नेपालमा नागरिकको निराशा र जेनजी आन्दोलनले दिएको चेतावनी

279 पटक पढिएको

२७ भाद्र २०८२, शुक्रबार ०९:२३ सम्पादक: धादिङ न्यूज

  • केशव अधिकारी

नेपालमा आम नागरिकले सरकारप्रति भरोसा गुमाउँदै गएका छन्। भ्रष्टाचार, अवसरमा असमानता, शिक्षा–स्वास्थ्यको संकट, न्याय प्रणालीको पहुँच अभाव र राजनीतिक नेतृत्वमा आजीवन सत्ता प्रवृत्तिले नागरिकमा निराशा बढाएको छ।

भ्रष्टाचार नागरिकको जीवनका हरेक क्षेत्रमा फैलिएको छ। विकास निर्माण, बजेट र सरकारी योजनामा अनियमितता आम जनताले देखिरहेका छन्। उनीहरू महसुस गर्छन् कि उनीहरूको कर र योगदान न्यायपूर्वक प्रयोग भइरहेको छैन।

रोजगारीमा पनि असमानता छ।  रोजगारीमा योग्यता भन्दा पहुँच, नातागोता र राजनीतिक प्रभाव बढी काम गरिरहेको छ। योग्य, मेहनती युवा अवसरबाट वञ्चित भई विदेशिन बाध्य छन्। यसले समाजमा निराशा र असमानताको अनुभूति बढाएको छ।

शिक्षा र स्वास्थ्य सेवामा पनि समस्या गहिरो छ। शिक्षामा गुणस्तर कमजोर, बिद्यार्थी संख्या घट्दै, शुल्क महँगो र संरचना कमजोर छ। स्वास्थ्य सेवा निःशुल्क भनिए पनि व्यवहारमा पहुँच कठिन छ र औषधि, उपचार महँगो भएको छ। नागरिकले महसुस गर्छन् किराज्यले आधारभूत सेवा दिन असफल भएको छ।

न्याय प्रणाली पनि नागरिकको भरोसा जित्न असमर्थ देखिन्छ। न्याय जटिल, ढिलो र पहुँच असमान हुँदा गरिब र विपन्न नागरिक असुरक्षित छन्। राजनीतिक र आर्थिक पहुँच भएका व्यक्तिलाई मात्र न्याय सहज पहुँचमा छ।

राजनीतिक नेतृत्वमा पनि स्थायित्वको कमी देखिन्छ। प्रमुख दलका नेताहरू दशकौँदेखि पदमा रहँदै आएका छन्, नयाँ नेतृत्व र विचारको प्रवेश रोकिँदा युवा निराश छन्। निर्णय प्रक्रिया दल केन्द्रित र जनतामुखी नभएको अनुभवले नागरिकमा असन्तोष बढाएको छ।

सरकारी सेवा प्रणाली पनि प्रभावकारी छैन। मालपोत, कर, यातायात, कम्पनी दर्ता जस्ता सेवा दलालको माध्यमबिना पाउन गाह्रो छ। ढिलासुस्ती, जटिल प्रक्रिया र अनियमितताले नागरिकको समय र मेहनत खेर जान्छ।

भ्रष्टाचार नियन्त्रण, समान अवसर, शिक्षा–स्वास्थ्य सुधार, न्याय प्रणाली सुधार र प्रशासनिक पारदर्शितामा तत्काल कदम नचाले, नेपालमा निराशा र असमानता अझै बढ्नेछ।

नेपालमा दशकौँदेखि बढ्दो भ्रष्टाचार, बेरोजगारी, अवसरमा असमानता, शिक्षा–स्वास्थ्यको संकट र आजीवन राजनीतिक नेतृत्वले नागरिकमा गहिरो निराशा सिर्जना गरेको छ। यसैबीच युवापुस्ता बीच उदाएको जेनजी  आन्दोलनले सुधार र पारदर्शिताको आशा जगाएको भए पनि, हिंस्रक र अराजक तत्वहरूले आन्दोलनको लक्ष्यमा अवरोध पुर्‍याएको छ।

जेनजीलाई अघि सारेर देशमा हिंसा, अशान्ति र संघीय गणतन्त्र मास्न चाहने तत्व हावी हुंदा मुलुकको प्रशासनीक केन्द्र सिंहदरवार खरानीमा परिणत हुन पुग्यो । राष्ट्रपती निवास, सर्वोच अदालतमा पनि आगजनी गरियो जस्ले नेपालको शान्ति सुरक्षामा चुनौती मात्रै दिएन इतिहासनै मेटिन पुग्यो ।

महँगो चुनाव र जनप्रतिनिधीको कमाउने प्रवृत्ति

जनप्रतिनिधि बन्न अत्यधिक महँगो चुनावी खर्च आवश्यक पर्छ। निर्वाचित भएपछि धेरै जनप्रतिनिधी आफ्नो कर्तव्यभन्दा बढी चुनावी खर्च उठाउने र कमाउने तिर लाग्छन्। स्थानीय तहदेखि संघीय तहसम्म, विकास परियोजना र बजेटमा अनियमितता सामान्य बनिसकेको छ। यसले नागरिकमा पारदर्शिता र जवाफदेहिता प्रति भरोसा कमजोर बनाएको छ।

आजीवन नेतृत्वले युवा अवसर रोक्यो

नेपालका राजनीतिक दलमा नेतृत्व परिवर्तनको अभाव र आन्तरिक लोकतन्त्र कमजोर छ।

  • माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ४० वर्षदेखि पदमा छन दोश्रो व्यक्तिलाई जिम्मेवारी दिन उनी चाहँदैनन ।
  • विधान महाधिबेशन मार्फत एमाले अध्यक्ष केपी शर्मा ओलीले आजीवन अध्यक्ष बन्ने बाटो खुलाए ।
  • नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा दशकौँदेखि पदमा छन्,आंफुँ सँगै श्रीमती आरजु राणा देउवालाई अघि सार्दै अवसर कब्जा गरिरहेका छन् ।
  • पञ्चायत कालदेखि सांसद भईरहेका नेताहरु अहिले पनि संसदमा छन्। उनिहरुबाट दोश्रो पुस्ताले के आश गर्ने ?

यसले दलभित्र जवाफदेहिता कमजोर बनाएको छ र नयाँ पुस्तालाई राजनीतिक अवसरबाट वञ्चित बनाएको छ।

बेरोजगारी, नातावाद र अवसरमा विभेद

रोजगारीमा योग्यता भन्दा नातावाद र पहुँच बढी प्रभावकारी बनेको छ। योग्य युवा अवसरबाट वञ्चित भई विदेशिन बाध्य छन्। स्थानीयदेखि संघीय तहसम्म पदमा पहुँच बिना जागिर वा सेवा पाउन गाह्रो छ। यसले सामाजिक असमानता र युवामा निराशा मात्र बढाएको छैन, सामाजिक स्थायित्वमा पनि चुनौती पुर्‍याएको छ।

शिक्षा र स्वास्थ्य संकट

राज्यले शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गरेको अरबौं रुपैयाँको प्रतिफल छैन।

  • शिक्षामा गुणस्तर कमजोर, बिद्यार्थी संख्या घट्दै।
  • देखावटी निःशुल्क शिक्षा व्यवहारमा महँगा शुल्क
  • स्वास्थ्य सेवा निःशुल्क भनिए पनि व्यवहारमा पहुँच कठिन, औषधि र उपचार महँगो।

यदि शिक्षा र स्वास्थ्य प्रणाली सुधार नहुने हो भने, देशको मानव पूँजी र दीर्घकालीन विकास संकटमा पर्न सक्छ।

न्याय प्रणाली र सरकारी सेवामा अविश्वास

न्याय जटिल, ढिलो र पहुँच असमान हुँदा गरिब र विपन्न नागरिक असुरक्षित छन्। कम्पनी दर्ता, मालपोत, यातायात, कर कार्यालयमा दलालको माध्यमबिना सेवा पाउन गाह्रो छ। यसले जनजीवनमा निराशा र असन्तोष मात्र बढाएको छैन, लोकतन्त्रप्रति भरोसा पनि कमजोर बनाएको छ।

जेनजी आन्दोलन: आशा र चुनौती

जेनजी आन्दोलनले भ्रष्टाचार, असमानता र सुशासनको माग गर्दै युवा चेतना जगायो। तर आन्दोलनमा अराजक र हिंस्रक तत्व प्रवेश हुँदा अपेक्षित सुधारमा बाधा पुगेको छ। केही स्थानमा सरकारी सम्पत्ति र संरचनामा क्षति पुगेको छ र सामाजिक अस्थिरता बढेको छ। यसले देखाउँछ कि सुधार र आन्दोलनको उद्देश्यलाई हिंसाले नष्ट गर्न सक्ने जोखिम छ।

सुधार र चेतावनी

नेपालमा निराशा र असमानता बढ्दैछ। सुधारको लागि तत्काल कदम आवश्यक छ। राजनीतिक दलमा आन्तरिक लोकतन्त्र र जवाफदेहिता सुनिश्चित गर्नु, स्थानीय र संघीय तहमा पारदर्शिता र क्षतिपूर्ति गर्नु, योग्यता र क्षमता आधारित रोजगारी र अवसर सुनिश्चित गर्नु, शिक्षा र स्वास्थ्य प्रणालीमा गुणस्तर सुधार गर्नु, सरकारी सेवामा ढिलासुस्ती र दलाली नियन्त्रण गर्नु र युवाहरूको आन्दोलनलाई हिंसा बाहेकका मार्गमा प्रवर्द्धन गर्नु अत्यावश्यक छ।

जेनजी आन्दोलनले युवा चेतना र सुधारको आशा जगाएको छ। यदि यी सुधारहरू लागू भए, नेपाल सुशासन, पारदर्शिता र समान अवसरको बाटोमा अघि बढ्न सक्छ। नभए, लोकतन्त्र र सामाजिक स्थायित्व नै संकटमा पर्न सक्छ।