गाउँपिच्छे गाँजाका बोट लहलह  

691 पटक पढिएको

सम्पादक: Dhadingnews.com

किरान्चोक (धादिङ), ३ असार – राजधानीतर्फ गाँजा लाँदै गरेका किरान्चोक १ का बलराम कार्की र कल्लेरी ८ का बुद्धिबहादुर नेपाली गत चैतमा पक्राउ परे । उनीहरूविरुद्ध गाँजा ओसारपसारमा मुद्दा दर्ता भयो । तर किरान्चोककै बासिन्दाका बारीमा यति बेला गाँजाका बोट लहलह देखिन्छन् ।

downloadपिडा र किरान्चोकका धेरै जनाले गाँजा र चरेस उत्पादन तथा बिक्रीवितरणको आरोपमा सजाय भोगिसकेका छन् । भुमेस्थान, बैरेनी, तर्सपु, पिडा र महादेवस्थान गाविसका माथिल्लो भेगमा व्यावसायिक गाँजा खेती हन्छ । स्थानीय बासिन्दाका अनुसार पृथ्वी राजमार्गसँग जोडिएका ती गाविसमा बर्सेनि हजारौं किलो उत्पादन

हुन्छ । जनप्रतिनिधिदेखि प्रशासकसम्मलाई त्यसबारे जानकारी भए पनि नियन्त्रणको प्रयास भएको छैन । सबै गाविस जिल्लाको दक्षिणी क्षेत्रस्थित महाभारत शंृखलामा पर्छन् । एक शिक्षकका अनुसार त्यस क्षेत्रमा वर्षौंदेखि व्यावसायिक रूपमा गाँजा खेती हुँदै आएको छ ।

किरान्चोक ८ को मझुवाभन्दा माथिल्लो क्षेत्रमा सबैभन्दा बढी खेती हुन्छ । लेकाली भूभाग त्यसका लागि सुरक्षित रहेको स्थानीयवासीको भनाइ छ । ‘फागुनमा मकैसँगै लगाएको गाँजा गोडमेल गर्ने बेला भएको छ,’ किरान्चोकका तामाङ थरका एक स्थानीयवासीले भने । बिरुवा रोप्नुअघि गाईवस्तुको मल र गोड्ने बेलामा युरिया हाल्ने गरिएको उनले बताए । उनका अनुसार मकैसँगै रोपेको गाँजा असोजपछि फून खेल्न र पाक्न थाल्छ । पिडा ८ को धर्मेचौरभन्दा माथि, तसर्पु ९ को दामेचौर, भुमेस्थानको भुमीचुली, बैरनीको कार्कीडाँडाभन्दा माथि र कोलीखर्कमा व्यावसायिक खेती हुने स्थानीय बासिन्दाले जानकारी दिए ।

‘उत्पादनपछि सीधै बजार पुग्छ,’ ती स्थानीयवासीले भने, ‘चरेस पनि गाउँमै बनाएर कारोबारीमार्फत बजार लगिन्छ ।’ यस क्षेत्रमा उत्पादित गाँजा र चरेस मकवानपुर हुँदै तराई र त्यहाँबाट भारत पुर्‍याइन्छ । किरान्चोक, पिडा र मकवानपुरको सिमानासम्म कच्ची सडक पुगेको छ । उक्त सडक अवैध लागूपदार्थ निर्यात गर्ने मुख्य रुट बनेको छ । थोरैमात्र धादिङस्थित पृथ्वी राजमार्गमा पर्ने नौबिसे, बैरनी, आदमघाट, मलेखु बजार हुँदै भारत पुर्‍याइन्छ । राजमार्गबाट ६ घन्टाभन्दा बढी पैदल यात्रापछि गाँजा खेती हुने स्थलमा पुग्न सकिन्छ ।

स्थानीय बासिन्दाले गाँजा बेचेर वाषिर्क १० हजारदेखि ५ लाखसम्म आम्दानी गर्छन् । ‘गाँजा लिन व्यापारीहरू गाउँमै आउँछन्,’ किरान्चोककी एक गृहिणीले भनिन् इ-कान्तिपुर डट कमले खबर लेखेको छ  ।