पहिलो प्रेम

733 पटक पढिएको

प्रकाशित मिति: २०७१, १ फाल्गुन शुक्रबार १५:१८

सम्पादक: धादिङ न्यूज

 

 

मस्त के.सी.

शुभेच्छा सुबेदी महेन्द्र मा.वि. कक्षा ७ को नयाँ विद्यार्थी । घर प्यूठान रामपुर गाविस वडा नं २ ।

म पनि उक्त स्कुलको नयाँ नै हो तर मेरो गाऊँ यही भएकोले एकाध साथी बाहेक सबै चिनजानका नै थिए । स्कुलको पहिलो दिन नै शुभेच्छा र मेरो बोलचाल भएको थियो । आजभोलिको जस्तो केटाकेटी सँगै बस्ने चलन थिएन । केटीहरुसँग त काम परे मात्रै बोलिन्थ्यो । वर्षौ वर्ष सँगै पढेका केटी साथीहरुसँग पनि बोलिदैनथ्यो ।

संयोग हो वा के, शुभेच्छाको परिवार बस्ने र हाम्रो पसल एउटै घरमा थियो । हाम्रो घर भने त्यही नजिकैको गाँऊमा । उनको बुवाको सरकारी जागिर प्यूठानबाट सल्यान सरुवा भएकाले शुभेच्छा पनि उनको बुवा सँगसँगै आएकी थिइन । स्कुल सुरु हुनु भन्दा २र४ दिन पहिले नै हाम्रो भेट भईसकेको थियो । त्यसैले पनि स्कुलको सुरु–सुरुको दिनमा उनको साथी म मात्रै थिए भन्दा पनि हुन्छ ।

हामी आउँदा जाँदा प्राय सँगै हिड्न थाल्यौं । अहिले त सम्झदा पनि रमाइलो लाग्छ । स्कुलबाट एक्लै एक्लै निस्कने अलि पर पुगेपछि भेट्ने अनि फेरी घर पुग्नै लाग्दा फेरी एक्लै एक्लै जाने । प्राय सँगसँगै देखेर होला साथीहरुले पनि हाम्रो नाम एकअर्कोसँग जोड्न थालेका थिए । खुसी नै लाग्थ्यो साथीहरुको मुखबाट उनको नाम सुन्दा ।

९ कक्षाको पढाई सुरु भएको करिब १ महिनापछि शुभेच्छाको बुवाको बर्दियामा सरुवा भयो । वुवा सँगै शुभेच्छा पनि गईन । स्कुल छोडेर गएपछि केही थाहा भएन उनको बारेमा । सायद बर्दियामा नै पढिन होला । आजभोलिको जस्तो मोबाईल, फेसबुक केही थिएन । चिठीपत्र अनी बजारमा एक दुई वटा पिसिओ बाहेक सञ्चारका अरु साधन केही पनि थिएनन् ।

    शुभेच्छालाई मैंले प्राय सम्झन थाले । उनको नाममा निकै चिठी लेखे । धेरै गजल लेखे उनलाई नै सम्झेर तर पठाउने ठेगाना थिएन । रेडियो निकै सुन्थे त्यसैले रेडियो नेपालका धेरै कार्यक्रम मार्फत उनलाई सम्झन्थे, एस लाई सुनाउन चाहन्छु भनेर धेरै गीतहरु रोजेर पनि पठाउथे । मनले त शुभेच्छा नै लेखेर पठाउँ जस्तै हुन्थ्यो तर त्यस्तो आँट भने कहिल्यै आएन् । रेडियोमा गजल कबिता त कति पठाए कति एसको लागि भनेर । तर उनले सुनिन वा सुनिनन त्यो भने कहिल्यै पनि थाहा भएन । या त सुनेर पनि उनले, मैले उनकै लागि लेखेको भनेर बुझिनन् । त्यो किशोर अवस्थामा गरेको प्रेम साँच्चै निश्चल, निष्कपट र निकै चोखाे थियो । जे होस जिन्दगीमा पहिलो पटक मायाको अभाव महसुस भयो मलाई ।

करिब ५ वर्षपछि संयोगले बानेश्वरको एक क्याफेमा भेट भयो । उनी नै हुन जस्तो लाग्यो तर बोलाउन सकिन । निकै बेर हेराहेर भयो । उनी आफैं अघि सरिन् र भनिन् “तपाई रिजर्ब हो ?” म हाँसे र सिधै भने शुभेच्छा‘‘‘।

बेलुकी ७ बजेतिर मोबाइल भाइब्रेट भयो । हेरे शुभेच्छाको म्यासेज आएको रैछ‘ हाई, के गर्दै हो ? खाना खायौ ? आज तिमीलाई भेटेर निकै खुसी लाग्यो । रिएल्ली आइ एम सो ह्याप्पी, ओके टेक कियर, सि यू सुन ।

एक पटक पढेर चित्त बुझेन पटक–पटक दोहो¥याएर म्यासेज पढे । अनी रिप्लाई गरे‘ हेलो खाना खाँदै छु । तिमी के गर्दै नि ? म नि निकै खुसी छु । धेरै पछि भेट भयो । थ्याङक्स फर एसएमएस । किप इन टच । सि यू सुन‘

सुत्नेबेला पनि उनले पठाएको म्यासेज पढे । हुनत अरु केटी साथीका म्यासेज पनि आउथे आफूले पनि पठाउथे । तर किन शुभेच्छाको यो म्यासेज घरी घरी पढ्न मन लाग्यो । आफैंलाई थाहा छैन् ।

त्यसपछिका दिनमा हाम्रो नियमित फोन अनि म्यासेज आदान प्रदान हुन थाल्यो । घेटघाट पनि बाक्लीदै गयो । यसरी भेटघाट गर्दा गर्दै एक वर्ष बितेको पत्तै भएन । अब पढाइको शिलशिलामा हामी केही वर्षको लागि छुट्टिदै थियौं ।

जानु भन्दा अघिल्लो दिन मेरो कोठामै भेट भयो । कुरा गर्दै जाँदा उनका आँखा रसाउन थाले । आँशु तपतप चुहिए । किन रोईन मैंले केही बुझ्नै सकिन । पहिलो पटक अंगालो हाले उनलाई । सपिङ्ग हिडेकी मान्छे दिनभरी मसँग बसिरहिन् । फर्कदा बंगलामुखी, कृष्ण मन्दिर हुँदै मंगलबजार पुगेर केहि किनमेल गरिन् । टि—सर्ट भने मलाई नै रोज्न लगाईन ।

राति निकै छटपटी भयो । उनकै मात्र याद झलझली आइरह्यो । खोई के हो यो सोच्दा पनि अचम्म लाग्छ । न उनले कहिले भनिन् मलाई माया गर्छु भनेर न मैंले नै कहिल्यै भने उनलाई । तरपनि अव्यक्त रुपमा हामी मनैदेखी एक अर्काको भइसकेका थियौं ।

करिब १२/१५ दिनको अबधिमा फोन गर्थिन उनले । यही बिचमा रेडियोमा पत्रकारिता गर्न थाले । अलि व्यस्त पनि भए । बिहान कलेज दिउँसो रेडियोको काम । यसरी नै दिनहरु बित्दै गए । करिब २ वर्षपछि उनी काठमाडौं फर्किइन् । केही दिनको लागि ।

काठमाडौं आएको भोलिपल्ट मलाई फोन गरिन भेटौं भनेर । नयाँ बानेश्वरको उही क्याफेमा भेट भयो । निकै फरक देखिएकी थिइन दुई वर्षको अन्तरालमा । केही काली अनि निकै दुब्ली पनि । धेरैपछि भेटेर होला सायद नौलो अनुभुव भयो । पैसा उनले नै तिर्ने गर्छिन । मैंले तिर्छु भन्दा निकै जिद्धी गर्छिन । क्याफेबाट बाहिर निस्केपछि कस्तो घर जानै मन लागेन भनिन । के गर्ने त एकछिन मेरोमा जाँउ न त भने । उनी केही बोलिनन । हाँसिन मात्र । फेरी भने ल हिड न त जाँउ । धेरै साथीहरुले मलाई कम बोल्ने भन्छन तर शुभेच्छा मेरो भन्दा पनि कम बोल्छिन् ।

दुई चारदिन बितेको पत्तै भएन । त्यसपछि फेरी उनी पढाईकै सिलसिलामा मसँग छुट्टिइन् । अब त उनको बिहेको सम्पूर्ण तयारी पुरा भइसकेको थियो । तैपनि उनलाई भेट्नको लागि म नेपालगञ्ज जाने भए ।

महेन्द्र राजमार्गको दाउन्ने सडक खण्डमा रातको करिब १ बजे तिर बस आफ्नो गन्तब्यमा पुग्नलाई निकै जोडले हुँईकिएको थियो । बसमा बजिरहेको भिडियो पनि बन्द भयो । सबैजना यात्रु निदाएका थिए सायद । मलाई भने निक्कै छटपटी भईरहेको थियो । पानी पर्न थाल्यो । रातको यात्रामा पानी परेको मलाई असाध्यै मनपर्छ । तर आज निकै नरमाईलो महसुस भएको छ । गीत सुन्न मन लाग्यो मोबाइलमा गीत बजाए तिम्रै माया लाग्छ कसम‘ फेरी सुन्न मन लागेन बन्द गरे । बाहिर निकै ठूलो झरी परिरहेको छ । खोई के भयो मन थाम्नै सकिन । एक्कासी बर्सियो । त्यो मौसम र मेरो मन उस्तै भए । दुबै एकै तरिकाले बर्सिरहे केहीबेर सम्म । जिन्दगीमा पहिलोपटक कसैको यादमा अनी मायामा मन यसरी बहकियो । यतिकैमा‘मोबाइल भाईब्रेट भयो । शुभेच्छाको फोन थियो ।

    बिस्तारै बोले ‘ हेलो
कहाँ हो ?
बुटवल पुग्न लागे
ए हो । कति ढिला त ?
तिमीलाई लागेको मात्रै । गाडी त छिट्टै आएको छ नी ।
ए ल ल चाँडै आउ है ।
घरिघरी फोन आईरहेको थियो ।
दाङ्गको लमही पुगेपछि मोबाइलले ब्याट्री लो देखाउन थाल्यो ।

लमहीबाट ब्याट्री लो देखाउन थालेको मोबाइलले अमिलिया सम्म टिक्यो त्यसपछि अफ भयो । शुभेच्छाले कति फोन गरिरहेकी छन् होला । एकचोटी मोबाईल अफ हुँदैछ भनेको भए नि हुन्थ्यो नी । बिचरी के सोच्दै छिन् होला रु मनमा अनेक कुरा खेल्न थाले । फेरी उनले हिजो मात्रै लिएको एनसेलको नम्बर पुरै राम्रो सँग याद पनि छैन् । निकै बेर उनको नम्बर सम्झने प्रयास गरे । अमिलियाबाट कोहलपुर पुग्न २ घण्टाको यात्रा पार गर्न मलाई निकै छटपटि भयो । सायद शुभेच्छालाई पनि उता त्यस्तै भयो होला । उनको मनमा पनि के के कुरा खेलिरहेका होलान । शुभेच्छालाई मोबाईल अफ हुँदैछ नभनेकोमा निकै पछुतो लाग्यो ।

नेपालगञ्ज बसपार्क आईपुग्यो । गाडीबाट ओर्ले सोच्दै थिए, कुनै होटेलमा चिया खाँदै मोबाईल चार्ज गर्नुपर्ला । यताउती हेर्दे गर्दा बसपार्कको गेटमै शुभेच्छालाई देखे ।

करिब ३ वर्ष पछि हाम्रो यो भेट भएको थियो । त्यो पनि बिछोडिने भेट ।

हिड्दा हिड्दै जिन्दगी यस्तो मोडमा आइपुगेको छ की न यहाँ दाँया मोडिने ठाँउ छ न बाँया न त अगाडि नै जाने ठाँउ छ । यही बसिरहने अवस्था पनि छैन् । जिन्दगीको यो मोड पार गर्न निकै कठिन छ । साँच्चै मुटुमा बसेको मान्छे मुटु भन्दा निकै प्यारो हुने रहेछ । न आफुसँगै राख्न मिल्ने न पराईलाई सुम्पने सकिने ।

गह्रै मन लिएर फर्के । आँखाबाट धरररररर आँसु खसे । काठमाडौं फर्कने गाडी चढे । मोबाइल निकाले अनि एउटा गजल लेखेर पठाए‘।

जीन्दगीमा भेटिने अब चोक नआओस
मैं मरेर गएनी तिमीलाई शोक नआओस
सधैं खुसी भाको तिमी हेर्न चाहान्छु केवल
दुःखको सानो कतै थोक नआओस् ।

यो कथा केही समय अगाडी http://www.pipalneta.com/np मा प्रकाशित भइसकेको छ ।

 



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७१, १ फाल्गुन शुक्रबार १५:१८ मा प्रकाशित