परेवाटार–मास्टार सडक स्तरोन्नति गर्न सात दिनको अल्टिमेटम, माग पूरा नभए सडक बन्द गर्ने चेतावनी

60 पटक पढिएको

१३ कार्तिक २०८३, बिहीबार १६:४७ सम्पादक: धादिङ न्यूज

धादिङ । भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेँसी आवतजावत गर्ने मुख्य वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको परेवाटार–मास्टार सडक तत्काल स्तरोन्नति गर्न स्थानीयवासीले माग गरेका छन्। सडकको अवस्था सुधार, धुलो नियन्त्रण र सहज यातायातको व्यवस्था नगरिए कात्तिक १९ गतेदेखि सडक बन्द गरेर आन्दोलन गर्ने चेतावनी स्थानीयले दिएका छन्।

सिद्धलेक गाउँपालिका–७ पिपलटारमा कात्तिक १२ गते बसेको स्थानीयवासीको भेलाले सिद्धलेक गाउँपालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यालय धादिङ, जिल्ला प्रहरी कार्यालय धादिङ, सडक डिभिजन कार्यालय नुवाकोट र सिद्धलेक गाउँपालिका–७ को वडा कार्यालयलाई सम्बोधन गर्दै सडक स्तरोन्नति तथा तत्काल समस्या समाधानका लागि पहल गर्न आग्रह गरेको हो।

भोटेकोशी बाढीले फुर्केखोलाको पक्की पुल बगाएपछि परेवाटार-पिपलटार-आदमटार-बेलिनटार-मास्टार सडक धादिङबेँसीलाई पृथ्वी राजमार्गसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको छ। मुख्य सडक अवरुद्ध भएपछि यस मार्गमा सवारीसाधनको चाप बढेको छ। तर, सडक साँघुरो र कच्ची हुनुका साथै धुलोको समस्या बढेपछि स्थानीय बासिन्दा प्रभावित भएका छन्।

स्थानीयका अनुसार सवारीसाधनको निरन्तर आवागमनका कारण उड्ने धुलोले जनजीवन कष्टकर बनेको छ। सडक स्तरोन्नति नगरी सवारीसाधन सञ्चालन भइरहँदा स्थानीय बासिन्दा र यात्रुले सास्ती खेप्नुपरेको भन्दै तत्काल सडक सुधार गर्न माग गरिएको छ।

स्थानीयले सडक स्तरोन्नतिको काम सुरु गर्नुअघि धुलो नियन्त्रणका लागि नियमित पानी हाल्ने व्यवस्था मिलाउनसमेत माग गरेका छन्। सडकको अवस्था सुधार नगरी सवारीसाधनको चाप बढाउँदै लैजाँदा दुर्घटनाको जोखिमसमेत बढ्न सक्ने उनीहरूको चिन्ता छ।

यसैबीच, बाढीले बगाएको पुलको विकल्पका रूपमा  घाटबेँसीस्थित त्रिशूली नदीमा बेलिब्रिज निर्माण गर्न पनि स्थानीयले माग गरेका छन्। बाढीले बगाएका पुलमध्ये घाटबेँसीमा पुलको एकतर्फको भाग बाँकी रहेकाले त्यहाँ बेलिब्रिज निर्माण गर्न सकिने स्थानीयको भनाइ छ। बेलिब्रिज निर्माण सुरु हुनुअघि नै परेवाटार–मास्टार सडकको स्तरोन्नति र धुलो नियन्त्रणको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।

यसअघि पनि वैकल्पिक सडकको अवस्था सुधार गर्नुपर्ने विषय उठ्दै आएको थियो। बाढीपछि वैकल्पिक मार्ग सञ्चालनमा कठिनाइ हुँदा धादिङबेँसीमा खाद्यान्न, ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्तिसमेत प्रभावित हुंदै आएको छ । सडक मर्मतका लागि असोजमा पटक–पटक सवारी आवागमन बन्द गर्नुपरेको थियो।

स्थानीयवासीले कात्तिक १९ गतेसम्म माग सम्बोधन गरी सडक स्तरोन्नति, धुलो नियन्त्रण र बेलिब्रिज निर्माणसम्बन्धी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्। तोकिएको समयभित्र सुनुवाइ नभए परेवाटार–मास्टार वैकल्पिक सडक बन्द गरी आन्दोलनमा उत्रिने उनीहरूले चेतावनी दिएका छन्।

स्थानीयको यो चेतावनीसँगै धादिङबेँसी र पृथ्वी राजमार्गबीचको यातायात सहज बनाउन प्रयोग भइरहेको वैकल्पिक सडकको दीर्घकालीन सुधार र घाटबेँसीमा बेलिब्रिज निर्माणको विषय फेरि चर्चामा आएको छ।