घोडचढी नाच संरक्षण र प्रवद्र्धनका अनुभूतिहरू

276 पटक पढिएको

प्रकाशित मिति: ४ बैशाख २०७१, बिहीबार ०४:५३

सम्पादक: Dhadingnews.com

1098209_10201167019074195_839049309_n                                     –  गोपाल फ्युवा तामाङ

उठान वृहत कृषि, पर्यटन र औद्योगिक व्यापार मेला २०७० मा उत्कृष्ट झाँकीको पुरस्कार र प्रमाण पत्र पाए पछि केही सांस्कृतिक जल्लादहरूको प्रश्न व्यक्तिगत रुपमा मलाई तेर्सिन आयो, “सामान्य उफ्राइमा पुरस्कार पाउँदा बडो खुशी देखिन्छ नी ?” विगत केही वर्षहरूदेखि लगातार तामाङ जातिको ऐतिहासिक महत्त्व बोकेर पनि लोपोन्मुख अवस्थामा रहेको घोडचढी नाचलाई प्रवद्र्धनको लागि सक्रिय एक अभियन्ताको हिसावले उक्त सबालको सम्बोधन गर्नु दायित्व हो । यस नाचको बारेमा भोगेका, अध्ययनमा भेटाइएका र अनुसन्धानमा पुष्टि भएका कुराहरू विभिन्न सञ्चार माध्यम मार्फत जानकारी पाइएको छ । अहिलेको लोकप्रियता हासिल गर्न त्यति सहज र सरल थिएन जुन बेला भर्खर घोडचढी नाच पनि एक गज्जवको नाच हुन सक्छ भनिरहँदा जातिय राजनिति गर्नेहरू नै नाक खुम्च्याउदै थिए । अभियानको सुरुवात २०६३ असोजमा भयो । तामाङ संस्कृति अनुसन्धान विभागको नाममा एक समूह घोडचढी नाचको खोज अनुसन्धानमा लागिरहेको थियो । त्यसको केही समय पश्चात प्रतिवेदन पेश गरी पत्रपत्रिकामा समेत लेख छापियो । २०६४ माघ १६ गते शहिद दिवसको अवसर पारेर व्युर्चेतमा घोडचढी नाचको प्रदर्शन गरियो । त्यसबेला स्थानीय रेडियोले प्रत्यक्ष प्रसारण गरेको थियो भने पत्रपत्रिका र टेलिभिजनमा समेत समाचार बन्यो । उत्साहित त्यो टोली धादिङ महोत्सव, ल्होछार कार्यक्रमहरूमा समेत प्रदर्शन गरियो । लगातार यहाँ र वहाँ गरेर दुई दर्जनभन्दा बढी ठाउँमा प्रदर्शन गरियो । DSC03383अवसर र संयोग यसपटक २०७० सालको त ल्होमा विशेष प्रदर्शन गर्न छेची पर्वको समेत आयोजना गरियो । छेचीमा अरू चेमासँगै घोडचढी नाच पनि पर्दछ । वृहत कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला २०७० मा घोडचढी नाच उत्कृष्ट रह्यो । त्यसपछि काठमाण्डौंमा प्रदर्शन गरियो । एकै टोली लगातार तिन फरक फरक स्थानमा नाचियो । राष्टिय अन्तराष्टिय सञ्चार माध्यममा स्थान पायो । यो वर्ष त ल्हो हो । तामाङहरूले बाह्र वर्षको एक चक्रलाई ल्हेकोर भनिन्छ । बाह्र ल्होलाई विभिन्न पशुपंक्षीद्वारा बुझाइन्छ त्यस मध्येमा यस वर्ष घोडा वर्ष हो । यस पटक साल्मे, किम्ताङ, ब्युर्चेत, वलागङ, सल्लेरी, धादिङवेंसी र काठमाडौंमा गरी सात ठाउँमा घोडचढी नाच नाचिसकेको छ । अझै धेरै ठाउँमा चाजो पाजो मिलाउदै छन् । यसले गर्दा आजको स्थितिमा आइपुग्दा घोडचढी नाच एउटा झाँकी मात्र नभएर सांस्कृतिक नाच पनि हो भन्ने पुष्टि भएको छ । आखिर किन संरक्षण गरियो त ? धादिङवेंसीमा नाचेर असिनपसिन भएका कलाकार साथीहरूलाई पानी खुवाउन चिनजानको एक मित्रलाई अनुरोध गर्दा उनले आखिर बुरूकबुरूक उफ्रेर के मज्जा आउछ र यस्तो कष्ट गरेको भन्ने प्रश्नले आवेग भरियो । पछि सोचे जसको चेतना जति छ उति सोच्ने न हो । कसैलाई यो अनुकरणीय लाग्छ भने कसैलाई बेकार । रेडियो धादिङले गरेको स्रोता सर्वेक्षणमा अनुकरणीय भन्ने मान्छे धेरै भए । लोकतन्त्रमा बहुमतको कदर गरिने हुनाले अल्पसङ्ख्यकले जे भने पनि आखिर सुरुवात राम्रो भयो भन्ने धेरैको विचार हो । तैपनि किन संरक्षण गरियो त ? प्रश्न गम्भिर छ । अहिले पहिचानको समय हो । हिजोका दिनमा झै एक पहिचानमा रमाउन सकिएन अन्तत वहु पहिचानको खोजीमा छन् । आदिम युगका राज्यविहिन मानिसहरू देशको नाममा विभक्त भए । विश्वको नजरमा अनेक देश, देशको नजरमा अनेक जात, भाषा, संस्कृति हुदै जात भित्र पनि अलग र छुट्टै पहिचान खोजीको चेतना अहिलेको जनमानसमा दियो । त्यस परिप्रेक्ष्यमा तामाङ जातिमा पनि तपुस्यप (घोडचढी नाच) एउटा पहिचानको विषय हुन सक्छ भन्ने ठहर हो । SAM_0364घोडचढी नाचमा पुर्खाहरूले लडाइ लडेको जिवन्त अभिनय मात्र गरिदैन त्यहाँ नुन र चामल पनि साटेर मेलमिलाप गरिन्छ । यसले उत्पादनको सन्दर्भ पनि जोडिन आउछ । इतिहासमा वर्णण भए अनुसारका नेपाल तिब्बत विचका युद्घमा तामाङ पनि सहभागी थिए भन्ने प्रमाण पनि हो किनकी गोरखइ ग्यल्बो र ल्हसइ देव भनेर सम्बोधन गरिन्छ । त्यो मात्र नभएर लामाले छ्यङ्छ्योत् गर्ने, क्र्याकी बाँध्ने लगायत तयारीमा पनि तामाङ मौलिकता छ । अझ नाच र बाजाको ताल अन्य कुनै नृत्यसँग मेल खाँदैन । त्यतिमात्र नभई वार्तामा प्रयोग गरिने भाषा वैदिक तामाङ भाषा हो जसले सम्पूर्ण तामाङको प्रतिनिधित्व गर्न सक्छ । अर्को कुरा यो वीर रसमा आधारित नाच, बाजा र गायन पनि भएकोले आकर्षक पनि छ । तिन पटकको युद्घ र वार्तालाई हेरेर लडाइ र झै झगडाले समस्या समाधान हुन सक्दैन । वार्ताको माध्यमबाट सम्झौता गरेर मात्र मेलमिलाप र दिगो शान्ति तर्फ लम्कन्छ भन्ने गूढ सन्देश पनि छिपेको हुन्छ । के छ त महत्त्व ? घोडचढी नाचसँग ऐतिहासिक, जातिय, भाषिक, सामाजिक, धार्मिक, साहित्यिक र आर्थिक महत्त्व जोडिएको छ । सन् १७८८÷८९, सन् १७९१÷१७९२ र सन् १८५५÷१८५६ मा भएका नेपाल र तिब्बत युद्घ र त्यससँग जोडिएका किम्बदन्ती कहावतहरू जोडिएका छन् । जातिय रूपमा तामाङहरूलाई मासिने मतुवाली भोटे जे भनेर राज्यले हेपाहा नीति अङ्गाले पनि तामाङहरू आफ्नो राज्यप्रति अगाध माया गर्थे यसको संरक्षनार्थ प्राणको समेत आहुती दिन तयार थिए भन्ने अर्को पुष्टि हो । यसमा प्रयोग गरिने भाषा वैदिक तथा लेख्य तामाङ रहेको छ । यसमा नाच, अभिनय, बाजा र गायन समेत हुने हुनाले साहित्यिक महत्त्व पनि रहन्छ । साथै लामाको प्रयोग धार्मिक हिसावले मान्न सकिन्छ । युद्घमा व्रिगति प्राप्त गरेका वा दाहसस्कार नपाएर भड्कीरहेका मृतात्माहरूले शान्ति मिल्दछ तथा रोग व्याधि नष्ट हुन गइ समाजमा सुख र सम्बृद्घि मिल्न जान्छ । अहिलेको समाजमा यी विभित कृयाकलापको राम्रो संयोजन गरी सञ्चालन गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन भई आर्थिक समुन्नति प्राप्त गर्न सक्नेछ । अब के गर्ने त ? निरन्तर सहयोग र सद्भावले घोडचढी नाच संरक्षण समिति उत्साहित भएको छ । स्थानीयस्तरमा मात्र नाचिने घोडचढी जिल्लामा पुग्लान् र प्रशंशा पाउलान् भनी तामाङ एलिट भनाउँदाले पनि सोचेकै थिएन । असहयोगको पर्खाल खासगरी अन्य जातिको भन्दा तामाङ कै बढी थियो । तैपनि ती सबलाई माथ लगाउन अनुसन्धानकर्ता, सञ्चारकर्मी, प्रशासन र सहयात्रीहरूको साथले सक्षम भएको छ । यस पटक अन्तराष्ट्रिय रुपमा चासो ब्यक्त गरेका छन् । बृत्तचित्र मार्फत तत् तत् ठाउँमा पुर्याउने हाम्रो प्रयास रहनेछ । अहिले घोडचढी नाचिने स्थानको पहिचान गरी नाचमा एकरुपता ल्याउने प्रयास भइरहेको छ । घोडचढी नाच संरक्षण समितिलाई व्यापक बनाइ गोष्ठी सञ्चालन गर्ने तर्फ ध्यान मोडिएको छ । माग बढ्दै गएकोले नयाँ पुस्ताका कलाकार निर्माणको लागि पनि तयारी गर्नुपर्ने छ । अपेक्षा अहिलेसम्मको सहयोगको लागि धन्यवाद दिदै आगामी कदमहरूमा पनि साथ, सहयोग र सल्लाहको अपेक्षामा सदैव रहिरहने छ । मैझारू उठान सजिलो भए पनि मैझारू त्यति सहज छैन । हाम्रो अभियानले सातौं वर्ष पूरा गरी आठौंमा प्रवेश गरेको छ । यस अवधिमा घोडचढी नाचकोबारेमा एउटा साझा अवधारणा बनेको छ । यसलाई सफलताको एक कडी मानिएको छ । ब्युर्चेतमा सुरु गरेको अभियानले सबैलाई केहीगर्न झकझकाएको छ । अझै धेरै खोज अनुसन्धान र पुष्टि गर्न बाँकी छ । अबको केही वर्षमा यसको थप लोकप्रीयताको लागि धेरै जना लाग्ने छन् । (घोडचढी नाच संरक्षण समितिका संयोजक फ्युबा तामाङ लोकसाहित्यका अध्यता पनि हुन् ।)



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

४ बैशाख २०७१, बिहीबार ०४:५३ मा प्रकाशित

समाचार

सबै

धादिङमा १२९ जनाका लागि खुल्यो जागिर (सूचना सहित )

धादिङ ।तपाई बेरोजगार हुनुहुन्छ र कामको खोजीमा लागि रहनु भएको छ भने धादिङको १३ वटै स्थानीय तहका लागि धेरै जना कर्मचारीको माग भएको छ । भुकम्प पिडितहरुको लागि भवन निर्माण कार्यमा आर्थिक तथा प्राविधिक सहयोग.....

राष्ट्रिय झण्डा घर, अफिसदेखि गाडीमा समेत राख्न पाइने

काठमाण्डौं -विश्वमै आफ्नो छुट्टै पहिचान बोकेको नेपालीको शान राष्ट्रिय झण्डा विगतका सरकारी कार्यालय र सरकारी.....

राष्ट्रियसभाबाट राष्ट्रिय परिचयपत्र विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाबाट राष्ट्रिय परिचयपत्र विधेयक राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ पारित.....

बीआरआई विश्वसँग नेपाललाई जोड्ने महत्वपूर्ण ढोका

काठमाडौं, - नेपालको विकासका लागि विश्वसँग जोडिने सहज मार्ग खोल्नुपर्ने आवश्यकतामाथि विभिन्न विज्ञहरुले जोड.....

विप्लव माओवादीलाई धक्का, जिल्ला सेक्रेटरी पक्राउ

धादिङ, १ असोज – प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेकानेत्र विक्रम चन्द नेत्तृत्वको नेकपाका धादिङ जिल्ला.....

Categories