धादिङमा ९९ प्रतिशत खेत अझै रोपाइँको पर्खाइमा

150 पटक पढिएको

१५ असार २०८३, सोमबार ०७:३० सम्पादक: धादिङ न्यूज

धादिङ । मानो रोपेर मुरी उब्जाउने मुख्य सिजन सुरु भइसक्दा पनि धादिङ जिल्लामा धान रोपाइँको अवस्था निकै सुस्त देखिएको छ।

जिल्लामा मनसुन भर्खरै सक्रिय हुँदै गरेको र कतिपय क्षेत्रमा किसानहरू सिँचाइको पर्खाइमा रहेका कारण अहिलेसम्म ९९ प्रतिशतभन्दा बढी धान खेत अझै रोपाइँ हुन नसकी बाँझै रहेका छन्।

कृषि विकास कार्यालय धादिङले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार जिल्लाको कुल खेतीयोग्य क्षेत्रफल ४८ हजार १३६ हेक्टर रहेकोमा ११ हजार १५९ हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ। जसमध्ये हालसम्म ९५ दशमलव ३९ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ सम्पन्न भएको छ, जुन कुल धान रोपिने क्षेत्रफलको शून्य दशमलव ८५ प्रतिशत मात्रै हो।

धान रोप्ने मुख्य समय घर्कन लाग्दा समेत जिल्लाका विभिन्न फाँटहरूमा लाठे र रोपाहारहरू परम्परागत असारे भाका गाउँदै रोपाइँमा जुट्न त थालेका छन्, तर सिँचाइको अभाव र ढिलो गरी सक्रिय भएको मनसुनका कारण रोपाईमा ढिला भएको हो । कृषि कार्यालयले भने असार १५ को धान दिवसपछि मनसुन थप सक्रिय हुने र सिँचाइको उपलब्धतासँगै रोपाइँले थप तीव्र गति लिने अनुमान गरेको छ।

रोपाइँको यो चटारोका बीच धादिङका किसानहरूले यस वर्ष पनि रासायनिक मलको चर्को अभाव र वितरणको सास्ती भोग्नुपरेको छ। नियमित अन्न उत्पादनबाहेक बाह्रै महिना बेमौसमी तरकारी खेती र व्यावसायिक कृषिमा व्यस्त रहने यहाँका किसानहरू सधैँभरि मुख्य सिजनमै मलको अभाव भोग्नुपर्दा हैरान भएका छन्। कृषि विकास कार्यालय धादिङका अनुसार जिल्लाभर वार्षिक रूपमा करिब १२ हजार मेट्रिक टन रासायनिक मल (युरिया, डीएपी र पोटास) आवश्यक पर्दछ। तर, सरकारी निकायहरू कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत वार्षिक करिब ४ हजार मेट्रिक टन मात्र मल आपूर्ति हुने गरेको छ, जुन कुल मागको आधाभन्दा पनि कम हो। यसरी सरकारी अनुदानको मल पर्याप्त नहुँदा किसानहरू निजी व्यापारीमार्फत महँगो मूल्यमा कमसल मल खरिद गर्न बाध्य छन्।

आश्चर्यको कुरा त के छ भने, धादिङ क्षेत्र नम्बर १ का सांसद आशिका तामाङ र उनका निकटका व्यक्तिहरुले मल पर्याप्त भएको दावी गर्दै समाजिक सञ्जालमा पोष्ट गरिरहेका छन ।  उनिहरुले मलको अभाव नभएको बताएपनि यतिबेला  किसानको खेतसम्म मल पुग्न सकेको छैन। कृषि सामग्री कम्पनी लिमिटेड, गजुरी शाखाका कार्यालय प्रमुख दीपक थापा मगरका अनुसार गजुरीस्थित गोदाममा हाल १० हजार ४८० बोरा युरिया, ४ हजार बोरा डीएपी तथा पोटास र कृषि चुन सुरक्षित अवस्थामा मौज्दात छ। गोदाममा मल सुरक्षित भए पनि वितरण प्रणालीको फितलो व्यवस्थाका कारण धान रोप्ने बेलैमा खेतमा मल हाल्न नपाउँदा किसानहरू निकै चिन्तित बनेका छन्।