यसपटक पाण्डेको जित सुनिश्चित रहेको एमालेले दाबी गरेको छ ।
यस क्षेत्रमा कांग्रेसले यसपटक जनजाति मत तान्न बुद्धलक्ष्मी तामाङलाई उठाएको छ । कुल ६३ हजार मतदाता रहेको यस क्षेत्रमा तामाङ मतदाता २८ हजार छन् । कतिपय स्थानीय विश्लेषक तामाङ मत निणर्ायक हुने बताउँछन् । तर राजनीतिक दलका नेता भने सबै मत पार्टीकृत भइसकेकाले त्यस्तो नहुने दाबी गर्छन् ।
इकान्तिपुर डट कम बाट