संरक्षणको पर्खाइमा ऐतिहासिक सम्पदा
827 पटक पढिएको
केशव अधिकारी
धादिङ, पुस ११ – धादिङको केवलपुर गाविसको पण्डितपौवामा रहेको ऐतिहासिक गणेश, भीमसेन तथा सरस्वती मन्दिर आर्थिक अभावका कारण संरक्षण विहीन अवस्थामा पुगेको छ ।
नेपाल एकीकरण हुनुभन्दा पहिलेदेखि अस्तित्वमा रहेका यी मानिएको मन्दिरको संरक्षणको कुनै पहल हुन सकेको छैन ।
ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मन्दिर जिर्ण बनेर भत्कने अवस्थामा पुग्न लागेपछि स्थानीय बासिन्दाले जनश्रमदानबाट संरक्षणको प्रयास गर्दै आएपनि पर्याप्त भने हुन नसकेको भीमसेन गुठीका जेष्ठ सदस्य सन्तमान डंगोलले बताउनुभयो । पुरातात्विक दृष्टिकोणले दुई सय वर्ष भन्दा पुराना मन्दिर पुरातात्विक स्थलको रुपमा सूचीकृत गर्नुपर्ने भए पनि पुरातात्व विभागको ध्यान जान नसक्दा अहिले मन्दिर जीर्ण अवस्थामा पुगेको स्थानीय पत्रकार सुवाष पण्डितको भनाइ छ ।तत्कालिन समयमा काठमाडौं प्रवेश गर्ने मुख्य नाकाको रुपमा रहेको लामिडाँडाको पडितपौवमा रहेको मन्दिरको मूर्ति करिब तीन सय वर्ष पहिले हरिसिद्धी, कीर्तिपुर र किसिपिढींबाट व्यपारका लागि पण्डितपौवा आएका नेवार समुदायले आफ्नो पहिचानका लागि मन्दिरको स्थापना गरेको स्थानीय बृद्धहरु बताउँछन् ।
पण्डितपौवा र आसपासका क्षेत्रमा बसोवास गर्दै आएका नेवार समुदाय र स्थानीय खस आर्यको सक्रियतामा हरेक वर्षको मंसिर कृष्णपक्ष तृतिया र चौथीका दिन यहाँ जात्रा लाग्ने गर्दछ ।
नेवारमात्र पुजारी हुने भीमसेन मन्दिरमा वर्षको एक पटक लाग्ने मेलामा नेवारलाई जुठो, सुत्केरो परेमा स्थानीय ब्राम्हणहरुले पुजा र मेला चलाउने गरेको भीमसेन गुठीले जनाएको छ ।
तृतियाको दिनवाट सुरु हुने जात्रा चौथीको दिनभर पुजाआजा, नाचगान, भाकल बुझाउने जस्ता कार्यगरी सोही दिन सिन्दुरे जात्रा गर्दै मुर्तिहरुलाई देवालयमा फिर्ता गरेपछि पञ्चमीको दिन गुठी भोज गरेर जात्रा सम्पन्न हुने गरेको स्थानीय डंगोलहरु वताउँछन । केही वर्ष अघिसम्म गुठी भोज र जात्राका लागि चाहिने खर्च गुठीमा रहेको जग्गाबाट आएको आयस्ताले धान्ने गरेकोमा अहिले गुठीको जग्गा व्यक्तिले आफ्नो बनाएकाले भीमसेन गुठीलाई मन्दिरको अस्तित्व जोगाउन हम्मे हम्मे परेको छ । वर्षको एक पटक लाग्ने मेलाका समयमा मन्दिरभन्दा उत्तरतर्फ रहेको देवालयमा राखिएका गणेश, भीमसेन र सरस्वतीका धातुका मुर्तिलाई रथमा राखेर नाचगानका साथ मुख्य मन्दिरमा प्रतिस्थापन गर्ने गरिएको स्थानीय दिलबहादुर डंगोलले बताउनुभयो । देवालय निर्माण गरिएका काठ, ढुंगा र ईंटा कलात्मक रहेका छन् । भिमसेन गुठीले सञ्चालन गर्दै आएको मन्दिरको मुख्य आयश्रोतका रुपमा रहेको गुठी व्यक्तिले कब्जा गर्दै त्यस्को आम्दानी पनि निजी बनाउन थालेपछि मन्दिरको लागि आर्थिक अभाव स्थानीय बासिन्दा बताउँछन् ।
ऐतिहासिक महत्व बोकेको मन्दिर संरक्षणको अभावमा जीर्ण बन्दै जोखिमपूर्ण अवस्थामा पुगपछि २०५७ सालमा चन्दा संकलन गरी पुरानै शैलीमा मन्दिर जीर्णोद्धार गरेको स्थानीयले वताए । मन्दिर पुरातात्विक भएकाले संरक्षण गर्न सरकारी निकायले केही पहल गरे संस्कृति र सम्पदाको संरक्षण हुने पुराना पत्रकार पण्डितको सुझाव छ । मन्दिरको नाममा केवलपुर गाविसका विभिन्न स्थानमा दुईसय रोपनीभन्दा बढी भीमसेन गुठीको जग्गा रहेको भएपनि त्यसको सदुपयोग हुन नसकेको भीमसेन गुठि संचालकको भनाइ छ । जग्गा जसले कमायो उसैले आफ्नो नाममा सार्न थालेपछि मन्दिरको अस्तित्व संकटमा परेको गुठियारहरु बताउँछन । भीमसेन मन्दिर बाहिर रहेको ढुंगा खोपेर बनाइएको शिलालेखको अक्षरहरु मेटिँदै गएकाले ऐतिहासिक महत्वका जानकारी हराउँदै जान थालेको छ । शिलालेखमा जथाभावी केरमेट भएकाले ऐतिहासिक कुरा अस्पष्ट हुन पुगेको हो ।
-उज्यालो अनलाईन