मालपोत कार्यालय धादिङका नायब सुब्बा नेपाल मृत फेला

717 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

nasuजिल्ला मालपोत कार्यालय धादिङका नायब सुब्बा राधाकृष्ण नेपाल मृत अवस्थामा फेला परेका छन्। विगत १० दिनदेखि बेपत्ता रहेका नासु बेनिघाट रोराङ गाउँपालिकाको खटौती खोलास्थित त्रिशुली नदीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ।

१० दिन अघिदेखि परिवार र मालपोत कार्यालयको सम्पर्कमा नरहेका नेपालको खोजीको लागि आइतबारमात्रै नेपालकी श्रीमतीले श्रीमानको खोजी गरिपाऊँ भन्दै जिल्ला प्रहरी कार्यलय धादिङमा निवेदन दिएकी थिइन।

त्रिशुली नदीमा मानिसको शव तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले शव नदीबाट निकालेपछि मात्रै उक्त शव हराइरहेका राधाकृष्णको नै हो भनेर पुष्टि भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। शवलाई पोष्टमार्टमको लागि गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय गजुरीले जानकारी दिएको छ।

केही समयअघिदेखि अख्तियारले मालपोत कार्यलयको फाइल अनुसन्धान गरेपछि नेपाल निलम्बनमा परेका थिए। डिप्रेसनका बिरामी नेपालले औषधी सेवन गरिरहेको पनि पारिवारिक स्रोतले जनाएको छ। विराटनगर घर भएका नेपाल विगत लामो समयअघिदेखि जिल्ला मालपोत कार्यालय धादिङमा कार्यरत थिए।