अनुदानको मल दुई संस्थाबाट बिक्री हुने

515 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 काठमाडौं,- कृषि विकास मन्त्रालयले चालु आर्थिक वर्षका लागि अनुदानको रासायनिक मल दुईवटा संस्थालाई बिक्री गर्न स्वीकृति दिएको छ । चालु आर्थिक वर्षमा रासायनिक मलको अभाव नहुने दाबी गर्दै मन्त्रालयले सरकारले सहुलियत दरमा अनुदाति रासायनिक मल बिक्री गर्न कृषि सामग्री कम्पनी लि. र साल्ट टेड्रिङ कर्पोरेशन लि.लाई अनुमति दिएको हो । मन्त्रलायले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को निर्णयअनुसार चालु आर्थिक वर्ष २०७०÷०७१ का लागि लागत सहभागिताका आधारमा किसानहरुलाई सहुलियत मूल्यमा मल बिक्री गर्नका लागि कर्पोरेशन र कम्पनीलाई अनुमति दिएको उल्लेख गरिएको छ । मन्त्रालयका प्रवक्ता तथा सह–सचिव प्रभाकर पाठकले चालु आर्थिक वर्षमा दुई लाख ४५ हजार मेट्रिक टन रासायनिक मल आयात गरिने तयारी रहेको भन्दै कृषि सामग्री कम्पनीलाई एक लाख ६० हजार र साल्ट कर्पोरेशनलाई ८५ हजार मेट्रिक टन रासायनिक मल आयातका लागि अनुमति दिएको जानकारी दिनुभयो । सरकारले उपलब्ध गराएको अनुदानित मल कर्पोरेशन, कम्पनी तथा सहकारी संस्थाहरुबाट बिक्री वितरण गर्न सकिने भन्दै सो विज्ञप्तिमा यी संस्थाबाट हुने मल वितरणको अनुगमन जिल्ला, क्षेत्रीय एवम् केन्द्रीयस्तरबाट अनुगमन हुने उल्लेख गरिएको छ । साल्ट टे«डिङमा ५० हजार मल मौज्दात रहेको सो परिणामको मलसहित सरकारसँग ९७ हजार एक सय २० मेट्रिकटन मल मौज्दात रहेको मन्त्रालयको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । मन्त्रालयले गत शनिबारसम्मको तथ्यांक सार्वजनिक गर्दै युरिया ४२ हजार नौ सय ६३, डिएपी ४६ हजार एक सय ८६ हजार मेट्रिक टन मौज्दात रहेको जनाएको छ । यस्तै पोटास सात हजार नौ सय ७१ मेट्रिक टन मल मौज्दात रहेको र दुई लाख ४५ हजार मेट्रिक टन मल आयात गर्ने लक्ष्य रहेको भन्दै चालु आर्थिक वर्षमा मलको अभाव नहुने जनाएको छ । सरकारले कृषि सामग्री कम्पनी र साल्ट टे«डिङ कर्पोरेशनबाट २०७० पुस १३ गतेसम्म युरिया, डिएपी र पोटास गरी दुई लाख चार हजार छ सय १९ मेट्रिक टन आयात गरी एक लाख सात हजार चार सय ९९ मेट्रिक टन रासायनिक मल बिक्री गरेको छ ।