धादिङको ग्रामीण सञ्चार इतिहास: ५० को दशकमा गुन्जिएको ’बसाहा अडियो टावर’

233 पटक पढिएको

१५ जेष्ठ २०८३, शुक्रबार १५:२६ सम्पादक: धादिङ न्यूज

  • केशव अधिकारी

“नमस्कार। म बलराम अधिकारी, हरेक शनिबार झैं यो शनिवार पनि हामी बसाहा अडियो टावरमा उपस्थित भएका छौं- गाउँका गतिविधि, किसान र वन-जंगलका कुरा अनि अन्य जानकारीहरू लिएर। आज हामीसँग हुनुहुन्छ भूमिरमण नेपाल, लुमडी प्रसाद नेपाल र कुल बहादुर मगर…”

कुनै व्यावसायिक रेडियो कार्यक्रम सुनेझैं लाग्ने गरी यस्तै आत्मीय र परिपक्व शैलीमा सुरु हुन्थ्यो, धादिङको बसाहा अडियो टावरको साप्ताहिक प्रसारण। मोबाइल इन्टरनेटको त कल्पनै नगरौँ, सामान्य टेलिफोन सेवा लिनका लागिसमेत घण्टौँ हिँडेर सदरमुकाम धादिङबेँसी नै पुग्नुपर्ने त्यो कठिन समयमा यस्तो आधुनिक र जनमुखी सञ्चार अभ्यास सुरु हुनु आफैँमा एउटा ठूलो क्रान्ति र गौरवपूर्ण कडी थियो। नेपालमा सामुदायिक एफएम रेडियोको लहर आउनु र प्रविधिको विकास हुनुभन्दा करिब डेढ दशकअघि नै ग्रामीण सञ्चारको यो ऐतिहासिक अभ्यास धादिङमा भइसकेको थियो।

साविकको नीलकण्ठ गाविस (हाल नीलकण्ठ नगरपालिका) को बसाहामा वि.सं. २०५२ सालमा स्थापना भएको ’अडियो टावर’ अर्थात् सामुदायिक श्रवण तथा प्रसारण केन्द्रको इतिहास निकै रोचक र शिक्षामूलक छ। राष्ट्रिय सञ्चारको मुख्य माध्यम मानिएको रेडियो नेपालसमेत सबैतिर राम्रोसँग नसुनिने र भौगोलिक विकटताका कारण सूचनाको अनिकाल लागेको त्यो बेलामा बसाहामा सञ्चालित अडियो टावरले गाउँबस्तीहरूमा सञ्चारको उज्यालो छर्ने काम गर्दथ्यो। प्रत्येक हप्ताको शनिबार मात्र सञ्चालन हुने यो अडियो टावर त्यतिबेलाका स्थानीयका लागि ’गाउँको रेडियो नेपाल’ जस्तै बनेको थियो।

सञ्चार र प्रविधिको पहुँच शून्यप्रायः भएको त्यो कालखण्डमा वातावरण पत्रकार समाज नेपाल (नेफेज) को समन्वयमा ‘वन तथा वातावरण संरक्षण समाज धादिङ’ ले यस अडियो टावरको शुरुआत गरेको थियो। धादिङको माटोमा जन्मिएर देशैभरि वन संरक्षणमा अभियान चलाइरहेका अग्रज वन संरक्षक तथा वातावरण पत्रकार भूमिरमण नेपाल त्यतिबेला वातावरण पत्रकार समाज (नेफेज) को कार्यसमिति सदस्य हुनुहुन्थ्यो। उहाँकै मुख्य सक्रियता र नेतृत्वमा धादिङमा ‘वन तथा वातावरण संरक्षण समाज’ को स्थापना गरिएको थियो। उहाँसँगै बलराम अधिकारी, कुल बहादुर मगर र लुमडी प्रसाद नेपाल लगायतका स्थानीय अगुवाहरूको विशेष पहल र सक्रियतामा यो टावर सञ्चालनमा आएको थियो।

बसाहास्थित ’जराजुरी भवन’ बाट सञ्चालन हुने यस अडियो टावरको विषयवस्तु विशुद्ध रैथाने, गाउँबस्तीका सवाल र जनसरोकारका विषयमा केन्द्रित रहने गरेको थियो। यसले राष्ट्रिय राजनीतिभन्दा पनि सिधै गाउँलेको जनजीवनलाई छुने गर्दथ्यो। खेतीपातीका कुरा, कुन मौसममा के खेती गर्ने, बीउ कहिले र कसरी लगाउने, धान-मकै रोप्ने र गोडमेल गर्ने कुरादेखि लिएर गाउँमा कसको घरमा  भैँसी ब्यायो, कसले गोरु-भैँसी बेच्न खोज्दैछ भन्ने जस्ता नितान्त व्यावहारिक जानकारीहरूसमेत यसै टावरबाट प्रवाह हुने गर्दथ्यो। हावाहुरीले कसको खेतीबाली र फलफूल नष्ट गर्‍यो वा वनमा वृक्षारोपण कहिले गर्ने जस्ता सामुदायिक सूचनाहरू शनिबार यही अडियो टावरबाट सुन्न पाइने भएपछि बसाहाका बासिन्दा मात्र होइन, आसपासका मधुवन, डाँडागाउँ, ढोडेनी र सांखु लगायतका गाउँबस्तीका बासिन्दाहरू पनि रेडियो सुन्न निकै चाख राखेर कान थाप्ने गर्दथे। कतिपय गाउँवासीले त आफ्ना गाउँघरका विषय र समस्याहरू पनि प्रसारणमा जोडिदिनका लागि टोलीलाई अनुरोध गर्ने गर्दथे।

सूचना र समाचार मात्र होइन, यो अडियो टावर स्थानीय कला-संस्कृतिको संवर्द्धन गर्ने बलियो चौतारीसमेत थियो। टावरबाट स्थानीय कलाकारहरूका भजन, कीर्तन, सोरठी, झ्याउरे, ठाडो भाकाका गीत तथा असारे गीतहरू पनि प्रसारण हुने गर्दथ्यो। यसरी हप्तापिच्छे गाउँलेलाई फरक-फरक र मौलिक प्रस्तुति दिनु अडियो टावर सञ्चालकहरूको नियमित कार्य जस्तै भइसकेको थियो। अचम्मको कुरा त के छ भने, बसाहा अडियो टावरमा बजाइएका र रेकर्ड गरिएका यस्ता सामग्रीहरूलाई क्यासेटमा रेकर्ड गरेर अडियो टावरको आवाज नपुग्ने टाढा-टाढाका गाउँहरूमा लगी सुनाउने गरिएको पुराना दिनहरू सम्झँदै भूमिरमण नेपाल बताउनुहुन्छ।

वन तथा वातावरण संरक्षण समाजलाई यस्तो नौलो र सिर्जनशील कार्यक्रम सञ्चालन गर्न त्यतिबेला सल्लाह दिनेहरूमा पत्रकार राजेन्द्र प्रताप शाह, नवीन बन्धु पहाडी, मोहन कँडेल लगायतका स्थानीय व्यक्तित्वहरू हुनुहुन्थ्यो। उहाँहरूको निरन्तरको प्राविधिक एवं बौद्धिक सहयोग, अग्रज पत्रकार भारतदत्त कोइराला तथा गोपाल गुरागाईंहरूको विशेष प्रेरणा र नेफेजको प्राविधिक समन्वयले गर्दा नै वि.सं. २०५२ सालको त्यो कठिन समयमा यो अडियो टावर अर्थात् ‘गाउँको रेडियो’ चलाउन सम्भव भएको भूमिरमण नेपालको भनाइ छ।

अडियो टावर सञ्चालन भएकै ताका उहाँहरूकै अग्रसरतामा वन तथा वातावरणसम्बन्धी चेतनामूलक जानकारीहरू समेटिएको ’भित्ते पत्रिका’ समेत प्रकाशन हुने गर्दथ्यो। जिल्लाको मैदी सातदोबाटो, धादिङबेँसीको बीच बजारचोकको चौतारो र बसाहाको चोक लगायतका सार्वजनिक स्थलहरूमा टाँसिने उक्त भित्ते पत्रिकाको लेखन तथा सम्पादन मैदीका गोविन्द तिवारीले गर्ने गर्नुभएको थियो। सञ्चार र वातावरण संरक्षणको क्षेत्रमा भूमिरमण नेपालले खेल्नुभएको यही सक्रियता र योगदानको कदर गर्दै नेफेजले वि.सं. २०५१ देखि २०६२ सालसम्म उहाँलाई संस्थाको केन्द्रीय कार्यसमिति सदस्यमा निरन्तर समेटेको थियो।

सामुदायिक श्रवण केन्द्रको समग्र अवधारणालाई हेर्दा यो ऐतिहासिक रूपमा निकै रोचक छ। पञ्चायत कालमा २०२० सालको सेरोफेरोमा तत्कालीन गाउँ पञ्चायतहरूमा लाउडस्पिकर राखेर गाउँलेलाई रेडियो नेपाल सुनाउने गरिन्थ्यो, जसलाई ‘श्रवण केन्द्र’ भनिन्थ्यो। तर उहिलेको श्रवण केन्द्रमा केवल केन्द्रबाट प्रसारित कुरा मात्र सुन्न पाइन्थ्यो भने बसाहाजस्ता आधुनिक सामुदायिक श्रवण केन्द्रबाट समुदायका सदस्यहरूले आफैँले बोलेको, गाएको, वाचन गरेको समाचार र सिधै गाउँको सरोकारका स्थानीय विषयवस्तुहरू सुन्न पाउँथे। अंग्रेजी भाषामा ‘कम्युनिटी अडियो टावर’ भनिने यो प्रविधि धेरै मानिस भेला हुने ठाउँ वा बाक्लो बस्तीका घरका छाना, अग्ला खाँबा वा फलामे टावरमा चारैतिर फर्काएर ४-५ वटा लाउडस्पिकर जडान गरी सञ्चालन गरिन्थ्यो।

अन्तर्राष्ट्रिय रूपमा सन् १९७० को दशकमा ल्याटिन अमेरिकी देशहरूबाट सुरु भएको यो अवधारणालाई थाइल्याण्ड सरकारको कृषि मन्त्रालयले कृषि प्रविधिको विकास किसानसमक्ष पुर्‍याउन व्यापक प्रयोग गरेको थियो। नेपालमा पनि २०५२ सालमा पाल्पाको माडी फाँटमा महिला समूहहरूद्वारा घुम्ती अडियो टावर, २०५२ चैतमा मकवानपुरको पालुङमा ग्रामीण सञ्चार सेवा समाजद्वारा अडियो टावर, २०५४ असोजमा धनकुटाको डाँडाबजारमा ‘आकास’ समूहद्वारा, २०५५ मा सुनसरीको झुम्का र इलामको फिक्कलमा महिला समूहहरूद्वारा युनिसेफको सहयोगमा तथा २०५८ मा मकवानपुरको गढी र छतिवनमा अडियो टावरहरू सञ्चालन भएका ऐतिहासिक रेकर्डहरू छन्। यीमध्ये कतिपय स्थान, जस्तै पाल्पाको मदनपोखरा र मकवानपुरको पालुङमा, अडियो टावरको सञ्चालनबाट उत्साहित भएर नै पछि स्थानीयवासीले सामुदायिक एफएम रेडियोहरू स्थापना गरे।

यद्यपि, स्थानीयस्तरमा निकै लोकप्रिय बनेको र एफएम रेडियोको पूर्वाभ्यासका रूपमा रहेको यो अभ्यास लामो समय टिक्न भने सकेन। वि.सं. २०५२ सालदेखि मुलुकमा सुरु भएको सशस्त्र द्वन्द्वका कारण देशमा सुरक्षा संवेदनशीलता बढ्दै गयो। प्रशासनले लाउडस्पिकर र सार्वजनिक प्रसारणमा प्रतिबन्ध जस्तै लगाएपछि, सञ्चालनमा आएको झन्डै डेढ वर्षमै बसाहाको यो अडियो टावर सधैँका लागि बन्द हुन पुग्यो। पछि २०६१-२०६२ तिर देशमा राजनीतिक अस्थिरता र द्वन्द्व उत्कर्षमा पुगेपछि देशका अन्य भागमा चलेका अडियो टावरहरू पनि प्रायः सबै बन्द भए।

सञ्चार क्षेत्रमा आधुनिकीकरण र डिजिटल प्रविधिको प्रवेश भएसँगै यस्ता पुराना प्रविधि र माध्यमहरू अहिले पूर्ण रूपमा लोप भइसकेका छन्। आजको पुस्ताका लागि हिजोको सञ्चार अभ्यास यस्तो थियो भनेर सुन्दा निकै अनौठो र दन्त्यकथा जस्तो लाग्न पनि सक्छ। लामो समयको अन्तरालपछि देशैभरि र विशेष गरी धादिङ जिल्लामा सस्तो र सजिलो प्रविधिका साथ सामुदायिक एफएम रेडियोहरू र अनलाइन न्यूज पोर्टलहरूको तीव्र विकास भयो। सूचना सिधै हातहातको मोबाइलमा आउन थालेपछि सार्वजनिक रूपमा आवाज फैलाउने अडियो टावरको आवश्यकता र सान्दर्भिकता बिस्तारै घट्दै गयो र यसको इतिहास पनि समयको गर्भमा ओझेल पर्न पुग्यो। तर, भौगोलिक रूपमा विकट र स्थानीय समाचार सुन्ने-सुनाउने अन्य कुनै वैकल्पिक व्यवस्था नभएका दुर्गम ठाउँमा आज पनि यसको सैद्धान्तिक उपयोगिता घटेको छैन। धादिङ जिल्लाको पत्रकारिता, ग्रामीण सञ्चार र वातावरण आन्दोलनको जग कसरी बस्यो र यसलाई व्यवस्थित बनाउन इतिहासमा क–कसले कस्तो योगदान दिए भन्ने कुराको मूल्याङ्कन गर्दा बसाहाको अडियो टावर र यसका अभियन्ताहरूलाई भुल्नु इतिहासप्रतिको ठूलो अन्याय हुनेछ।