फुर्केखोलामा धादिङका स्थानिय तहको पहलमा पन्टुन पुल जडान गर्न सम्भाव्यता अध्ययन
61 पटक पढिएको
धादिङ। भोटेकोशीमा आएको विनाशकारी बाढीले बगाएको पृथ्वी राजमार्ग र धादिङबेसी जोड्ने फुर्केखोलाको पक्की पुल पुनर्निर्माण हुन नसक्दा यातायात समस्यामा परेका धादिङवासीलाई राहत दिने उद्देश्यले फुर्केखोलामा अस्थायी पन्टुन पुल जडान गर्ने तयारीका लागि सम्भाव्यता अधययन सुरु गरिएको छ।
ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले धादिङ जिल्लाका १३ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको पहल र समन्वयमा पन्टुन पुल जडानको प्रक्रियाका लागि छलफल र सम्भाव्यता अध्ययन अघि बढाइएको जानकारी दिनुभएको छ।
राजापुर सिँचाइ व्यवस्थापन कार्यालय, बर्दियाअन्तर्गत रहेको पन्टुन पुल फुर्केखोलामा अस्थायी रूपमा जडान गरी सञ्चालनमा ल्याउने विषयमा प्रयास भइरहेको अध्यक्ष दनैले बताउनुभएको छ। सोही क्रममा अध्यक्ष दनैको नेतृत्वमा गएको एक टोलीले राजापुर पुगेर सम्बन्धित कार्यालय प्रमुख सङ्ग भेटघाट गरी छलफल गरेको छ ।
यसैक्रममा आज सम्बन्धित कार्यालयसँगको समन्वयमा प्राविधिक टोलीसहित जनप्रतिनिधिहरू फुर्केखोला पुगेर पुल जडानका लागि स्थलगत निरीक्षण तथा आवश्यक प्राविधिक अध्ययन गर्ने कार्यक्रम रहेको छ। उक्त कार्यमा जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख तथा अन्य जनप्रतिनिधिहरूको समेत सहभागिता र सहयोग रहने अपेक्षा गरिएको अध्यक्ष दनैले बताउनु भएको छ ।
अध्यक्ष दनैका अनुसार पन्टुन पुल जडान गर्न सके केही दिनभित्रै अस्थायी रूपमा यातायात सञ्चालन गर्न सकिने अपेक्षा गरिएको छ। स्थायी पुल निर्माण सम्पन्न नहुँदासम्मका लागि यसले धादिङबेसीसहित जिल्लाका विभिन्न क्षेत्रका नागरिकलाई सडक यातायातको पहुँच सहज बनाउन महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।
भदौ १० गते आएको बाढीले फुर्केखोलाको पक्की पुल बगाएपछि धादिङबेसी र पृथ्वी राजमार्गबीचको सहज सडक सम्पर्क प्रभावित हुँदै आएको छ। यसको प्रत्यक्ष असर सर्वसाधारण, बिरामी, विद्यार्थी, व्यवसायी तथा दैनिक आवतजावत गर्ने नागरिकमा परेको छ।
धादिङवासीको साझा समस्याको समाधानका लागि सबै स्थानीय तह, जनप्रतिनिधि र सम्बन्धित निकायबीचको समन्वय आवश्यक रहेको अध्यक्ष दनैले बताउनुभएको छ।







