राप्रपाको केन्द्रिय उपाध्यक्षमा धादिङका बुद्धिमान तामाङ चयन

1162 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

20160218_101125दुई राप्रपा एकीकरण भएर बनेको एकीकृत राप्रपाको केन्द्रिय उपाध्यक्षमा  धादिङका  बुद्धिमान तामाङ चयन हुनु भएको छ । मंसिर २९ गते बसेको राप्रपा केन्द्रिय समितिको बैठकले तामाङलाई उपाध्यक्षमा चयन गरेको हो ।

यस अघि  तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टीको उच्चस्तरीय केन्द्रीय कार्य सम्पादन समितिका सदस्य हुनुहुन्थ्यो । राप्रपा र जनशक्ति पार्टीबीच एकता हुनु अघि उहाँ जनशक्ति पार्टीको महामन्त्री हुनुहुन्थ्यो । राप्रपा र जनशक्ति  पार्टी मिलेर बनेको राप्रपामा पनि तामाङ महामन्त्री नै हुनुहुन्थ्यो ।

विक्रम सम्वत २०१० सालमा धादिङको सेर्तुङ १ बोराङमा जन्मेका बुद्धिमान तामाङ पञ्चायत र बहुदलकालमा पटक–पटक मन्त्री बन्ने मध्येका एक नेता हुनुहुन्छ । राजनीतिमा लागेको पाँच वर्षमै तामाङ राष्ट्रिय पञ्चायत सदस्य र मन्त्री बन्नुभयो ।

२०३८ सालमा चुनाव जितेर सहायक मन्त्री बनेका तामाङ ०४३ सालमा फेरि चुनाव जितेर मरिचमान सिंह श्रेष्ठ नेतृत्वको सरकारमा पूर्ण अधिकार सहितको सामान्य प्रशासन मन्त्री हुनुभयो । बहुदल आएपछि ०४८ सालमा चुनाव लडेर हारेपनि तामाङ ०५१ र ०५६ मा निर्वाचित हुनुभयो र मन्त्री बन्नुभयो । तर ०६४ र २०७० को संविधान सभा निर्वाचनमा तामाङ धादिङ क्षेत्र नम्बर १ बाट पराजित हुनुभएको थियो ।

बहुदल र ०६१ मा तत्कालीन राजाले शासन लिँदा उहाँ गृहमन्त्री, कृषि, विज्ञान तथा प्रविधि, भूमिसुधार, भौतिक योजना, जनसंख्या तथा वातावरण,उद्योग, वाणिज्य तथा आपूर्ति बन्नुभयो । धारजम र उर्पाश्या तामाङका छोरा बुद्धिमान   साधारण परिवारमा हुर्किएका व्यक्ति हुन् । तामाङले गाउँको विद्यालयमा ५ कक्षासम्म अध्ययन गरे । त्यसपछि उनले काठमाडौंमा बसेर  आफ्नो पढाईसँगै राजनीतिमा लागेका तामाङले राजनीतिमा आफुलाई अब्बल रुपमा चिनाउँदै २६ वर्षकै उमेरमा सहायक मन्त्री को जिम्मेवारी सम्हालेका थिए । सात पटक मन्त्री बनेका बुद्धिमानले समाजशास्त्र र  अर्थशास्त्रमा स्नातक गर्नुभएको छ ।धादिङबाट विभिन्न राजनैतिक पार्टीमा कृयाशिल  मध्ये तामाङ सबैभन्दा धेरैपटक मन्त्री र  उच्च तहमा पुग्ने पहिलो व्यक्ति हुनुहुन्छ । 
राजनीतिक यात्रा
बुद्धिमानको राजनीतिक यात्रा यसरी नै भयो भन्ने ठ्याक्कै समयरेखा छैन । यद्यपी उनको परिवार पनि राजनीतिसँग जोडिएको हुँदा जन्मै उनको रगतमा राजनीति थियो भनेर अनुमान भने सहजै गर्न सकिन्छ । काठमाडौं आएर शान्ति विद्याकुञ्ज माविमा पढ्न थाले । त्यसबेलामा विद्यालयमा कुनै भातृसंगठन थिएनन् । कक्षाको लिडर, विद्यालयको लिडर भन्ने चाँही हुने गर्दथ्यो । उनी पनि कक्षाको हुँदै विद्यालयकै लिडर बने । अर्थात अध्यक्ष भए । यसबेलादेखि नै उनमा नेतृत्वको क्षमता विकास भएको मान्न सकिन्छ ।
कम्युनिष्ट पृष्ठभूमीमा हुर्किएका बुद्धिमान पञ्चायतमा आएर सक्रिय राजनीति गर्न थाले । यद्यपी त्यसबेला कम्युनिष्टलाई छोड्दै पञ्चायत व्यवस्थालाई स्विकार्नेको लर्को नै थियो । ०३६ सालको विद्यार्थी आन्दोलपछि जनमत संग्रह भयो ।

०३८ सालमा धादिङ जिल्लाको बालिक मतधिकार प्रतिनिधिमा बुद्धिमान विजय भए । यसपछि उनले राजनीतिमा छलाङ मार्दै गए । उनले २६ वर्षकै उमेर सहायकमन्त्री भए । अहिले पनि सबैभन्दा सानो उमेर मन्त्री बन्ने व्यक्ति भनेर इतिहासको पानामा उनको नाम छ ।