२२ वर्ष विदेश बसेपछि अब गाउँमै माछा पालन
817 पटक पढिएको
धादिङ- धादिङको उत्तरी क्षेत्र सत्यदेवी गाउँ विकास समितिका लालबहादुर तामाङ २२ वर्ष विदेशी भूमीमा बस्नुभयो । तर सोचेजस्तो भएन । आफनै गाउँमा बसेर केही गर्न सकिन्छ भन्ने आत्मविश्वासका साथ उहाँले व्यवसायिक माछापालन सुरु गर्नुभएको हो ।
‘२२ वर्ष विदेश घुम्दा पनि केही गर्न सकिएन, अब गाउँमै केही गर्ने हिसाबले व्यवसायमा लागें’ उहाँले भन्नुभयो । उहाँको व्यवसायिक ट्राउट माछापालन केन्द्रका ९ वटा पोखरीमा माछाका भुरा छोडिएको छ ।
प्राविधिकहरुका अनुसार रेन्वो ट्राउट माछा १६ देखि २० डिग्री सेल्सियस तापक्रमकाविच बगिरहने सङलो पानीमा पाल्न सकिन्छ । भौतिक पुर्वाधारहरुको असुविधा रहेको दुर्गम गाउँमा सुरु गरिएको माछापालन व्यवसायले स्वदेशमै वसेर केही गर्न चाहनेहरुलाई प्रेरण्ाँ दिएको जिल्ला कृषि विकास कार्यालय धादिङका वरिष्ठ कृषि विकास अधिकृत होमराज बिष्ट बताउनुहुन्छ । रेन्वो ट्राउट माछा प्रति किलो ११ सय रुपैयामा गाउँबाटै बिक्री हुने गरेको छ ।
धादिङमा व्यवसायिक माछापालन गर्ने किसानहरुको संख्या बढ्न थालेको छ । माछाको परिकारमा रमाउने उपभोक्ताहरुको संख्या बढ्न थालेपछि गाउँ गाउँमा व्यवसायिक माछापालन पनि फस्टाउन पुगेको हो ।
बजारको समस्या नहुने भएकाले राजमार्गका छेउछाउ, सदरमुकाम आसपास र ग्रामीण्ँभेगहरुमा समेत व्यवसायिक माछापालन हुन थालेको छ । घर वरिपरी खेर गईरहेको पानीलाई पोखरीमा जम्मा गरेर माछापालन गर्ने किसानको संख्या धादिङमा धेरै भएपनि एक रोपनी भन्दा बढी जग्गामा व्यवसायिक रुपमा माछापालन गरिरहेका किसानको संख्या अहिले १४ जना पुगेको जिल्ला कृषि विकास कार्यालय धादिङका कृषि प्रसार अधिकृत दुर्गादत्त पन्थी वताउनुहुन्छ ।
घरायासी प्रयोजनका लागि माछापालन गरिरहेका किसानको संख्या जिल्लामा निकै भएपनि कार्यालयले चालु आथिर्क बर्षका लागि जिल्लामा ५ हेक्टर क्षेत्रफलमा माछापालन विस्तार गर्ने लक्ष्य लिएर काम गरिरहेको पनि पन्थीले बताउनुभयो ।
उहाँका अनुसार एक रोपनी भन्दा बढी जमिनमा पोखरी बनाएर व्यवसायिक माछापालन गर्ने किसानको सख्या अहिले सम्म १४ जना रहेको र केही दिनमै ५ जना किसानको संख्या थपिने भएको छ । कार्यालयले माछापालनका लागि उपयुक्त देखिएको स्थानमा पोखरी बनाएर आउने किसानलाई प्रतिरोपनी १० हजार रुपैयाँका दरले अनुदान सहयोग उपलव्ध गराउँदै आइरहेको छ