अपाङ्गता भएका व्यक्ति आरक्षणको सिटमै बस्न पाउँदैनन्

545 पटक पढिएको

सम्पादक: Dhadingnews.com

नाम मात्रको छुट भएको गुनासो

१९ वैशाख, धादिङ । आदमघाटबाट धादिङबेसीका लागि गाडी चढेका शारीरिकरुपमा अपाङ्ग भएका धादिङको कुम्पुरका गुणराज खतिवडाले धादिङ यातायातको बसमा उभिएरै यात्रा गर्नुपर्‍यो । एउटा हातमा बैसाखी र अर्को हातमा लट्ठी लिएर गाडी चढेका खतिवडाले अपाङ्ग सिट लेखिएको ठाउँ अगाडि उभिए ।

बैसाखीको सहारामा उभिएको देखिरहेका र अपाङ्ग सिटमा आसिन व्यक्तिले सिट छाडेनन् । खतिवडाले अपाङ्ग सिटमा बस्नुहुने व्यक्ति पनि अपाङ्ग नै हो भनेर सोध्दा सिटमा आसिन व्यक्ति घोसेमुन्टो लगाएर बसिरहे । जिल्ला सदरमुकाम जान र आउन मात्र होइन धेरै कार्यक्रमको सिलसिलामा विभिन्न जिल्लामा समेत हिँडिरहने खतिवडाले अहिलेसम्म अपाङ्ग सिटमा बस्न नपाएको गुनासो गरे ।

सिटमा बस्नका लागि मात्र समस्या होइन अपाङ्ता भएकाका लागि गाडी पाउन पनि समस्या भएको छ । बैसाखी टेकेर कोही बाटोमा उभिएको छ भने गाडीवालाले रोक्दै नरोक्ने समस्या झन् बढी भएको अपाङ्गहरूको गुनासो छ । आदर्श उच्चमाविका शिक्षक गोविन्द खनाल हृविलचियरमा बसेर यात्रा गर्छन् । उनलाई सवारी नरोकेर चिन्ता हुने गरेको छ ।

‘चिनेका चालकहरूले गाडी रोक्छन् नचिनेहरूले त रोक्नै मान्दैनन् ।’ अपाङ्गहरूलाई गाडी रोकेर यात्रा गर्न सरकारले बनाएको नियम जति नै राम्रो भएपनि व्यवहारमा सजिलो नभएको गुनासो गरे । अपाङ्गता भएकालाई सरकारले यातायात छुट दिएको हरेक गाडीमा उनीहरुका लागि सिट राखेको हुन्छ । तर दुबै कुरा यातायातकर्मीले आफूहरूलाई उपलब्ध नगराएको उनीहरूको गुनासो छ ।

गाडी भाडामा अपाङ्गलाई सरकारले भनेको छुट कहिल्यै नपाएको गुनासो पनि खतिवडाले गरे । जिल्लामा अपाङ्गको सङ्ख्या एकिन नभएपनि अपाङ्ग कल्याण सङ्घले २७ गाविसमा गरेको तथ्याङ्क सङ्कलनपछि जिल्लामा करिब आठ हजार अपाङ्ग रहेको जनाएको छ । रासस