गाउ मान्खु पैरे
817 पटक पढिएको
-स्वर्गिय केवलपुरे किसान
मान्खु पैरे छुट्टयाउने सीमा खोल्चो जैरे
काठमान्डौ को घाटिबाट ऊकलेको मान्छे
भिम ढुंगा बाट ओर्ली तल तलै जान्थेखोला तर्दै आँगन छिर्दै नागबेली घुम्दै
पिप्लामेट मुखमा हाली रमाएर झुम्दै
डढुवा को उकालोको फेदी सम्म पुग्दा
घाटी मुख सुकि सक्थ्यो आउदैनथ्यो थुक्दा
बाल्य काल स्कुले केटो खुट्टी साना साना
उकालोले सातो लिदा मनै रुने नाना
एकै छिन चौतारीमा थकाई मार्ने मन
हुदा हुदै हिड्न पर्ने कति गाह्रो झन
घाटी सुक्यो पानि छैन खुर्खुरे त्यो डांड़ो
सर्किनिको चौतारोमा थकाइ मार्न चाडो
पुगी बसौ भन्दा भन्दै घाम् ओइलायो हेर
जिबन्पुर पण्डित पौवा केबलपुर् छ धेर
तेर्सो बाटो बल्ल बल्ल आयो अब भन्दै
पारि पटि सात्घुम्तिको मोटरगाडी गन्दै
पैरे घर पुग्ने बेला झम्मक्क भो साँझ
सिंगै दिन बिताएर आमा बा को माझ
दशैँ आयो तिहारको रमझम छायो
पन्ध्र दिने छुट्टी हुदा मनयो रमायो
आइस् बाबु कति पढ़िस के छ तेरो हाल
सबै जना बुझ्न खोज्ने खेली खाको चाल
गाउ घर साथि भेट्न भित्र मन देखि
कैले पुगी भेटौ भन्ने कौतुहल लेखि
बल्ल बल्ल घर पुग्दा पढाइ को कुरा
दिक्क लाग्ने कस्तो बेला सबै हामि भुरा
खेली खायो मस्त संग पन्ध्र दिन सम्म
फर्की जाने बेला भयो जिउ हुन्छ झम्म
थाल्नु हुन्छ आमा अब के के लान्छस् भनी
मस्यौरा र गुन्द्रुकको पोका गनी गनी
खेतीबाट आउछ तेल भैंसी बाट घिउ
लिएर जा सखर्बेसार बिग्रदैन जिउ
चामल् कति हालिदिउ फेरी आउने कैले
दहि दुध टन्न खानु हिड्नु भन्दा पैले
भन्दा भन्दै पोको बाध्दा डोको जत्रो भयो
कसो गरि बोकी लानु देख्दै सातो गयो
सात बर्षको फुच्चे केटो भारि आठ धार्नी
कूम्मा भिरी हिड्नु पर्दा छिन् छिनमा सार्नी
सारै ठुलो भयो पोको पाइन्छ कि कोइ
सखर बेच्नजाने कुनै भेटिन्छ कि खोइ
तल्लो बाटो जानुपर्छ धार्के खानि खोला
थानकोट सम्म पुग्न पाए ट्रक पाइन्छ होला
लटरम्म धानको बाला दाया बाया झुल्छ
मुन्सिर मा बारी पाखा तोरी फूल फुल्छ
दाइँ पछी शुरु हुन्छ उखु पेल्ने काम
डण्डीब्यो र कुस्ती खेल्न प्यारो लाग्ने घाम
जाडो भरि स्कुल छुट्टी मिन पचासको
छाप्रो भित्र सुत्न पर्छ सिरक कपासको
शुरु भयो उखु पेल्न गोरु धपाउ कान्छो
सारै मिठो लाग्ने गर्थ्यो सिल उनेको माछो
बार्थन चौर गोठालोमा कुस्ती खेल्ने ठाउ
पण्डितको कान्छोको छ जिताहामा नाउ
डिहिमा छ गोठमुनी कटरको रुख
दिनभरी उखु हाडे चपाउन के दुख
महेश् खोला भ्यांग्ले मुनि परेको छ ताल
दनुवार आइ संधै फ्याक्ने गर्छ जाल
साझा हो त्यो गोठालाको पौडी खेल्ने ठाउ
सार्है साना जान हुन्न साथ लाग्छन् बाउ
सम्झना त्यो आउने गर्छ जनै बगाएको
साथि हरु मिलि मलाइ झन्डै डगाएको
दुख परि डर लागे बचाउने साथि
सुनामी नै आए जस्तो लाग्ने त्यस माथि
गायत्री र जनैसुत्र ब्रतबन्ध पछि
बाधिएर बन्नु हुन्न मान्छे सर्ब भक्षी
कडा नियम् मान्नु पर्ने बालमस्तिश्कमा
सातै जान्थ्यो बोझ ठुलो बोक्नुपर्दा कांधमा
त्यस्तै गाउ त्यस्तै ठाउ घर परिबार
कल्पनामा गासि गासि खाइसके हार
फेरी आए हुन्थ्यो तर यस्तै भएपनि
बाल्यकाल फर्काएर गरि देउन जनि
सुख दुख दाजी ल्याउदा ऐले सुख टन्न
तर मन उतै जान्छ त्यो पो सुख भन्न
थाक्दीन म बाल्यकाल बर्णन गरि गरि
सिद्धिले त भनेकै हुन् तर गए मरि !