कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय दिउँसो ४ बजेसम्म मात्रै

7 पटक पढिएको

१६ कार्तिक २०८३, आईतवार २१:३१ सम्पादक: धादिङ न्यूज

काठमाडौँ ।कात्तिक १६ गते देखि आगामी तीन महिनासम्म देशभरका सरकारी कार्यालयहरू दिउँसो ४ बजेसम्म मात्रै सञ्चालन हुने  छन्। गृह मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार जाडोयामलाई लक्षित गर्दै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्मका लागि कार्यालय समय समायोजन गरिएको हो।
नयाँ व्यवस्थाअनुसार साताको पाँच दिन (सोमबारदेखि शुक्रबारसम्म) सरकारी कार्यालयहरू बिहान ९:०० बजे खुलेर अपराह्न ४:०० बजे बन्द हुनेछन्। यसअघि कात्तिक १५ गते सम्म सरकारी कार्यालयहरू बिहान ९:०० बजेदेखि साँझ ५:०० बजेसम्म सञ्चालन हुँदै आएका थिए। नयाँ समयतालिका लागू भएसँगै दैनिक कार्यसमय एक घण्टा घट्ने भएको छ।
हिउँदको मौसममा दिन छोटो हुने र साँझ ५ बज्दा झमक्कै अँध्यारो पर्ने भएकाले सेवाग्राही र कर्मचारीको सहजताका लागि सरकारले हरेक वर्ष जाडोयाममा यसरी समय समायोजन गर्दै आएको छ।
यसैगरी, सरकारले इन्धन बचत गर्ने उद्देश्यले गत चैत २२ गतेको मन्त्रिपरिषद् बैठकबाट हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। सुरुमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजताका कारण यो नियम ल्याइएको भए पनि सरकारले हालसम्म यसैलाई निरन्तरता दिँदै आएको छ।
कात्तिक १६ देखि लागू हुने यो नयाँ समयतालिका आगामी माघ १५ गतेसम्म यथावत रहनेछ। त्यसपछि भने पुन: पुरानै समयअनुसार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यालयहरू सञ्चालनमा आउनेछन्।