सिद्धलेक गाउँपालिकामा मनपरी: उपभोक्ता समितिलाई पाखा लगाएर कोटेशनमार्फत कमिशन असुलिँदै

108 पटक पढिएको

२३ आश्विन २०८३, शुक्रबार ०६:२९ सम्पादक: धादिङ न्यूज

धादिङ – सिद्धलेक गाउँपालिकामा दसैँका लागि गरिने बाटो सरसफाइको विषयलाई लिएर सुरु भएको पालिका र वडा तहबीचको विवादले अहिले पालिकाको समग्र कार्यशैली र भ्रष्टाचारका काण्डहरूलाई सतहमा ल्याएको छ। वडाको अधिकार क्षेत्र खोसेर मनपरी गर्न खोजेको आरोप खेपेका गाउँपालिका अध्यक्ष परशुराम खतिवडामाथि आफन्त र भ्रातृ फर्महरूको प्रयोग गरी पालिकाका हरेक खरिद तथा निर्माण कार्यमा मोटो कमिशन असुलेको गम्भीर आरोप लागेको छ।

दसैँ बाटो मर्मतका लागि सिद्धलेक गाउँपालिकामा चलखेल सुरु भएको छ। चाडपर्व सुरु हुन लाग्दा पालिकाले उपभोक्ता समितिमार्फत काम नगराई सिधै कोटेशनका लागि सूचना प्रकाशित गरेको छ। हरेक वर्ष दसैँअघि बाटो सरसफाइका लागि बजेट तथा कार्यान्वयनको विषय विवादित बन्दै आएकोमा यस वर्ष प्रत्येक वडाले आफ्नो वडा बजेटबाट रकम कट्टा गरी दसैँ बाटो सरसफाइका लागि ५ लाख रुपैयाँ विनियोजन गरेका थिए। अधिकांश वडाले समिति गठन गरी बाटो सरसफाइको कामसमेत अगाडि बढाइसकेका छन्।

तर, पालिका अध्यक्षको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत अनिशा आचार्यले वडाको अधिकारमाथि हस्तक्षेप गर्दै असोज २० गतेको मिति राखेर सबै वडाका लागि एकैपटक कोटेशन आह्वान गरेको भन्दै वडा अध्यक्षहरूले आपत्ति जनाएका छन्। उपभोक्ता समितिले काम आधाभन्दा बढी गरिसकेको अवस्थामा पालिकाले पुनः कोटेशनमार्फत काम अघि बढाउन खोज्नुको कारण आफूले बुझ्न नसकेको वडा अध्यक्षहरूको भनाइ छ। पालिकाले अपनाएको यो प्रक्रियाबाट दसैँअघि नै बाटो सरसफाइको काम सम्पन्न गर्न कठिन हुने र वडाको क्षेत्राधिकारलाई बेवास्ता गर्दै ठेकेदारमार्फत काम गराउने प्रयास गलत भएको उनीहरूको आरोप छ।

यसै सन्दर्भमा, वडा नम्बर ७ का अध्यक्ष सानु गिरीले पालिका अध्यक्षले वडाको अधिकार र स्थानीय तहको कार्यप्रक्रियालाई सम्मान गर्दै सम्बन्धित वडालाई नै जिम्मेवारी दिएर दसैँअघि बाटो सरसफाइ सम्पन्न गर्नुपर्ने बताएका छन्। त्यस्तै, सिद्धलेक वडा नम्बर ३ का वडा अध्यक्ष देवबहादुर पुलामीले आफ्नो वडाको बजेट सिलिङभित्रबाट ७ लाख ५० हजार रुपैयाँ छुट्याइएको र असोज १२ गते नै उपभोक्ता समिति गठन गरेर १३ गतेबाट काम सुरु गरिएको बताएका छन्। योजना सम्झौता गर्न उपभोक्ता समिति पालिकामा जाँदा “आउनु पर्दैन, हामी पछि मिलाउँछौँ” भन्दै रोक्दै आएर अचानक सूचना निकालिएको र दसैँ बाटोको काम आधा भइसकेको अवस्थामा आफूहरू अचम्मित भएको उनको गुनासो छ।

पछिल्लो समय जनप्रतिनिधि र राजनीतिक दलहरूसँग कुनै समन्वय नगरि गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले हरेक काममा हस्तक्षेप गर्दै आएका छन्। पालिकाभित्रको निर्माण कार्यदेखि खरिद कार्यसम्म दाइ, भाइ, भतिजदेखि निकटका आफन्तहरूको फर्म प्रयोग गर्दै अध्यक्ष खतिवडा आफैँले ती काम गर्दै आएको आरोप छ। पछिल्लो पटक भतिजको फर्म प्रयोग गरेर अध्यक्ष खतिवडा आफैँले चीनबाट खरिद गरी ल्याएका ८६ वटा ट्याक्टर गुणस्तरहीन भएपछि यो विषय सार्वजनिक भएको थियो, जसलाई पछि फिर्ता गराएर हालै मात्र नयाँ ट्याक्टर खरिद गरी वितरण गरिएको थियो।

त्यसबाहेक, विद्यार्थीलाई दिइएको झोलादेखि आमा समूहलाई बाँडिएको पालसायर टेन्ट, सडकमा जडान गरिएको झिलिमिलि बत्तीदेखि सोलारसम्म अध्यक्ष खतिवडाले दोस्रो पक्षको फर्म प्रयोग गरी आफैँले खरिद गरेका थिए। गत आर्थिक वर्षमा पालिकामा दुईवटा भवन र गेट अगाडिको सडक ढलानको कामसमेत अध्यक्षले आफ्नै भाउजुको फर्म प्रयोग गरेर आफैँ गराएका थिए।

पालिकाभित्र बढ्दै गएको अनियमितता र भ्रष्टाचारका बारेमा समाचार लेख्ने पत्रकारहरूलाई सार्वजनिक मुद्दा लगाउनेदेखि विभिन्न माध्यमबाट ज्यान मार्ने धम्की समेत दिने काम हुने गरेको छ। पछिल्लो समय पत्रकार केशव अधिकारीलाई अध्यक्षको नाममा कुनै पनि समाचार लेखेमा परिवारसहितको ज्यान लिने धम्की आएपछि पत्रकार अधिकारीले आफूलाई  अत्यन्त असुरक्षित महसुस गर्दै आएका छन्।