अध्यक्ष पद ताकेपछि पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यतानै हट्यो विद्यादेवी भण्डारी बारेको निर्णयमा एमालेका तीन नेताको असहमति

327 पटक पढिएको

७ श्रावण २०८२, बुधबार ०६:११ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । पार्टीको आगामी महाधिबेशनमा अध्यक्ष पदको उम्मेदवार वन्न लागेको चर्चा चलेपछि नेकपा एमालेको केन्द्रिय कमिटीको वैठकले बिद्यादेवी भण्डारीको पार्टी सदस्यता नविकरण रोकेर राजनितिमा आउन रोक्ने निर्णय गरेको छ ।

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा आउन नमिल्ने निर्णय गरेको छ ।  मंगलबार राति केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पुर्व राष्ट्रपति भण्डारी राजनीतिमा फर्किन नमिल्ने निर्णय गराएर  पूर्व राष्ट्रपति बिद्यालाई पार्टीबाट बाहिर राख्न सफल भएका हुन् ।

अध्यक्ष ओलीले बैठकको निर्णय सुनाउदै भने-‘पूर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन, मिल्दैन ।’ ओलीले पार्टीको विधानको ८ र ९ मा भएको व्यवस्था उल्लेख गर्दै भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने बताएका थिए ।

निर्णय सुनाउनेक्रममा पार्टी अध्यक्ष ओलीले आफुले दिएका सुझाव र त्यसको जवाफको प्रतीक्षामा रहेको अवस्थामा पूर्वराष्ट्रपतिले पत्रकार सम्मेलन गरेर केन्द्रीय कमिटीको बैठकलाई नै चुनौती दिएको बताएका थिए । उनले बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा नफर्कन, आफ्नो गरिमाअनुरूप पूर्वराष्ट्रपतिको हैसियतमा सल्लाहकार र अभिभावक बनेर बस्न आग्रह गर्ने निर्णय गरेको सुनाएका थिए ।

मंगलबार राति सकिएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पुर्व राष्ट्रपति भण्डारी राजनीतिमा फर्किन नमिल्ने निर्णय सुनाएपछि उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली र पोलिटब्युरो सदस्य कर्ण बहादुर थापाले असहमति जनाएका थिए ।

त्यस्तै सोमबारदेखि बसेको केन्द्रीय कमिटीको बैठकले उपाध्यक्ष विष्णु पौडेलले पेश गरेको विधान संशोधन सम्बन्धि प्रस्ताव र महासचिव शंकर पोखरेलले पेश गरेको संगठानिक प्रस्तावलाई पारित गरेको छ ।