३३ वर्षदेखि सडक व्यापारमा
610 पटक पढिएको
मलेखु, /गहुँगोरो र मलिन अनुहार, धुलैफुस्रै, पुरानो चप्पल, हातमा प्लास्टिक बट्टा बोकेर झिस्मिसेदेखि साँझसम्म मलेखुको कालोपत्रे सडकमा ढौडिरहेका हुन्छन् नवराज परियार । धुलिमाटी खेल्दै गर्दा मलेखुका साहूहरूले लगाएको काम अहिले उनको दिनचर्या बनेको छ ।
९ वर्षको उमेरदेखि पृथ्वी राजमार्गमा गुड्ने लामा–लामा बससँगै दौडँदै यात्रुलाई केरा बेच्न सुरु गरेका परियारको जीविका अहिलेसम्म चलिआएको छ । सुरुका दिनमा अन्तराज दाइ र सुब्बा दाइले आफ्नै घरमा फलाए, केरा बेच्न पठाएको सम्झँदै परियारले भने, “मलाई मलाई गाह्रो काम लगाए भनी ठानेको थिएँ । बिस्तारै सजिलो हुँदै गयो । फाट्टफुट्ट गाडी गुड्थ्यो । ३ रुपैयाँ दर्जनमा केरा किनेर ६ रुपैयाँ बेच्थें, राम्रै कमाइ हुन्थ्यो । त्यति बेला पैसा कम थियो । सबैले किनेर खान सक्दैनथे, तर पनि म एक्लै सडकमा केरा बेच्न भएकाले बस–ट्रकका मानिस राकिएर किनेर लान्थे ।
गजुरी गाउँ विकास समिति वडा नं. २ मा जन्मिएका परियार अहिले ४२ वर्ष भइसकेकोमा दंग छन् । अस्तिजस्तो लाग्थ्यो, सडक व्यापार गर्न थालेको ३३ वर्ष भइसकेछ । अहिले त जताजतै पसल, सडकको चोकचोकमा फलफुल, पानी बेच्ने व्यवसायीहरू छन् । “मैले सुरु गरेको काम आज धादिङका करिब ५ सय जनाले अपनाएका छन्,” उनले भने, “मेरै पनि सरदर महिनामा १० हजार कमाइ घट्दैन ।” अहिले फलफूल पनि बाहिरबाट ल्याएर बेच्नुपर्ने, चाउचाउ लेज, कुरकुरेजस्ता तयारी खाना बजारमा उपलब्ध भएकाले र प्रशस्त होटल भएकाले सडक व्यापार घटेको उनी बताउँछन् । चटपटेले गर्दा फलफूलको ग्राहक घटेको उनको अनुभव छ ।
“यात्रुलाई फलफूल बेचेर परिवार चलाएको छु, ६ जना छोरी र २ जना छोरा हुर्काएँ,” उनले भने, ३ छोरीको विवाह भइसकेको छ ।” ३ छोरी घरको काम गर्छन् । छोराहरू साना भएकाले पढ्न जान्छन् । गजुरी बजारमा रहेको सजिलो बचत तथा ऋण सहकारी संस्थामा ४ महिनादेखि दैनिक बचत पनि सुरु गरेको परियारले बताए ।
-कारोबार दैनिक