फुर्केखोला र पिपलटारका पुल पुनर्निर्माणसहित सडक स्तरोन्नतिको माग राख्दै प्रजिअलाई ज्ञापनपत्र
9 पटक पढिएको
धादिङ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले पुल बगाएपछि वैकल्पिक सडक प्रयोग गर्न बाध्य स्थानीयले सडक स्तरोन्नति, पुल पुनर्निर्माण र धुलो नियन्त्रणको माग गर्दै जिल्ला प्रशासन कार्यालय धादिङमा ज्ञापनपत्र बुझाएका छन्।
२०८३ भदौ १० र १४ गते आएको आकस्मिक बाढीले सिद्धलेक गाउँपालिका–७ अन्तर्गत जरे–अमनटार र पिपलटार–घाटबेसी जोड्ने मोटरेबल पुल तथा धादिङ जिल्ला सदरमुकामसँग जोड्ने फुर्केखोलाको पक्की पुल बगाएपछि जिल्लाका आठ स्थानीय तहको राष्ट्रिय राजमार्गसँगको सहज सम्पर्क विच्छेद भएको थियो।
पुलहरू बगाएपछि धादिङबेसीलगायतका स्थानमा आवतजावत गर्न परेवाटार–पिपलटार–आँटमटार हुँदै मासटार जोड्ने सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको छ। तर साँघुरो र कच्ची सडकमा अत्यधिक सवारी चाप बढ्दा दैनिक घण्टौँ जाम हुने, धुलो र धुवाँका कारण स्थानीयवासीले सास्ती खेप्नुपरेको छ।
सडकको दयनीय अवस्थाका कारण मानव स्वास्थ्य, जनजीवन र वातावरणमा समेत प्रतिकूल असर परेको भन्दै स्थानीय उपभोक्ताहरूले तत्काल समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएका हुन्।
ज्ञापनपत्रमा पिपलटार–घाटबेसी जोड्ने मोटरेबल पुल तत्काल पुनर्निर्माण गर्न र त्यसको विकल्पका रूपमा बेलिब्रिज जडान गर्न माग गरिएको छ। त्यसैगरी परेवाटार–पिपलटार–आँटमटार हुँदै मासटारसम्मको सडकखण्ड स्तरोन्नति गर्न तथा स्थानीयको स्वास्थ्य र वातावरणलाई ध्यानमा राखेर सडकमा दैनिक पानी हाल्ने व्यवस्था मिलाउन माग गरिएको छ।
स्थानीय उपभोक्ताहरूले जिल्ला प्रशासन कार्यालय धादिङ, जिल्ला प्रहरी कार्यालय धादिङ, सडक डिभिजन कार्यालय नुवाकोट, सिद्धलेक गाउँपालिका र वडा नम्बर ७ को कार्यालयलाई समेत ज्ञापनपत्र बुझाउँदै समस्या समाधानका लागि समन्वय र पहल गरिदिन आग्रह गरेका छन्।
ज्ञापनपत्रमा उल्लेख गरिएका मागहरू २०८३ असोज १९ गतेसम्म सुनुवाइ नभए स्थानीय उपभोक्ताहरू आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिइएको छ।
बाढीले पुल बगाएपछि लामो समयदेखि वैकल्पिक सडकको भरमा यात्रा गर्नुपरेको र साँघुरो सडकमा बढेको सवारी चापले स्थानीयको दैनिक जीवन नै प्रभावित भएको भन्दै उपभोक्ताहरूले सम्बन्धित निकायसँग तत्काल काम अघि बढाउन माग गरेका छन्।







