कतारमा नेपाली कामदारको सुरक्षामा ध्यान दिन आग्रह

636 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं : प्रधानमन्त्री सुशील कोइरालाले नेपाल भ्रमणमा आएका कतारका श्रम तथा सामाजिक मामिला मन्त्री डा. अब्दुल्लाह बीन साहिह अल खुलाफीसँग नेपाली कामदारको सुरक्षा र स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरेका छन्।
जोखिमपूर्ण काम गर्नुपर्ने भएकाले कामदार मर्नेक्रम बढेको र खानेबस्ने ठाउँको उचित प्रबन्ध नहुँदा विभिन्न रोग देखापरेको तर्फ संकेत गर्दै त्यहाँ गएका कामदारको सुरक्षा र स्वास्थ्य अवस्थाका बारेमा कतार सरकारले विशेष ध्यान दिन प्रधानमन्त्रीले आग्रह गरेका हुन्।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको भेटमा मन्त्री खुलाफीले नेपाली कामदारको स्वास्थ्य र सुरक्षा बारे कतार विशेष सजग र सतर्क रहेको बताएका श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिएको छ।
यसअघि श्रम तथा रोजगार मन्त्रालयमा भएको छलफलमा खुलाफीले नेपाली कामदारको बिमा, स्वास्थ्य उपचार तथा खानबस्नको उचित प्रबन्ध गर्न कुनै पनि कन्जुस्याईं नगरिने बताएका थिए।
खानेबस्ने उचित व्यवस्था नभएको, चर्को घाम र जोखिमपूर्ण काम गर्नुपरेकाले दैनिक औसतमा दुई जना नेपाली कामदारको हृदयघातका कारण मृत्यु हुने गरेको  छ। 
बिचौलियका कारण कतार जाने कामदारले चर्को शुल्क तिर्नुपरेकाले दुवै देशको संयुक्त पहलमा बिचौलिया नियन्त्रण गरी कामदारलाई नि:शुल्क पठाउने व्यवस्था गर्न प्रधानमन्त्री कोइरालाले आग्रह गरे। भेटमा दुई देशबीचका आर्थिक तथा सामाजिक सम्बन्धका बारेमा समेत छलफल भएको थियो।
सन् २०२२ मा हुने विश्कप फुटबल प्रतियोगिताका लागि कतारमा विदेशी कामदारको माग बढ्दो छ। रंगशाला, सकड, मेट्रोलगायत पूर्वाधार निर्माणका काम अहिले त्यहाँ धमाधम भइरहेको छ।
पश्चिमा सञ्चारमाध्यमले कतारमा काम गर्ने नेपाली कामदारको अवस्था दयनीय रहेको समाचार सम्प्रेषण गर्दैआएका छन्।
खानेबस्ने उचित व्यवस्था नभएको, चर्को घाम र जोखिमपूर्ण काम गर्नुपरेकाले दैनिक औसतमा दुई जना नेपाली कामदारको हृदयघातका कारण मृत्यु हुने गरेको खबर आएका छन्।
मन्त्री खुलाफीले कतारमा रहेका एजेन्जीलाई पनि कामदारको सेवासुरक्षामा ध्यान दिन निर्देशन दिइने जानकारी गराए।
विश्वकपको तयारीका लागि भौतिक पूर्वाधार विस्तारमा हजारौं कामदार आवश्यक परेकाले अझ धेरै नेपाली कामदार उपलब्ध गराउनसमेत उनले श्रम तथा रोजगार राज्यमन्त्रीसँग अनुरोध गरेका छन्।