धादिङकी चेलीको विश्व किर्तिमान – बिमला भन्छिन्, ‘देशको नाम राख्न पाउँदा खुसी छु’

757 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Bimalaकाठमाडौं, २० असोज । कोरियाको इन्चोनमा सम्पन्न १७औं एसियाली खेलकुद प्रतियोगिता नेपालका लागि निरासाजनक रह्यो । प्रतियोगितामा नेपालले मात्रै एक पदक जित्न सक्यो ।

पदक तालिकामा नाम नै नअटाउने अवस्था आइसकेको थियो, तर व्यक्तिगत खर्चमा कोरिया पुगेकी धादिङकी बिमला तामाङले कास्य पदक जित्दै नेपाललाई पदकबिहीन हुनबाट जोगाईन् । बिमला आइतबार स्वदेश फर्किएकी छिन्, तर राज्यले अझैसम्म उनलाई उपेक्षा गरिरहेको छ । न त विमानस्थलमा राज्यकोतर्फबाट कसैले स्वागत गरे, न फर्किएपछि कुनै सरकारी अधिकारीले उनलाई बधाई दिएका छन् । सोमबार अपराह्न नेपालीको न्यूजले सम्पर्क गर्दा बिमलाले अहिलेसम्म राष्ट्रिय खेलकुद परिषद् तथा अन्य कुनै सरकारी निकायले आफूलाई सम्पर्कसमेत नगरेको बताईन् । ‘मलाई अहिलेसम्म उहाँहरु कसैले सम्पर्क गर्नुभएको छैन, उनले भनिन्, ‘तर पदक जितेर देशको नाम राख्न सकेँ यसमै खुसी लागेको छ ।’ उनले अघि थपिन्, ‘राज्यले केही नगरेपनि गुरु (ध्रुबविक्रम मल्ल, प्रमुख प्रशिक्षक, बालाजु कराते डोजो)ले लगानी गरेर कोरिया पठाउनु भयो, अहिले राज्यका लागि केही गर्न पाउँदा खुसी छु ।’ पदक जितेर आउँदासमेत कसैले वास्ता गरेनन् नि कस्तो लाग्यो भन्ने प्रश्नमा उनले भनिन्, ‘आइदेको भए हुन्थ्यो, तर केही छैन, अझै पनि देशको नाम राख्नको लागि खेलिरहन्छु ।’ अरु देशको झण्डा फहराउँदा आफ्नो देशको झण्डा पनि फहराउन पाएको भए कस्तो हुन्थ्यो भनेजस्तो लाग्ने गरेको अनुभव सुनाउँदै उनले भनिन्, नेपालको झण्डा फहराउन पाउँदा एकदमै खुसी लाग्यो ।’

राज्यको तर्फबाट करौडौं खर्चिएर इन्चोन यात्रा तय गरेका खेलाडीहरु पदकबिहीन बन्दै स्वदेश फर्किए । तर, अरु खेलाडी कोरिया पुगिसक्दा प्रशिक्षक मल्ल बिमलासहित केही खेलाडीलाई इन्चोन पठाउन आर्थिक जोहो गर्नमा व्यस्त थिए ।

धादिङको सेम्जोङमा जन्मिएकी बिमलालाई प्रशिक्षक मल्लले फ्रि स्कलरसिपमा कराते सिकाउँदै आएका छन् । साथै उनकै सहयोगमा बिमला रेर्डन कलेज सामाखुसीमा कक्षा ११ मा पढ्छिन् ।

उनका बुबा कृष्णबहादुर तामाङ वैदेशिक रोजगारीका लागि मलेसियामा छन् भने, आमा धनमाया काठमाडौंमा उनीसँगै बस्छिन् । बिमलाकी एक बहिनी पनि छिन्, उनी सिद्धार्थ बनस्थली स्कुलमा कक्षा ८ मा पढ्छिन् ।

करातेको काटातर्फ एसियाका ३२ ए ग्रेडका रेफ्रिमध्ये एक हुन् मल्ल । उनको बालाजु कराते डोजो नेपालकै एकमात्र एकेडेमी भएको मल्ल बताउँछन् । उनले उत्पादन गरेका खेलाडीहरु विभिन्न विभागीय टोलीकातर्फबाट कराते खेल्छन् ।

बिमलाले कैलालीको धनगढीमा सम्पन्न छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेकी थिइन् । पिएलए क्लबका तर्फबाट खेलेकी बिमलाले फाइनलमा हराएकी चञ्चला दनुवारलाई राखेपले एसियाडमा सहभागी गराउन खोजेको थियो ।

तर, राखेपको निर्णयको बेवास्ता गर्दै अन्तर्राष्ट्रिय मान्यताप्राप्त कराते महासंघले बिमलालाई सहभागी गराउने निर्णय गर्यो । चञ्चलालाई प्रतियोगितामा सहभागी गराउने भन्दै राष्ट्रिय मान्यताप्राप्त कराते महासंघले छनोट गरेको थियो ।

महासंघकै सिफारिसमा उनलाई दक्षिण कोरिया जानुअघि वैदेशिक प्रशिक्षण दिएर कोरियामा बस्ने, खाने र खेल्ने प्रबन्ध सरकारले मिलायो । त्यति नै बेला बिमला प्रशिक्षक ध्रुबविक्रम मल्लको खर्चमा दक्षिण कोरिया पुगिन् । उता करातेकै अन्य खेलाडीहरु भने जापानमा प्रशिक्षण लिएर कोरिया पुगेका थिए ।

– नेपालीको न्युज डट कमवाट