पढाउने कि बच्चा पाउने ?

731 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 -डाक्टर मनप्रसाद वाग्ले 
manprasad wagle

भर्खर बिहे भएकी एकजना मेरा छिमेककी युवतीले स्नातकोत्तरसम्म पढेकी छन् । उमेरले २६ वर्ष काटेकी उनी पतिको जागिरबाट मात्र घर नचल्ने भएकोले कामको खोजीमा भौंतारिइन् । उनले एउटा मन्टेसरी तहमा शिक्षण गर्ने विज्ञापन पढिन् । आवेदन गरिन् । अंग्रेजी राम्रै भएकोले अन्तर्वार्ता दिने मौका पनि पाइन् । अन्तर्वार्ता दिएर आएपछि उनी खुसी देखिइनन् । ‘किन के भयो र ? अन्तर्वार्ता बिगि्रयो’, उनका आफन्तले सोधे । उनले भनिन्, ‘हैन ठिकै भएको छ ।’ मन्टेसरी सञ्चालकले उनलाई एक हप्ता समय दिएको रहेछ, विचार गर्न । उसको सर्त रहेछ, ‘५ वर्षसम्म बच्चा नजन्माउने भए तिम्रो जागिर पक्का ।’

यसले उनमा नचाहिँदो मानसिक दबाब परेको रहेछ । आफ्ना नजिकैकाहरूलाई पनि यो कुरा कसरी भन्ने भनेर उनले अप्ठेरो महसुस गर्नु स्वाभाविकै थियो । उनले यो कुरा आफ्ना पतिलाई पनि भनेकी रहिनछन् । तर आफ्नो कलेज पढ्दा एकदमै मिल्ने साथीलाई भनेकी रहिछन् । पछि घरमा थाहा भयो र निकै छलफल भयो । एक हप्ता नाघिसकेकोले स्कुलबाट फोन आउन थाल्यो, ‘तपाईंको निर्णय के हो ?  नभए हामी अर्कै विकल्प रोज्छौं ।’ अन्त्यमा घरमा पतिको समेत सल्लाहमा उनले यस्तो जवाफ फर्काइन्, ‘तपाईंहरू मानवीय संवेदनाहीन प्राणी हुनुहुँदो रहेछ, प्राकृतिक न्यायको सिद्धान्तमा विश्वास गर्नुहुँदो रहेनछ, वैवाहिक जीवनलाई खिल्लीमा उडाउने अखडा बन्नुभएछ, त्यस्तो विद्यालयमा विद्यार्थीलाई के नै पो सिकाउन सक्नुभएको होला र ? त्यसैले म तपाईंको स्कुलको जागिर खान्न ।’

टोलमा यस्तो कुरा भइरहँदा छिमेकमा चर्चा चल्नु स्वाभाविक थियो । त्यस मध्येमा म पनि एउटा थिएँ । मैले मनमनै सोचेँ, यस्तो पनि हुन्छ र ? मैले ती युवतीसँग यसबारे कुरा गर्न चाहेँ, उनका पति मेरा मित्र भएकाले सँगै चिया पिएर कुरा सुरु गरियो । उनी अझै आक्रामक देखिन्थिन्, ‘जसले जे गरे पनि हुने, एउटा विवाहित नारीले बच्चा पाउन पनि अब स्वीकृति लिनुपर्ने ?’ उनले अगाडि भनिन्, ‘मेरा साथीहरूले यस्तो कुरा मलाई पहिले नै बताएका थिए, तर मैले पत्याएको थिइन, तर आज आफैंलाई पर्दा पो महसुस भयो ।’

मैले उनका साथीहरूले भोगेका पीडा जान्ने उत्सुकता जाहेर गरेँ । एक हप्तापछि उनकै घरमा हामी फेरि जम्मा भयौं र यो मुद्दाको उठान गर्‍यौं । उनका साथीमध्ये एउटीले भनिन्, ‘पोहोर साल छोरी जन्मेपछि मैले पढाउने निजी विद्यालयले अब तपाईं आराम गर्नुस् मिस, तपाईंको सट्टा हामी अर्कै शिक्षक खोज्छौं भने ।’ उनले प्रतिवाद गर्ने ठाउँ थिएन, किनभने उनी काम लिन सकुन्जेलको एउटी शोषित शिक्षक थिइन् । सरकारी नियमले पनि सुत्केरी विदा २ महिना दिन्छ र २ महिनामा उनीहरू घर व्यवस्था मिलाएर अफिस जान थाल्छन् । महिला भएकै कारण यो मानवअधिकारबाट बञ्चित हुनपुगेकोमा उनीहरू आक्रोशित छन् ।

उपस्थित अर्की युवतीले भनिन्, ‘मैले त्यो स्कुलमा पढाएको ५ वर्ष भयो, विद्यार्थीले पनि मनपराएकै थिए । प्रशासनले पनि तपाइर्ंको शिक्षण राम्रो छ मिस भनेकै थियो । तर बच्चा जन्मेपछि भने उनीहरूले एक त विदा पनि दिएनन्, बरु उल्टो स्कुल नआउन संकेत दिनथाले । त्यसैले म अहिले बेरोजगार छु ।’ अर्की युवतीको पीडा अझ भयानक छ, उनले थपिन्, ‘मेरा कथा त तपाईंहरूको भन्दा फरक हो, मलाई अविवाहित नै रहिरहने वा निश्चित केही वर्ष बिहे गर्दिन भन्ने कबुल गरेमात्र शिक्षकमा नियुक्ति दिने कुरा गरे, मैले मञ्जुर गरिन र अहिले बेरोजगार नै छु ।’

यहाँ कुरा निजी विद्यालयको मनपर्दो नीतिको मात्र होइन, यस्तो परिस्थितिमा पनि उपस्थिति नदेखाउने लाचार शिक्षा मन्त्रालयको पनि हो । प्रश्न के हो भने निजी क्षेत्रमा सञ्चालित विद्यालयहरूलाई जे गर्दा पनि छुट दिने हो ? उनलाई मनपरे राख्ने मन नपरे निकाल्नेगरी शिक्षकलाई कमारो बनाएको हो ? के उनीहरूको प्रशासन र व्यवस्थापन राणाकालीन प्रधानमन्त्रीजस्तो हुकुमीमात्र हुन्छ ? खोइ इस्टु नामको संस्था कता गयो ? शिक्षकको हकहितका लागि भनी निजी विद्यालयहरूमा काम गर्ने शिक्षकहरूको संगठनले हुन त सरकारीसरह निजीमा काम गर्नेको पनि न्युनतम तलब दिलाउन सफल भएको छैन भने यी कुरासम्म पुग्न समय धेरै लाग्ला । केही अपवादलाई छोडेर निजी विद्यालयमा काम गर्ने शिक्षकको न न्युनतम तलबको सुनिश्चितता छ, न सञ्चयकोष, न उपदान, न स्वास्थ्य विमा, न औषधोपचार खर्च, कुनै पनि प्रकारले सुरक्षित छैनन्, उनीहरू । कुन दिन जागिर हिँड्ने हो पत्तो छैन । अह्राएको गर्ने, दोहोरो बोल्न नहुने, सधैं थर्कमान भइरहनुपर्ने बाध्यतामा पिल्सिएका यस्ता शिक्षकहरूको सिर्जनात्मकतामा नै ह्रास नआउला भन्न सकिन्न । यसरी मानसिक दबाब खेप्न बाध्य शिक्षकहरूको तर्फबाट वकालत गर्ने कसले ?

के प्रसूति हुँदैमा जागिरबाट निकाल्नुपर्छ ? आफ्नै स्कुलमा काम गरेर योगदान दिएका शिक्षकलाई केही सहुलियत दिन सकिन्न ? नर्सरी, मन्टेसरी चलाउनेहरूले ती शिक्षिकाकै बच्चा पनि दिवा स्याहार कार्यक्रम बनाएर स्कुलभित्रै व्यवस्थापन गर्न सकिन्न ? बरु त्यसो गरेबापत केही प्रतिशत तलब कटाए पनि फरक पर्दैन । तर घर खर्चसमेत धान्न मुस्किल नेपालीहरूको घाउमा नुन छर्कने काम गर्नु सरासर मानवता विरोधी कार्य हो । विवाह बन्धनमा बाँधिनु र वंश वृद्धिका लागि सन्तानोत्पादन गर्नु प्राकृतिक न्याय हो । विडम्बना त के छ भने महिला प्रिन्सिपल भएका त्यस्ता विद्यालयहरूले पनि ‘बच्चा जन्माउने कि जागिर खाने’ भनेर अन्तर्वार्ता गर्दारहेछन् ।

संसारका धेरै मुलुकमा खासगरी विकसित मुलुकहरूको परम्परा हेर्ने हो भने बच्चा गर्भमा छ भन्ने सूचना सम्बन्धित शिक्षकले प्रशासनलाई दिइसकेपछि उक्त गर्भवती शिक्षकको सुरक्षाको जिम्मा प्रशासनले लिनुपर्छ । प्रशासनले गर्भवती शिक्षक र हुनेवाला बच्चाको सुरक्षाका लागि सरकारले दिएका हरेक निर्देशनहरू पालना गर्नुपर्ने हुन्छ । गर्भवती भएकी शिक्षकलाई डाक्टर जाँच गर्न र सल्लाह सेवाका कक्षाहरू लिन विद्यालयले समय मिलाइदिन्छ । गर्भ रहेको हप्तादेखि गणना गरेर विशेष सावधानी अपनाउनुपर्ने हप्ताहरूमा शिक्षकको कार्यभार घटाइन्छ, उनीहरूलाई कक्षामा आवश्यक पर्दा थप सहयोगी उपलब्ध गराइन्छ । तर पनि तलब कटाउने वा निरुत्साहित पार्ने काम गरिँदैन । कतिपय युरोपेली मुलुकहरूमा ६ महिनासम्म तलबी सुत्केरी विदा पाउने नियम छ भने त्यसपछि अर्को ४ महिना बेतलबी बस्न सक्ने सुविधा छ । उनीहरूको जागिर त्यतिन्जेल सुनिश्चित मानिन्छ । कतिपय मुलुकमा बच्चाको जन्मपश्चात रेखदेख र विकासका लागि निश्चित रकम उपलब्ध गराइन्छ, ताकि रकमको अभावमा बच्चाको विकासमा बाधा नपुगोस् । तर हाम्रोमा भने भएको जागिर पनि खुस्कने डरमा बाँच्न बाध्य गर्भवती शिक्षकहरूको बारेमा न सरकारी नीतिले निजी विद्यालयलाई बाँध्नसकेको छ, नत निजी विद्यालयहरूको यो हर्कतलाई नियमन गर्ने काम नै हुनसकेको छ ।

मैले यस मुद्दालाई निजी विद्यालयका केही सञ्चालकसँग पनि उठान गरेँ । उपत्यकाको एउटा नाम चलेको र करिब ४ हजारको हाराहारीमा विद्यार्थी भएको एउटा पि्रन्सिपलले आफ्नो दुखेसो यसरी पोखे, ‘हाम्रोमा ६० जना महिला शिक्षक छन्, जो ३० वर्ष मुनिका

छन् । गर्भवती हुने शिक्षक कहिले त एकैपटक ३-४ जना पनि हुन्छन् । हामीले तलब नदिने वा निकाल्ने भनेका छैनौं । बरु दोस्रो सन्तान अलि ढिलागरी पाउन सुझाव दिएका छौं । एक महिना सुत्केरी विदा दिन्छौं, उनीहरूको सट्टा अर्को शिक्षक राख्नैपर्‍यो । एक महिनापछि पनि शिक्षक नआए तलब काटेर अर्को शिक्षक नियुक्त गर्नु हाम्रो बाध्यता हो ।’

एउटा मन्टेसरी स्कुलकै पि्रन्सिपलसँग जिज्ञासा राख्दा उनले यस्तो उत्तर दिइन्, ‘तपाईंलाई थाहै छ, मन्टेसरीमा एकपटक शिक्षकसँग राम्रो घुलमिल भइसकेपछि बच्चाहरू निकै रमाउँछन् । बीचैमा कोही शिक्षक विदा बस्दा वा लामो समय अनुपस्थित हुँदा ती बच्चाहरूको रेखदेख र विकासमा पक्कै असर पर्छ । हामीले प्रायः महिला नै शिक्षकमा रोज्छौं । त्यसैले हामीले केही वर्ष लामो विदा नलिने महिलाहरू खोज्नु अस्वाभाविक हैन ।’

यी दुई अभिव्यक्तिलाई विश्लेषण गर्दा गर्भवती हुनु भनेको निजी विद्यालयका शिक्षकका लागि आफ्नो जागिर दाउमा लगाउनु हो भन्ने कुरा प्रस्टै बुझिन्छ । आफ्नो पारिवारिक जीवनलाई तिलाञ्जली दिई कतिन्जेल यस्ता संस्थाहरूको चाकरी गरिरहने ? नखाउँ भने दिनभरिको सिकार, खाउँ भने कान्छा बाबुको अनुहार यहाँ चरितार्थ भएको छ । यसको समाधान निजी क्षेत्रका शिक्षण संस्था र सरकारले मिलेर निक्र्योल गर्नु जरुरी छ । सरकारले शिक्षा नियमावलीमार्फत लागू गरेको प्रावधानहरूलाई निजी क्षेत्रले नमान्ने हो भने उनीहरूको अराजकतामाथि निगरानी गर्न मन्त्रालयले छिट्टै अर्को विकल्प सार्वजनिक गर्नुपर्ने हुन्छ ।  चाहे करारमा हुन् वा अस्थायी, शिक्षकले पाउने मानवीय सुविधाबाट कोही पनि बञ्चित गराइनु हुँदैन ।

 इ कान्तिपुर डट कमवाट