सहमतीबाट प्रतिनिधि चयन गर्दै धादिङ एमाले

698 पटक पढिएको

सम्पादक: Dhadingnews.com

SAM_2903धादिङ–महाधिबेशन प्रतिनिधि चयनका लागि धादिङमा एमालेका नेताहरुले सहमतीको प्रयास गरिरहेका छन । जिल्ला सदरमुकाममा भईरहेको क्षेत्र नम्बर २ को प्रतिनिधि चयन भेलाले सहमतीवाट प्रतिनिधि चयन गर्ने निश्चित भएको छ । एमालेका जिल्ला तहका नेता तथा कार्यकर्ताहरु दुई खेमामा विभाजित हुन पुगेका छन । दुई खेमा मध्ये ओली समुहको नेत्तृत्व पार्टी अध्यक्ष खेम प्रसाद लोहनी र नेपाल पक्षको नेत्तृत्व पुर्व जिल्ला अध्यक्ष गुरुप्रसाद वुर्लाकोटीले गरिरहेका छन । दुवै समुहका अगुवाहरुको बिचमा पटक पटक भएको छलफल पछि क्षेत्र नम्बर २ वाट छानिने प्रतिनिधिका लागि सहमती भएको एमालेका एक जिल्ला सदस्यले वताएका छन ।
दुवै पक्षका नेताहरुका बिच भएको लिखित सहमती अनुसार ओली पक्षवाट खेमप्रसाद लोहनी,रमेश आचार्य,जगन्नाथ नेपाल,लक्ष्मण शर्मा,गंगादेवी श्रेष्ठ र जानुका सिम्खडा प्रतिनिधिमा चयन हुने भएका छन । यसैगरी नेपाल पक्षवाट गुरुप्रसाद वुर्लाकोटी,रामप्रसाद अधिकारी,कृष्णप्रसाद अर्याल,अर्जुन श्रेष्ठ गोर्खाली,ध्रुवराज विक र कुलमान विक प्रतिनिधि हुने भएका छन । एघार जना प्रतिनिधिमा चयन हुनका लागि क्षेत्र नम्बर २ मा शुक्रवार २८ जनाले नाम दर्ता गराएका थिए । नाम दर्ता गराएका मध्ये केहिले भने सहमतीको नाममा भागवण्डा गरेर कार्यकर्तालाई भुल्याउन खोजेको आरोप लगाएका छन ।
मजदुरवाट छानिने प्रतिनिधिमा ओली पक्षका विमल थापा शुक्रवार निर्विरोध भएका थिए । मजदुरका थापा समेत गरी क्षेत्र नम्बर २ मा ओली पक्ष अगाडि देखिएको छ । क्षेत्र नम्बर १ र ३ मा पनि सहमतीको प्रयास जारी रहेको एमालेका नेताहरुले वताएका छन । धादिङवाट यस पटक महाधिबेशन प्रतिनिधिमा क्षेत्र नम्बर १ मा खुल्ला ५ र महिला १, क्षेत्र नम्बर २ मा खुल्ला ८ र महिला २,क्षेत्र नम्बर ३ मा खुल्ला ६ र महिला १ यसैगरी जिल्लाभरीवाट दलित २ र मजदुर १ गरी २६ जना छनौट हुने भएका छन ।
जिल्लावाट निर्वाचित तथा समानुपातिक समेत गरी चार जना सभासद नेपाल पक्षमा लागेपछि जिल्लामा ओली पक्ष कमजोर भएको अनुमान गरिएपनि कार्यकर्ता तहमा ओली पक्ष वलियो रहेकाले क्षेत्र नम्बर १ र ३ वाट पनि ओलीपक्षधर प्रतिनिधिको उपस्थिती बढी हुने ओली पक्षका युवा नेता नरेश खतिवडाले वताएका छन ।