अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस आज विश्वभर मनाइँदै
263 पटक पढिएको
काठमाडौं ।आज अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस विश्वभर विभिन्न कार्यक्रमहरू गरी मनाइँदैछ। हरेक वर्ष डिसेम्बर ८ का दिन यो दिवस मनाइने गरिन्छ। मर्यादित महिनावारीका लागि ग्लोबल साउथ गठबन्धनको पहलमा सन् २०१९ देखि यस दिवसको औपचारिक रूपले सुरुवात गरिएको हो।
यस वर्षको दिवसको नारालाई ‘मर्यादित महिनावारी: जन्मसिद्ध गरिमा, समानता र अविच्छिन्न अधिकारहरू पुनः प्राप्त गरौँ’ भन्ने निर्धारण गरिएको छ। महिनावारी सम्बन्धी अधिकार, स्वास्थ्य र गरिमाबारे विश्व समुदायमा चासो बढाउन यो दिवस मनाइने गरिन्छ।
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानलाई थप प्रभावकारी बनाउन डिसेम्बर ८ लाई मर्यादित महिनावारी दिवसको रूपमा मनाउन थालेको हो। यस वर्ष यो दिवस मनाइएको सातौँ संस्करण हो। विभिन्न सामाजिक संस्था, स्वास्थ्य संगठन, विद्यार्थी समूह र स्थानीय तहहरूले जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरिरहेका छन्।
महिनावारी महिलाको शरीरमा हुने पूर्णतः प्राकृतिक, जैविक र आवश्यक प्रक्रिया हो। गर्भाशयको भित्री तहमा मासिक रूपमा बनेका तन्तुहरू र रगत बाहिरिने यो चक्र प्रजनन स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ।
यद्यपि महिनावारी सामान्य र विज्ञानसम्मत प्रक्रिया भए पनि विश्वका धेरै समाज र संस्कृतिमा यसलाई अशुद्ध, फोहोर वा अपवित्र मान्ने गलत मान्यता अझै पनि कायम छ।
यही अन्धविश्वासका आधारमा महिनावारी भएका महिलालाई घर–परिवार, समाज, संस्कार–संस्कृति र धार्मिक कार्यक्रमहरूमा सहभागी हुन निषेध गरिने उदाहरणहरू विश्वभर पाइन्छ।
नेपालमा पनि यस्ता हानिकारक परम्परा र व्यवहार विभिन्न रूपमा आज पनि देखिन्छन्। विशेषत: महिनावारीका कारण महिलामाथि लाग्ने सामाजिक निषेध, चलनचल्तीका बन्धन र अपहेलनाकारी व्यवहारलाई अन्त्य गर्न निरन्तर अभियान आवश्यक रहेको विज्ञहरूले बताउँदै आएका छन्।
महिनावारी भएका व्यक्तिको गरिमा, सुरक्षा, स्वच्छता, स्वास्थ्य र समान अधिकार सुनिश्चित गर्न आवश्यक नीति, पूर्वाधार, शिक्षामूलक कार्यक्रम र सामाजिक व्यवहारमा परिवर्तनका लागि अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस महत्वपूर्ण अवसरका रूपमा लिइन्छ।








https://shorturl.fm/FzN2d