‘सुन्तले टापु’मा मासियो सुन्तला

1032 पटक पढिएको

सम्पादक: Dhadingnews.com

स्यादुल (धादिङ) : व्यावसायिक सुन्तला खेतीका लागि देशभरमै चर्चा कमाएको धादिङको धुषा गाविसस्थित स्यादुलमा केही वर्षयता सुन्तलाको बोट मर्ने क्रम बढेको छ। व्यावसायिक सुन्तला खेतीबाट आर्थिक स्तर सुधारेका यहाँका किसान अहिले चिन्तित हुन थालेका छन्।

२०३२ सालमा गाउँ घुम्न आएका लेनमार्क नामका पर्यटकले यहाँको हावापानी सुन्तला खेतीका लागि उपयुक्त भएको बताएपछि जिल्ला कृषि विकास कार्यालयको सहयोगमा स्यादुलका तीन सय परिवारले ५० हजार बिरुवा सुन्तला रोपेका थिए। उनीहरूले प्रतिपरिवार ५० देखि पाँच सय बिरुवा लगाएका थिए। बिरुवा रोपेको पाँच वर्षदेखि फल टिप्न सुरु गरेका यहाँका किसानले वार्षिक एक लाखदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी गरेको धुषा ९ का वीरेन्द्र पाण्डेले जानकारी दिए।

२०४० देखि २०५० सम्म स्यादुलमा सुन्तलाकै कारण वार्षिक चार करोड रुपैयाँ भित्रिएको पाण्डेले बताए। सुन्तलाबाट राम्रो आम्दानी लिन सफल भएका किसानको जीवनस्तर अन्य गाउँको तुलनामा राम्रो थियो। गाउँमा विद्युतीकरण नहुँदा वरपरका गाउँ अन्धकारमा हुन्थे। यहाँका किसानले भने सुन्तला बेचेर गाउँभरि सोलार जडान गरेको धुषाका अगुवा किसान रणबहादुर थापामगरले बताए।

सुन्तलाको उत्पादन राम्रो भइरहेकोमा २०५१ पछि घट्न थालेको र अहिले गाउँभरिमा २५ प्रतिशत बोट पनि बाँकी नरेहको स्थानीय किसान कृष्णप्रसाद सिलवालले बताए। जिल्लामै पहिलोपटक स्यादुलमा सबैजसो बासिन्दाले सुन्तला खेती सुरु गरेर सफलता पाएपछि गाउँको नामै ‘सुन्तले टापु’ बन्न पुगेको थियो। त्यही ‘सुन्तले टापु’ अहिले सुन्तलाको बोट सुकेर उराठलाग्दो बन्न पुगेको छ।

चार वर्ष अघिसम्म धुषामा सुन्तला पाक्ने समयमा आन्तरिक पर्यटकको घुइँचो हुने गरेकोमा अहिले पनि चहलपहल छैन। अझै पनि धुषाका ७, ८ र ९ नम्बर वडामा गरी वार्षिक करिब एक करोड रुपैयाँ सुन्तला खेतीबाट भित्रिने गरेको छ। वार्षिक पाँच लाख रुयैयाँसम्म आम्दानी लिएका किसान अहिले ५० हजारभन्दा कममा खुम्चिनु परेको धुषा ७ का लक्ष्मीप्रसाद सिलवालले बताए।

सुन्तलाको बोटमा रोग देखापर्न थालेपछि किसानले जिल्ला कृषि कार्यालय र वागवानी विकासका लागि काम गरिरहेका सरकारी तथा गैरसरकारी निकायलाई पटक पटक गुहारे। तर सहयोग नपाएको उनीहरूको गुनासो छ। ‘कृषि कार्यालयका प्राविधिकहरू सुन्तलामा भाइरस लाग्यो भन्छन्’, किसान थापामगर बताउँछन्।

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत होमराज बिष्ट स्यादुलमा सुन्तला खेतीमा देखिएको रोग पुराना बोटका जरासमेत नष्ट नगरेसम्म निको पार्न नसकिने बताउँछन्। बोटमा फैलिएको भाइरस नष्ट गर्न बिरुवा उखेलेर डढाउनुपर्ने बिष्टले बताए। सुरुमा किसानले फलिरहेको सुन्तलाको बोट मास्न नमान्दा समस्याले गम्भीर बनेको उनको भनाइ छ।

अन्नापोस्ट डट कम