गजुरीका बमकाजी र शिशिर चोरीको मोटरसाईकल र भरुवा वन्दुक सहित पक्राउ
73 पटक पढिएको
धादिङ । धादिङको गजुरी गाउँपालिकाबाट मोटरसाइकल चोरीसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गजुरी गाउँपालिका–८ मजुवाका १८ वर्षीय सागर तामाङ भनिने बुद्धि बमकाजी र सोही गाउँपालिका सिउरेनीका २२ वर्षीय शिशिर तामाङ रहेका छन्।
प्रहरीका अनुसार २०८३ कात्तिक १२ गते बिहान करिब ६ बजे प्राप्त गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गजुरी र अस्थायी प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरी टोलीले उनीहरूकै घरठेगानामा खोजतलास गरी दुवै जनालाई पक्राउ गरेको हो।
थप अनुसन्धानका क्रममा शिशिर तामाङविरुद्ध काठमाडौंको प्रहरी वृत्त कालीमाटी र प्रहरी वृत्त थानकोटमा चोरीसम्बन्धी मुद्दा दर्ता भई अनुसन्धान भइरहेको तथा उनी फरार रहेको खुलेको प्रहरीले जनाएको छ। त्यस्तै, सागर तामाङविरुद्ध पनि प्रहरी वृत्त थानकोटमा चोरीसम्बन्धी मुद्दा दर्ता भएको पाइएको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेका सागर तामाङको साथबाट सवारी दर्ता किताब नभएको बा.प्र.०२–०६७ प ७८१३ नम्बरको कालो–निलो रङको २२० सीसीको पल्सर मोटरसाइकल र भरुवा बन्दुकजस्तो देखिने एक थान बन्दुक बरामद गरेको छ। बरामद मोटरसाइकलको इन्जिन नम्बर DKCTM36769 र चेसिस नम्बर MD2A13EX8TCM85008 रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट दुवै जना यसअघि पनि चोरीसम्बन्धी कसुरमा संलग्न रहेको खुलेको छ।
पक्राउ परेका शिशिर तामाङलाई चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट, काठमाडौं पठाइएको छ। सागर तामाङमाथि भने भरुवा बन्दुकजस्तो देखिने हतियार बरामद भएपछि हातहतियार तथा खरखजाना ऐन, २०१९ अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।







