चाहेर पनि जोगी बन्न नसकेका क्षितिज

815 पटक पढिएको

सम्पादक: Dhadingnews.com


Rameshकुनै एक समय यस्तो थियो कवि रमेश क्षितिजलाई यो साँसारिकताबाट टाढा गएर जोगीको जीवन निर्वाह गर्ने कल्पनाले सताउँथ्यो । स साना सामान्य कुराहरुमा खुशी संगालेर हिड्ने क्षितिज साधारण सपना बोकेर हिडेको एउटा मानिस भएको बताउँछन । तर समयले उनलाई स्थापित गराएको छ, परिचित बनाएको छ ।

अझैपनि जिन्दगीको जोगी मोह मनको कुनै कुनामा बोकेर हिडेका रमेश जीन्दगीले जहाँ जहाँ लगेर उभ्याइदियो त्यहीँबाट हिड्न खोजे, सजिलो बाटाहरुको खोजीमा भौतारिएनन् । तर अप्ठ्याराहरुले झन सहज बनाईदियो उनको कविता लेखन यात्रालाई । राजधानीमा छ उनको बसोबास छ तथापि उनलाई यहाँको भीडभाड मन पर्दैन ।

यो चकाचौध र भीडभाडभन्दा पर रहस्यमय र शान्त आफ्नो छुट्टै दुनियाँ भएको बताउने रमेशलाई उनको कविता संग्रह ‘घर फर्किरहेको मानिस’ले धेरै आत्मीय र प्रिय मानिस भेटाईदिएझै लाग्छ । उनी भन्छन् ‘सबैभन्दा सुन्दर र पवित्र हृदयका मानिसहरु मेरा लागि तिनीहरु थिए जसले मेरो नामको फ्यान क्लब नै खोलेर कार्यक्रमनै आयोजना गरे, प्रेम, सम्मान र आत्मीयता दिए ।’

रिठ्ठा काटेर बनाएका कौडा खेल्ने रमेशको वाल्यकालको प्रिय खेल गुच्चा र खोपी थिए । गुच्चामा कहलिएका खेलाडी रमेश ४५ मिनेटको स्कुले बाटो साथीहरुसँग गुच्चा खेल्दै जान्थे । हातभरीको धूलोले गुच्चा खेलेको प्रमाणित गरेर सजायको भागी हुनु परेपनि उनी गुच्चा खेल्न छाड्दैनथे ।

इजार घुसार्ने ठाउँमा वा झोला उधारेर गोप्य सुरुङ बनाएर गुच्चा लुकाएर हिड्ने उनलाई सधै समयले साथ दिदैनथ्यो । जुन दिन उनका बाबुले उनलाई अब गुच्चा नखेल है छोरा भन्थे त्यही दिन उनी एउटा सिङ्गै कपीका पाना गुच्चामा हारेर घर फर्किन्थे । सधै ढ्याक पैसा हुँदैनथ्यो बाजी राख्नलाई । गुच्चा छुँदैनछो है आजदेखि भनेर बुबाले भन्दा खेल्न छाडेर पुरै ध्यान पढाइ, लेखाइतिर लगाएको बताउँदै नयाँ कापी च्यापेर स्कुल गएका रमेश क्षितिजले वाल्यकालको एक समय पुरै कापी गुच्चामा हारेर फर्किएका कारण आफ्ना बुबाको कारबाही भोग्नु परेको थियो । वाल्यकालको स्मरण गर्दै उनी भन्छन् ‘बाटोमा कापीको पाना बाजी राखेर खेल्दै हिँड्दा स्कुल पुग्दासम्म आधा बाँकी रह्यो हारेर । स्कुलमा पढाएको भन्दा मेरो ध्यान कतिखेर स्कुल छुट्छ र जितेर पाना फकाउँला भन्ने चिन्तामा बित्यो । खेल्दै फर्कदा त्यो दिन दाउले यसरी धोका दियो कि हार्दाहार्दा म रुन्चे त्रसित अनुहार र ‘सोले’ लेखिएको बाहिरी पाना मात्र लिएर घर फर्के । नसोध्नोस कसरी मर्मत भयो मेरो ।’

Ramesh2

सल्यानमा जन्मिएर आफ्नो बाल्यकाल दाङमा बिताएका उनी सानै देखि कविता लेख्थे । उनको मानसपटलमा कक्षा ४ पढ्दा पहिलो चोटी कविता लेखेको धमिलो सम्झना छ । कक्षा ६ मा पढ्दा नाटक लेखे । त्यसपछि स्कुलमा निरन्तर निबन्ध, कविता प्रतियोगितामा  भाग लिन थालेका रमेश कुनै पनि अतिरिक्त कार्यक्रममा भाग लिन छुटाउँदैनथे । गुँरुहरु उनको लेखनको प्रशंसा गर्थे जुन प्रशंसाले उनलाई सधैभरी लेखिरहन प्रेरित गर्थ्यो।
जीवन सपनामय, कलापूर्ण र अर्थपूर्ण भैदियोस भनेर सोचीरहने उनलाई जीवन साह्रै सुन्दर लाग्छ । जीवनमा आईपर्ने दुःख, पीडा, अभाव र संघर्षले जीवनलाई रहस्य र सौन्दर्यपूर्ण बनाउने उनको तर्क छ । आफूलाई अनन्तयात्रामा हिडेको बटुवा महशुस गर्ने रमेशले जीवनका उकालीओराली, बिसौनी र चौतारीहरुमा थुप्रै घामछायाँहरुसँग सहयात्रा गरे कयौ मानिसहरुलाई भेटे अनि जीवनको कुनै मोडमा ती घामछायाँ र मानिसहरु छुटिएर गए उनीभन्दा पर अन्त कतै तर कहिले छाडेन उनलाई कविताले । कविता र गीतका हरफसँगै सहयात्रा गरिरहने रमेशलाई जीवन आफैभित्रको यात्रा झै लाग्दो रहेछ । उनी जीवनसँग गम्भिर हुदै भन्छन्, ‘आशोको सम्झना हुन्छ, लाईफ इज इनटरनल पिल्ग्रिमेज, देयर इज नो गोल इटइज अ पियर जर्नी । अनेक जीवन पाए पनि बुझिनसक्नु छ एक बारको जीवन ।’

1512468_787991777883757_1664951735_nकविता मार्फत विशेष आशा, उत्साह, प्रेम र सपनाहरु लेख्न चाहने उनलाई उनका कविताले मानिसका निरासा र दुःखमा साथ दिउन भन्ने लाग्छ । आफ्ना कविताले मान्छेको असल मित्र बनेर रुँदा  आँसु पुछिदिदै जीवनको उज्यालो बाटो नबिर्स भनेको सुन्न चाहने उनी भन्छन्, ‘ कविता होस् रमण महर्षिको मौनता जस्तो केही नभनेर सबै भनिने वा माओत्से जस्तो रहस्यमय, जतिनै पढे पनि प्रत्येकपल्ट नयाँ होस् अनुभूति ।’ उनलाई मानिस वा कविता मन पर्नु र पराईनुलाई किन भनेर पुष्टी गर्न गाह्रो लाग्छ यसर्थ कि भावना हिसाब होइन ।

मधुरो स्वरमा गीत बजाएर लेख्न, पढ्न वा यसै पल्टिनुमा जीवनको आनन्त भेट्ने क्षितिजसँग परीक्षाका बेला पनि गीत सुनेर राति अबेरसम्म पढेको सम्झना छ । नेपाली साहित्यको पछिल्लो प्रवृत्ति अझ बढी आकर्षक र बहुल भएको बताउने रमेशलाई आफ्नो संस्कृति स्वभाव र जीवनपद्धति प्रतिबिम्बित हुने लेखनले आफ्नो बेग्लै पहिचान दिएझै लाग्छ । साहित्यले पाठकहरु निर्माण गरिरहेको पछिल्लो समयमा लेखनमा मौलिकता, विविधता र नवीनता मर्नु नहुने उनको बुझाई छ ।

उनको साहित्यिक तथा सागीतिक यात्रा त्यति सहज भने थिएन । रेडिायोका गीत सुनेर छोरो बिग्रन्छ भनेर बुबाले रेडियो समेत सुन्न अवरोध गरेपछि राती सुत्ने बेलामा सिरक मुनिरेडियो  लुकाएर सुन्ने उनलाई आजसम्म तिनै गीतहरुले साथ छाडेका छैनन् । चेतनाको विकास नहुँदासम्म भौतिक विकास दिगो हुँदैन भन्ने क्षितिज चेतनाको विकास फैलाउन साहित्यमा लम्किएको बताउँछन् । २०५० सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रिय आधुनिक गीत प्रतियोगितामा उत्कृष्ट गीतकारका रुपमा पुरस्कृत भए, त्यसले उनको सांगीतिक यात्राले थप उँचाई लिएको हो ।

    ‘नमाग मसँग सहारा नमाग,
    भुइँमा छु म आकाशका जुनतारा नमाग’
यो गीतले आफ्नो सफलताको सुरुवात गराएको सम्झने क्षितिजले त्यअधि पनि राष्ट्रिय वालगीत प्रतिभा पुरस्कारबाट पुरस्कृत भइसकेका थिए । तथापि उनको वास्तबिक सांगीतिक यात्राको सुरुवात यहि गीतले गराएको हो । ‘तिर्खाएको काकाकुल सरी भएँ, अनायासै उठी तिमी हिडे पछि म औइलिएको फूल सरी भए ,कुनै नमीठो मूलसरी भए, अनायासै तिमी हिंडेपछि’ उनको पहिलो पटक रेडियो नेपालबाट बजेको गीत हो यो । यो गीतसँगै सुरु भएको उनको सांगीतिक गुञ्जनमा अहिले ‘घरै राम्रो ठूल्दाजु, परेलकिो वर्षातले, कमलो मुटु, बेग्लै भए बाटाहरु, आधि ज्यान यही मेरो, तिमी भन्छ्यौ जिन्दगी यो कठिन छ’ लगाएतका १०० भन्दा बढी गीत रेडियो टेलिभिजनबाट गुञ्जन्छन् । उनलाई उनको साहित्यीक जीवनमा त्यती बेला सबैभन्दा धेरै खुशी लागेको थियो जतिबेला उनको रचना पहिलो पटक उनी काठमाण्डौं आएको ३ वर्षपछि मधुपर्कमा छापिएको थियो । त्यो दिन उनलाई साहित्यीक यात्राको ठुलै विजय हासिल गरेझैं भान भएथ्यो रे । अहिले त्यो दिन सम्झदा उनलाई अनौठो लाग्छ ।Ramesh_Kshitij

‘अर्को साँझ पर्खेर साँझमा’, २०५७, कविता संग्रह प्रकाशित गरेका  क्षितिजको यहि कविता संग्रहको दोस्रो मुद्रण २०६९ सालमा छापियो। २०६९ सालमा ‘घर फर्किरहेको मानिस, प्रकाशनमा आयो । यो कविता संग्रह पनि प्रकाशनमा आएको ४ महिनामा दोस्रो र २०७० सालमा तेस्रो संसकरण बजारमा आयो । २०६३ सालमा ‘आफै आफ्नो साथी भए’ गीतिसंग्रह बजारमा ल्याएका क्षितिजले २०६८ सालमा ‘क्षितिज’ गीतिसंग्रह बजारमा ल्याए ।

२०५१ सलमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा प्रथम भएका  रमेशले २०६८ सलमा राप्ती साहित्य पुरस्कार,  राप्ती म्युजिक अवार्ड, २०६९ , मोहन स्मृति सम्मान २०६८ नेपाल सरकारले प्रदान गर्ने उत्कृष्ट निजामती पुरस्कार २०६९ , स्थानीय विकास अवार्ड लगायतका पुरस्कार तथा सम्मान हात पारेका छन् ।

सूचना प्रविधिको विकाश संगै अध्ययनशीलतामा कमि आएको महशुस गरेका क्षितिज शुभेक्षुकहरुलाइ अध्ययनशीलतालाई निरन्तरता दिन आग्रह गर्छन ।

प्रस्तुती:- राधिका अधिकारी

ईएननेपाल डट कम बाट