किसानहरु व्यवसायिक अर्गानिक तरकारी उत्पादनमा

545 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, -अर्गानिक तरकारी तथा फलफूलको माग सर्वत्र हुन थालेपछि धादिङका तरकारी उत्पादक किसानहरु व्यवसायिक रुपमा अर्गानिक तरकारी उत्पादन गर्न थालेका छन् । केही वर्षयता धादिङ जिल्लाका किसानमा रासायनिक मलको प्रतिकूल प्रभावबारे जनचेतना बढ्दै गएकाले प्रांगारिक मलको प्रयोग गरी तरकारी खेती गर्ने लहर चलेको हो ।

किसानहरुले तरकारीको फललाई किरार चराबाट जोगाउन विषादीको सट्टा वैकल्पिक उपाय अपनाउन थालेका छन् । रासायनिक मल तथा विषादीको प्रयोगबाट तत्काल आय–आर्जन लिन सकिने भएपनि किसान र उपभोक्तामा गम्भीर स्वास्थ्य समस्या देखिएपछि खेती गर्ने शैलीमा परिवर्तन गरेको किसानहरु बताउँछन् ।

अर्गानिक खेतीको पहिचान हुन नसकेकाले बिक्री गर्न भने समस्या भएको किसानहरु बताउँछन् । सरकारले अर्गानिक तरकारी र फलफूलको प्रमाणीकरण गरिदिए खेती तथा व्यापार सहज हुने किसानहरुको भनाइ छ ।

अर्गानिक खेती बढेपछि रासायनिक मल तथा विषादीका लागि विदेशिने रकम बचाउन सकिने र किसान तथा उपभोक्ताको स्वास्थ्य सुधार आउने अपेक्षा गरिएको छ । काठमाडौं उपत्यकामा मागको करिब ३० प्रतिशत तरकारी धादिङ जिल्लाले पूर्ति गर्दै आएको छ ।

यहाँ उत्पादित तरकारी उपत्यका बाहिरका विभिन्न जिल्लामा समेत जाने गरेको छ । पछिल्लो समयमा चरौंदी, सलाङ, केवलपुर, गोगनपानी र छत्रेदेउराली गाविसका किसानले आफ्नो खेतवारीमा रासायनिक मल र विषादीको प्रयोग गर्न छाडेका छन् ।