स्थानीयको पहलमा पशुउपचार

839 पटक पढिएको

सम्पादक: Dhadingnews.com

राजन सिलवाल
सल्यानटार,- धादिङ सल्यानटारमा एकासाताका विच १६ भन्दा बढी गाईभैँसी मरेपछि स्थानीय वासिन्दाको पहलमा घरमा पालिएका पशुहरुलाई उपचार प्रक्रिया सुरु गरिएको छ ।
कुमाल र दराइ समुदायका घरमा पालिएका गाई भैसी अज्ञात रोगका कारण भकाभक मर्न थालेपछि स्थानीय बासिन्दाको पहलमा उपचार सुरु गरिएको हो । जनशक्ति र औषधीको अभाव देखाउँदै पशु सेवा कार्यालयले उपचारमा ढिलाइ गरेपछि स्थानीयको पहलमा पशु सेवा उपकेन्द्र सल्यानटारसंग समन्वय गरी खोप अभियानलाई चैत्र २२ गतेबाट सञ्चालन गरेको छ । आफ्ना घरका पशुलाई रोगबाट जोगउन प्रति पशु २५ रुपियाँका दरले रकम संकलन गरी उपचार गरिएको स्थानीय सन्तमान दराईले जानकारी दिनुभएको छ । मरेका र विरामी पशुहरुको लक्षण हेर्दा चरचरे र भ्यागुते रोगको आशंकामा भ्याक्सिन दिन सुरु गरिएको पशु चिकित्सक वरुण मण्डलले जानकारी दिनु भएको छ ।
पहिलो चरणमा सल्यानटार गाविसका ९, ८ लागयतका वडाका ५ हजार गाई भैँसीलाई  भ्याक्सिन लगाइने सल्यानटार गाविस सहायक टिका कँडेलले जानकारी दिनु भएको छ । भ्याक्सिन कार्यक्रमलाई गाविसले ४२ हजार अनुदान दिने निर्णय गरेको कँडेलले बताउनु भयो ।
छोटो समयमा नै धेरै पशु मरेको र बाँकी पशुलाई सुरक्षित राख्ने अभियानमा खोप लगाउँदा पशुहरुमा औषधीका कारण नै समस्या आउँदा हुन सक्ने दुर्घटना न्युनिकरणका लागि स्थानीयले सहयोग मागेकाले पशुसेवा कार्यालयले प्राविधिक सहयोग मात्र गरेको जिल्ला पशु सेवा कार्यालयका प्रविधिक वरुण मण्डलले बताउनु भयो । घरमा पालिएका गाई वस्तुलाई समय अनुसारका खोपहरु आवश्यक हुने र समयमै यस्ता खोपहरु लगाउने प्रवन्ध राज्यले मिलाइ दिए सामान्य पशुपालक किसानहरु मर्कामा नपर्ने सल्यानटारका ज्ञानेन्द्र कडेल बताउनु हुन्छ ।